+
+

भूकम्पपीडितको कोटामा भ्रष्टाचारः गृहमन्त्रीबारे छलफल गर्न एमाओवादीले बैठक बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २५ गते १८:४९

२५ मंसीर, काठमाडौं । भूकम्पपीडितका लागि नेपाल सरकारले पाएको चीन भ्रमणको कोटामा गृहमन्त्री शक्तिबहादुर बस्नेतले भ्रष्टाचार गरेको भन्दै एमाओवादीले यसबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

Sakti-Basnetकेन्द्रीय समितिको बैठक चलिरहेकै बेला गृहमन्त्री बस्नेतको अमानवीय एवं गैरजिम्मेवार हर्कतबारे छलफल गर्न स्थायी समिति बैठक बोलाइएको एमाओवादीका एक नेताले अनलाइनखबरलाई बताए । बैठक शनिबार बिहानै साढे ७ बजे बोलाइएको छ ।

चीन सरकारले नेपालका भूकम्पपीडित युवायुवतीलाई आफ्नो देशको भूकम्प प्रभावित क्षेत्रमा अवलोकन गराउने परियोजना गृहमन्त्रालयलाई दिएको थियो । सोही कोटामा गृहमन्त्री बस्नेतले पार्टी अध्यक्ष प्रचण्डकी नातिनीलाई समेत मुछेर आफ्ना परिवारका सदस्य, नातेदार एवं पार्टी कार्यकर्तालाई शुक्रबार चीन पठाएपछि यसले पार्टीभित्र असन्तोष बढेको हो ।

प्रचण्डकी नातिनीसहित माओवादी कार्यकर्ताको टोली शक्रबार नै चीन प्रस्थान गरिसकेको छ । टोलीमा भूकम्प प्रभावित नै नभएका जिल्लाका एमाओवादी कार्यकर्तालाई समेत संलग्न गराइएको छ ।

भूकम्पपीडितजस्तो मानवीय संवेदनासँग जोडिएको विषयमा समेत गृहमन्त्री बस्नेतले भ्रष्ट चारण देखाएको भन्दै एमाओवादीका केही नेताले स्थायी कमिटीको बैठक बोलाउन प्रचण्डसँग माग गरेका हुन् ।

यसैवीच केही नेताहरुले प्रचण्डलाई तपाईकी नातिनी कसरी भूकम्प पीडितको कोटामा परिन् भनेर प्रश्न गर्दा प्रचण्डले यसबारे आफूलाई थाहा नभएको जवाफ दिएका छन् । तर, शुक्रबार थाहा पाएर पनि प्रचण्डले आफ्नी नातिनीलाई चीन जानबाट रोकेनन् ।

Bhukampa-Pidit-ko-nam-ma-lut
भूकम्प पीडितको नाममा चीन गएको टोली । तस्वीरः दिलिप पौडेलको फेसबुकबाट

‘यो सामान्य विषय होइन, गृहमन्त्री शक्ति बस्नेतले भूकम्प पीडितमाथि गरेको घात हो, रामशरण महतका पालामा भएको जस्ता प्रकरण वा त्रिपालकाण्ड जस्तै भ्रष्टाचारसँग जोडिएको विषय हो’ स्रोतले अनलाइनखबरसँग भन्यो, पार्टीलाई नै बदनाम गराउने यस्तो कार्य गरेवापत गृहमन्त्री बस्नेतमाथि पार्टीले कारवाही गर्नुपर्छ ।’

यो रामशरण महत र नारायण खड्काले गरे जस्तै घृणास्पद कार्य हो, स्थायी समिति सदस्य गोपाल किरातीले अनलाइनखबरसँग भने, भूकम्प पीडितका नाममा, सहिद, घाइते र वेपत्ताका नाममा ब्रम्हलुट गर्ने कार्य सैहृय हुँदैन ।’

स्रोतका अनुसार शनिबार बिहानको स्थायी कमिटी बैठकमा गहृमन्त्रीको यो हर्कतका साथै सरकार सञ्चालनका क्रममा भएका त्रुटीबारे समीक्षा गरिने स्रोतले बताएको छ ।

पेरिसडाँडामा पनि उठ्यो चाइना प्रकरण

यसैवीच शुक्रबार पेरिसडाँडामा बसेको एमाओवादी केन्द्रीय समितिको बैठकमा पनि भूकम्पपीडतको भ्रमण कोटामा भएको घोटालाबारे प्रश्न उठेको छ ।

rajkaji-gurung
राजकाजी गुरुङ

पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङले आफू पनि भूकम्प प्रभावित जिल्लाको व्यक्ति भएको बताउँदै बैठकमा प्रश्न गरे-‘भूकम्प पीडितको कोटाका नेताका छोराछोरी चाइना गएको कुरा के हो ?’

गृहमन्त्री अनुपस्थित, मन्त्री पत्नीले विलौना पोखिन्

गृहमन्त्री शक्ति बस्नेत भने शुक्रबारको बैठकमा पेरिसडाँडा आएनन् । मन्त्री पत्नी सत्या पहाडीले बैठकमा बोलेकी थिइन् ।

पूर्वमन्त्री समेत रहेकी मन्त्रीपत्नी पहाडीले जनयुद्धका बेला आफूहरुले धेरै दुख गरेको बताउँदै अहिले छोराछोरी पढाएको र केही सुविधान पाएकोमा पार्टीभित्रैबाट विरोध र डाहा हुने गरेको गुनासो पोखिन् ।

मन्त्री पत्नीले बैठकमा भनिन्- ‘हामी जेलनेल भोगेका मान्छे हौं, यत्रो दुख पाएको मान्छेलाई अहिले छोराछोरी पढाएकोमा पनि आफ्नै पार्टीभित्रबाट विरोध गर्ने काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?