+
+

भारतीय तीर्थयात्री भन्छन्- नेपालबारे गलत हल्ला फैलिएछ

३० पुस, देउखुरी । सतवरीयाको रिहारस्थित बगारबाबा मन्दिर परिसरमा लाग्ने माघे संक्रान्ति मेलाका लागि भारत बलरामपुरका जगदीश गुप्ताले चिया-नास्ताको पसल राखिसकेका छन् । तर, उनलाई यसपालि खासै व्यापार होला जस्तो लागेको छैन । किनकी पोहोरसाल जस्तो चहल-पहल यसपालि छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते ११:३५

Jagadish-Gupta-ta-Rihar-Mel
३० पुस, दाङ देउखुरी । सतवरीयाको रिहारस्थित बगारबाबा मन्दिर परिसरमा लाग्ने माघे संक्रान्ति मेलाका लागि भारत बलरामपुरका जगदीश गुप्ताले चिया-नास्ताको पसल राखिसकेका छन् । तर, उनलाई यसपालि खासै व्यापार होला जस्तो लागेको छैन । किनकी पोहोरसाल जस्तो चहल-पहल यसपालि छैन ।

नेपालमा भएको नाकावन्दीका कारण अभावै अभाव भएको हल्ला भारतमा फैलिएकाले भारतीय तीर्थयात्रीहरु कम आएको उनको ठम्याइ छ । तर, आफू नेपाल आउँदा भारतमा हल्ला फैलिएको जस्तो अभाव नेपालमा नभएको बताउँछन् उनी ।

‘नेपालमा गाडी चलेको छैन, पेट्रोल-डिजल पाइँदैन, आगो ताप्ने दाउरा पाइँदैन भनेर भारतीय गाउँमा हल्ला फैलिएको छ,’ हरेक वर्ष रिहार मेलामा व्यापारका लागि आउने गुप्ताले भने, ‘तर, यहाँ आउँदा थाहा भयो भारतमा गलत हल्ला फैलिएको रहेछ ।’

भारत बलरामपुर जिल्ला शिवपुरा निवासी दिनेशप्रताप मिश्र पनि गाउँका अन्य ४० जना मानिससँगै रिहार मेला भर्न र स्वर्गद्वारी दर्शनका लागि सतबरीया आइपुगेका छन् । नाकावन्दी र नेपालमा अभाव भएको गाउँमा हल्ला फैलिएपछि दाङमा रहेका साथीभाइलाई सोध्दा कुनै समस्या नरहेको जानकारी पाएपछि आफू रिहार हुँदै स्वर्गद्वारी दर्शनका लागि आएको उनले बताए ।

Rihar-mela

सीमा नाकाबाट पैदल हिँडेर सतवरीयाको जहरेघाट आइपुगेका मिश्रले भने, ‘सीमा नाकामा समस्या केही देखिएन, सीमा पारी भारतीय सुरक्षा बल एसएसबी छ, यता नेपाल प्रहरी छ । ईन्ट्री गरेर आयौं । अरु मान्छे पनि आउने तयारीमा छन् ।’

रिहारको बगार बाबा मन्दिर दाङको प्रसिद्ध तीर्थस्थलहरु मध्येको एक हो । पाँच पाण्डवहरुको स्वर्गयात्राको धार्मिक कथासँग जोडिएको छ रिहार । रिहारमा रहेको तातोपानीको कुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न हरेक बर्ष नेपालीसहित भारतीय नागरिकहरु पनि माघे संक्रान्तिको मेला भर्ना आउँछन् । रिहार मेलामा आएकाहरु प्युठानको स्वर्गद्वारीसम्म पुगेर फर्किन्छन् । रिहार मेला सुरु हुनु दुई साता अघिबाटै दाङ देउखुरीमा चहल-पहल हुन्छ । तर, यस वर्ष मेलाको रौनक खासै छैन ।

नाकावन्दीको असरका कारण रिहार मेला हुँदै स्वर्गद्वारीसम्म पुग्ने तीर्थयात्री निकै कम छन् । सतवरीया गाविसका मानबहादुर चौधरीले भने, ‘यो समयमा हुलका हुल तिर्थयात्री देखिन्थे, गाडीहरुलाई मान्छे ओसार्न भ्याई-नभ्याई हुन्थ्यो, तर, यसपालि तीर्थयात्री निकै कम छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?