+
+

पर्यटन विकासको अनिवार्य शर्त हो विमानस्थल, देशभर कसरी हुँदैछ विस्तार ?

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते ११:३३

airport-5

१७ पुस, काठमाडौं । नेपाल पर्यटकीय सम्भवनाले भरिपूर्ण मुलुक हो । तर, पर्यटन पूर्वाधारको विकास नहुँदा यसबाट हामीले लाभ लिन सकेका छैनौं । पर्यटनका लागि अतिआवश्यक विमानस्थल पूर्वाधार विकासमा पछि परेपछि पर्यटनबाट लाभ लिन नसकेको विज्ञहरुको भनाई छ ।

नेपालमा हवाई सेवाको इतिहास लामो रहेको छ । तर, अहिलेसम्म हामीसँग पर्यटक भित्राउनका लागि एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । एउटैमात्र रहेको त्रिभुवन विमानस्थल ‘स्याचुरेसन’मा पुगिसकेको छ । विमानस्थल निर्माण गरेर प्रशस्त पर्यटक भित्राउन नेपाल किन चुक्यो ?

पछिल्लो समय भने सरकारले विमानस्थल निर्माणमा तिब्रता दिएको छ । भैरहवामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भइरहेको छ भने पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि कम्पनी छनौट भइसकेको छ । चीनसँग ऋण सम्झौता हुनासाथ निर्माण कार्य अगाडि बढाउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम बताउँछन् ।

यसैगरी बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (एसआइए) निर्माणका लागि पनि जोड दिने महानिर्देशक गौतमको दाबी छ । एसआइए निकै ठूलो परियोजना हो ।

कहाँ के हुँदैछ ?

त्रिभुवन विमानस्थल

यो मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो । सरकारले त्रिभुवन विमानस्थलको स्तरोन्नती गरिरहेको छ । यहाँ धावनमार्गलाई दक्षिणतर्फ ३ सय मिटर विस्तार गर्ने काम भइरहेको छ । तर, भारतीय नाकाबन्दी, ठेकेदारको लापरवाही लगायतका कारण अहिले स्तरोन्नतीको काम ठप्प रहेको छ । निर्माण कार्य कछुवा गतिमा भइरहेको छ ।

TIA Master Plan 2010-2028

विमानस्थलको उत्तरतर्फको खाडलमा करिव २५ मिटरसम्म माटो फिलिङ गरि नयाँ प्यारलल ट्याक्सी वे तथा अन्तर्राष्ट्रिय एप्रोन निर्माण गर्ने र क्याटेगोरी-१ अनुरुप नयाँ एप्रोच लाइट जडान गर्ने काम भइरहेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय टर्मीनल भवनमा नयाँ स्टेराइल हल थप गर्ने तथा अराइभलतर्फ थप ब्यागेज कन्भेयर बेल्टसहित भवन विस्तार गर्नेगरि विमानस्थलको एयर साइड तथा ल्यान्ड साइडको स्तरोन्नती हुँदै छ ।

सोही कार्यक्रमअन्तर्गत सिमिकोट र रारा विमानस्थलमा मौसमी उपकरण तथा हिउँ हटाउने उपकरणको व्यवस्थाका लागि काम भइरहेको क्यानका महानिर्देशक गौतमले बताए ।

TIA Master Plan Internal Terminal building

त्रिभुवन विमानस्थलको दक्षिण पूर्वतर्फ अधिग्रहण भएका ३ सय १३ घरटहराको २०७० असोज २२ गते भएको पुनः मूल्यांकनपश्चात मुआब्जा वितरणको कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको ‘कोड ई’ बमोजिम मापदण्ड पुरा गर्नका लागि कोटेश्वर, सिनामंगल क्षेत्रमा करिव १४९ रोपनी जग्गा अधिग्रहण गर्ने काम सुरु भएको छ ।

विमानस्थलको साँधुरोपनलाई सम्बोधन गर्न थप अन्तर्राष्ट्रिय ‘पार्किङ्ग वे’ को निर्माण कार्यका लागि टेण्डर आव्हान भइसकेको छ । त्रिभुवन विमानस्थलको वैकल्पिक आन्तरिक विमानस्थलको रुपमा काठमाडौंबाट निकटस्थ दुरीमा उपयुक्त स्थानमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने बताइएको छ ।

गौतम बुद्ध विमानस्थल

Goutam-Buddha-Airport-10

यो क्षेत्रिय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल हो । यसको निर्माण कार्य सुरु भइसकेको छ । तर, अहिले भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण निर्माण कार्य रोकिएको छ । यो विमानस्थललाई सन् २०१७ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थ्लको अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनको चापलाई केही हदसम्म घटाउन सहयोग पुग्नेछ । उक्त विमानस्थललाई भविष्यमा विस्तार गर्नका लागि यस आर्थिक बर्षमा थप १३७ विगहा जग्गा अधिग्रहण गर्ने लक्ष्य राखिएको छ ।

पोखरा विमानस्थल

Pokhara-airport-New

यो पनि क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल हो । पोखरामा ४० वर्षअघि अधिग्रहण गरिएको ३१ सय ६ रोपनी क्षेत्रफलमा ईपीसी मोडेलमा आइकाओ क्याटेगोरी फोर-डी स्तरको विमानस्थल निर्माण गर्न क्यान र चिनियाँ निर्माण कम्पनी सिएएमसी इञ्जिनियरिङ कम्पनीबीच व्यवसायीक सम्झौता भइसकेको छ ।

विमानस्थल निर्माणका लागि थपिने ५२१ रोपनी जग्गामध्ये ७० प्रतिशत जग्गा अधिग्रहणको मुआव्जा रकम वितरण कार्य भैसकेको बताइएको छ । यही आर्थिक वर्षभित्रमा जग्गा अधिग्रहणको काम सम्पन्न हुने बताइएको छ । नेपाल सरकार र चीन सरकार बीच ऋण सम्झौता कार्य सम्पन्न भएपछि निर्माण कार्य प्रारम्भ गर्ने क्यानले बतायो ।

निजगढ विमानस्थल

Nijgadh-International-Airport-Final

बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण भएपछि नेपालकै सबैभन्दा ठूलो विमानस्थल हुनेछ । यसको प्रारम्भिक काम सुरु भइसकेको क्यानका महानिर्देशक गौतमले बताए ।

नेपाल सरकारबाट जग्गा सिमाङ्कन गर्ने जिम्मेवारी एवं आयोजनाको स्वामित्व क्यानलाई हस्तान्तरण भएको छ । विमानस्थल क्षेत्रको सिमाङ्कन गर्ने काम सम्पन्न भइसकेको गौतमले बताए । यही आर्थिक बर्षभित्र ८४ विगाहाको मुआब्जा वितरण, वातावरणीय प्रभाव अध्ययनसम्बन्धी प्रारम्भिक काम शुरु भएको छ ।

आन्तरिक विमानस्थलहरु

अहिलेसम्म ६ वटा निर्माणाधिन समेत गरी ५६ वटा विमानस्थल रहेका छन् । जसमध्ये ३२ वटा विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भैरहेको छ भने १८ वटा विमानस्थल गौचरनमा परिणत भएका छन् ।

यस बर्ष रुकुम चौरजहारी र ताप्लेजुङ्ग विमानस्थलमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको क्यानले जनाएको छ । मुगुको (रारा) विमानस्थल र खानिडाँडा विमानस्थलको धावनमार्ग पनि कालोपत्रे भइसकेको छ ।

Khanidada airport1
खानीडाँडा एयरपोर्ट पिच हुँदै गरेको फाइल तस्वीर ।

भोजपुर, रामेछाप, र डोल्पा (जुफाल) विमानस्थलमा कालोपत्रे गर्ने कार्यका लागि बेस कोर्षको काम सम्पन्न्ा भएको छ । इलामको फाल्गुणानन्द विमानस्थलको रनवे स्ट्रिप तयार भई ड्रेन निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको बताइएको छ ।

उदयपुरको सगरमाथा विमानस्थल, धरान विमानस्थल, प्युठानको स्वर्गद्वारी विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) कार्य जारी छ भने अर्घाखाँचीको अर्घाभगवती विमानस्थलको इआइए सकेर विस्तृत परियोजना अध्ययन (डिपिआर)को तयारीमा छ ।

विराटनगर र चन्द्रगढी विमानस्थलमा स्टि्रट लाइटको लागि सौर्य उर्जा जडान कार्य सम्पन्न भएको छ । यही वर्ष नेपालगञ्ज विमानस्थलमा पनि स्टि्रट लाइटका लागि सौर्य उर्जा जडान गर्ने क्यानको भनाई छ ।

निर्माणाधिन आन्तरिक विमानस्थलहरू

विभिन्न जिल्लामा ६ वटा विमानस्थल निर्माणाधिन अवस्थामा छन् । गुल्मीको सिमिचौर, कालिकोट, ओखलढुङ्गाको खिजि चण्डेश्वरी, लम्जुङको शीतलेश्वर र इलामको सुकिलुम्ब विमानस्थल छिट्टै निर्माण सम्पन्न गर्ने क्यानको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?