६ पुस, काठमाडौं । किर्तिमानधारी सगरमाथा आरोही फुर्वा टासी शेर्पा भूकम्प आएको सात महिनापछि हातमा बेल्चा समातेर आफ्नो घरको भग्नावशेष पन्छाउँदै छन् । २१ पटकसम्म विदेशी आरोहीलाई लिएर सगरमाथाको टुप्पोमा पुगेका यी महंगा भरिया अहिले बेखर्ची बनेका छन् ।
४४ वषर्ीय फुर्वा टासीको जस्तै व्यथा अरु थुप्रै शेर्पाहरुको छ, जसको घर, लज तथा रेस्टुरेन्टहरु गत वैशाखमा आएको त्रासदीपूर्ण भूकम्पले नष्ट गरिदिएको थियो । रिटायर्ड भइसकेका केही भरियाहरु पैसा कमाउन फेरि शिखर चढ्दैपर्ने अवस्थामा पुगेका छन् । केहीले काठमाडौंका स्कुलबाट आफ्ना केटाकेटी झिकिरहेको तथा केही होटल मालिकहरुले स्टाफ कटौति गरिरहेको पनि पाइएको छ ।
सन् २०१६ का लागि विदेशी आरोहीहरुको बुकिङमा शुन्यता छाएको छ । एकातर्फ भूकम्पको धङधङीबाट बाहिर निस्कन नसकेको अवस्था, अर्कोतर्फ भारतीय सीमामा जारी रहेको नाकाबन्दीले देशभर इन्धन आपूर्ति अवरुद्ध भएको अवस्थामा पर्यटकहरु नेपाल जान हिच्किचाइरहेका छन् ।
‘मेरो भएभरको सम्पत्ति एक मिनेटमै ध्वस्त भयो,’ फुर्वा टासी खुम्जुङस्थित आफ्नो गाउँमा उभिएर भन्दैछन् । भूकम्पमा उनको आठ बेडरुम भएको ट्रेकिङ लज धूलोपीठो भयो भने आफू बस्ने घर पनि क्षतिग्रस्त बन्यो ।
उनले गरीखाने ठाउँ भनेको सगरमाथा थियो । तर भुकम्पले त्यसलाई पनि अछुतो राखेन । सगरमाथाको ९ माइल पर आएको भयानक पहिरोका कारण अहिलेसम्म आरोहण अवरुद्ध छ । फलतः सगरमाथा छेउछाउका गाउँहरु, जो पछिल्लो समय फस्टाएको आरोहण पेशाका कारण, समृद्ध बन्दै थिए, अहिले संकटग्रस्त अवस्थामा छन् ।
३५ जनाको ज्यान जाने गरी सन् २०१४ र २०१५ मा आएका हिमपहिरोले गर्दा ‘सगरमाथा उद्योग’ तहस नहस बनेको हो । सन् २०१३ मा शेर्पाहरु र आरोहीहरुबीच सगरमाथामै कहिल्यै नभएको हात हालाहाल भएको थियो जसले शेर्पाहरुमा गुम्सेर रहेको असन्तुष्टिलाई सतहमा ल्याइदियो ।
ज्यान हत्केलामा राखेर विदेशी आरोहीलाई उकाल्ने र ओराल्ने काममा संलग्न उनीहरु आफ्नो आम्दानीको हिस्सा अलिकति बढोस् भन्ने चाहन्छन् । यद्यपि सन् २०१६ उनीहरुका लागि सम्भवतः झन् ठूलो निराशा लिएर आउँदैछ । २०१६ का लागि सगरमाथा चढ्न बुक गर्नेहरुको संख्या अघिल्ला वर्षहरुको तुलना एक तिहाइ मात्रै छ ।
सन् १९९० मा सगरमाथाको व्यवसायिक आरोहण सुरु भएयता यो सबैभन्दा ठूलो गिरावट हो । यसबाट सयौं शेर्पाहरु अर्को वर्ष कामविहीन बन्न सक्ने सम्भावना बढेको छ । ‘पछिल्ला दुई वर्ष सगरमाथाका लागि भयानक निराशापूर्ण रहेका छन्, कैयौं आरोहीहरु मारिएका छन् भने शिखर टेक्नेहरुको संख्या न्यून छ,’ सियाटलमा रहेको म्याडिसन माउन्टेनियरिङका सञ्चालक ग्यारेट म्याडिसन भन्छन्, ‘गुमेको आत्मविश्वास फिर्ता हुन निकै समय लाग्ने देखिन्छ ।’
विगतमा पनि सगरमाथामा भयानक दुर्घटनाहरु हुन्थे, तर त्यसबाट आरोहीहरुको आकर्षण घट्दैनथ्यो । किनभने ज्यानको जोखिमलाई नै सगरमाथा आरोहको एउटा आकर्षण तत्व मानिन्छ । तर, अहिलेको अवस्था भने फरक छ । अहिलेको संकट देशको राजनीतिसँग जोडिएको छ ।
नेपाल र भारतको सिमानामा भएको आर्थिक नाकाबन्दीले सगरमाथा आरोहणलाई प्रत्यक्ष प्रभावित गरिरहेको छ भने ३५ हजारदेखि १ लाख डलरसम्म शुल्क तिरेर सगरमाथा टेक्न चाहने संभावित आरोहीहरुलाई पनि निरुत्साहित तुल्याएको छ ।
नेपालको संविधानलाई लिएर असन्तुष्ट भएकाहरुले सीमा नाकामा जारी राखेकेा धर्नाले गर्दा छिमेकी मुलुक भारतबाट अत्यावश्यक वस्तुहरुको आपूर्ति हुन सकेको छैन ।
पर्वतारोहण सम्वन्धि र्फमहरुले सगरमाथामा दुई महिनासम्म बाँना लागि आवश्यक खाना पकाउने ग्यास तथा आपत्कालीन उद्धारका लागि जहाज उडाउन इन्धन अभावले गर्दा आरोहण मौसम प्रभावित हुन सक्ने बताइरहेका छन् । ‘अहिले संकटको अवस्था छ । यदि नाकाबन्दी जारी रहेको खण्डमा यो संकटले उग्ररुप लिने छ,’ न्यूयोर्कमा अवस्थित अल्टिच्युड जङ्किजका मालिक फिल क्र्याम्प्टनले भने ।
यद्यपि नेपालको पर्यटन विभाका निर्देशक गोविन्दबहादुर कार्की भने आशावादी छन् । आरोहण मौसम सुरु हुनुअगावै नाकाबन्दी खुल्न सक्ने अपेक्षा गरेका उनले अर्को ‘राम्रै संख्यामा आरोहीहरु आउन सक्ने’ दावी गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले नाकाबन्दीका कारण भूकम्पपछिको पुनर्निमाण प्रभावित बनेको उल्लेख गर्दै सरकार अहिले फेरि राहत कार्यमा फर्किनुपर्ने अवस्था आइपरेको बताए ।
स्रोत: रोयटर्स
प्रतिक्रिया 4