+
+

चुनावै नआई चन्दा उठाउन राप्रपा नेपाललाई विदेशीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते ११:३०

Raprapa

१७ पुस, काठमाडौं । नर्वेबाट आएर नेपाली नेताहरुलाई राजनीति सिकाउँदै हिँडेका जोन लडबेलले धुलीखेलमा बुधबार राप्रपा नेपालका नेताहरुलाई रोचक अर्ती दिएका छन् । पार्टीमा अर्थ संकलन कसरी गर्ने सिकाउँदै लडबेलले भने- ‘तपाईहरु चुनाव आएपछि मात्रै चन्दा उठाउन थाल्नुहुन्छ अनि कहाँ पैसा उठ्छ ? चुनाव नआउँदै चन्दा उठाउनोस् र पार्टीको कोषमा सञ्चय गरेर राख्नुहोस् ।’

नर्वेमा राजनीति गर्न नसकेर असफल भई नेपालमा आएका लडबेलले निश्चित रकम लिएर पार्टीका कार्यक्रमहरुमा यसरी प्रशिक्षण दिने गरेका छन् । यसै क्रममा राप्रपा नेपालको तीन दिने प्रशिक्षण कार्यक्रममा राजनीतिक सिकाउन उनलाई ‘हायर’ गरेर धुलीखेल लगिएको थियो ।

साथमा नेपाली बोल्ने दोभाषे राखेर राप्रपाका नेताहरुलाई प्रशिक्षण दिने क्रममा लडबेलले उद्योगपति विनोद चौधरीको समेत नाम लिए ।

विनोद चौधरीलाई चुनावका बेला सबै पार्टीले चन्दा माग्ने गरेको उनले बताए । चुनावका बेला सबैले चन्दा माग्ने हुनाले राप्रपा नेपालले पनि चुनाबकै बेला उनीसँग चन्दा माग्दा धेरै नझर्ने लडबेलले बताए । चौधरीबाट बढी चन्दा लिने हो भने चुनाव नआउँदै अरु दलका नेताहरुले दुःख नदिएको मौका पारेर चन्दा माग्नुपर्ने उनले सुझाए ।

सामान्य अवस्थामा चौधरीले ५ लाखसम्म दिन सक्ने तर, चुनावका बेलामा माग्न जाँदा फुर्सद छैन भन्न सक्ने लडबेलले प्रशिक्षणमा बताए । त्यसैले चुनाव अघि नै दाताहरुको सूची बनाएर अर्थ संकलनमा लाग्दा बढी पैसा उठ्ने नर्वेजियन प्रशिक्षकले सिकाए । यसबा लागि चुनाव नआउँदै पैसा उठाएर सञ्चित गर्न लडबेलले राप्रपा नेपाललाई सुझाव दिए ।

चुनावमा जस्तै पार्टीको कुनै पनि अभियान वा कार्यक्रम भएका बेलामा पनि चन्दा माग्नु राम्रो हुँदैन भन्दै लडबेलले उचित समयमा चन्दा मागेर सञ्चय गर्न जोड दिए । राप्रपा नेपालको प्रशिक्षण कार्यक्रममा लडबेलले स्थानीय निकायका विविध पक्षहरु र अर्थ संकलनबारे साढे ३ घण्टा प्रशिक्षण दिएका थिए ।

लडबेलले चन्दा संकलनमा जस्तै आगामी स्थानीय निकायका लागि उमेद्वारहरुको छनोट गर्दा पनि यही विधि अपनाउन सुझाव दिएका छन् । चुनाव आउन लागेपछि मात्रै उमेद्वार छान्दै हिँड्नु राम्रो नहुने भन्दै उनले अहिल्यैदेखि स्थानीय चुनावको तयारी गर्न राप्रपा नेपालका नेताहरुलाई सुझाव दिए ।

लडवेलको सुझाव थियो- ‘स्थानीय मन्त्रालय पनि तपाईहरुकै हातमा छ, चुनावका बेलामा होइन, अहिल्यैदेखि देशैभरिका गाउँपालिका र नगरपालिकामा करिब डेढलाख उमेद्वारहरु तयार पार्नुहोस् र योजना बनाएर अभियान थाल्नोस् ।’

कोसोभोका अर्का विदेशी

राप्रपा नेपालको सोही प्रशिक्षण कार्यक्रमा कोसोभोबाट आएका अर्का प्रशिक्षक जेटमिर वकाजीलाई पनि हायर गरिएको थियो । उनले पार्टी कार्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे राप्रपा नेपालका नेताहरुलाई सिकाएका थिए । जेटमिर पनि कोसोभोमा राजनीति गर्न असफल भएर नेपालमा विज्ञ बनेर आएको चर्चा प्रशिक्षणमै चलेको थियो ।

पुस १३ देखि १५ गतेसम्म धुलिखेलमा चलेको राप्रपा नेपालको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष कमल थापा, सुशीलकुमार श्रेष्ठ, धवलसमशेर राणा, राजेन्द्र लिङदेन, प्रा.डा. गीताभक्त जोशी, डा. विष्णु भण्डारी र बसन्त वन लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?