+
+

गायिका रेखा शाह फसेकी हुन् कि प्रहरीबाट फसाइएकी ?

३० पुस, काडमाडौं । गायिका रेखा शाह पाँच दिनदेखि काठमाडौं प्रहरी परिसरको चिसो हिरासतमा छिन् । लेनदेनको विवादमा मुछिएकी उनलाई ‘पाठ सिकाउने’ मुडमा छन् परिसरका प्रमुख एसएसपी विक्रम सिंह । रेखाले एक जुवाडेमाथि चर्को व्याजदरमा पैसा लगानी गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १२:१४

Rekha-saha

चिरञ्जीवी पौडेल

३० पुस, काडमाडौं । गायिका रेखा शाह पाँच दिनदेखि काठमाडौं प्रहरी परिसरको चिसो हिरासतमा छिन् । लेनदेनको विवादमा मुछिएकी उनलाई ‘पाठ सिकाउने’ मुडमा छन् परिसरका प्रमुख एसएसपी विक्रम सिंह । रेखाले एक जुवाडेमाथि चर्को व्याजदरमा पैसा लगानी गरेको आरोप छ ।

‘सिमसिमे पानीमा’ बोलको एउटै गीतबाट चिनिएकी गायिका हुन् रेखा । सोही गीतको अहिलेसम्म ब्याज खाइरहेकी उनी के आज पैसाको ब्याजमा लोभिँदा फस्न पुगेकी हुन् त ? हुन पनि सक्छ र नहुन पनि । तर, यति भन्न सकिन्छ, यो प्रकरण एसएसपी सिंहले दाबी गरेजस्तो ‘स्ट्रेट फरवार्ड’ चाँहि छैन ।

प्रहरी परिसरमा चर्काचर्की

केही दिनअघि सीतापाइला बस्ने सुवासराज काफ्लेले रेखा शाहका श्रीमान-श्रीमतीले आफूलाई फोनमा धम्क्याएको भन्दै प्रहरीमा उजुरी दिए ।

रेखाले आैंला ठड्याएर चेतावनी दिएपछि आगो भएका एसएसपी सिंहले ‘तिमीहरुलाई पाठ सिकाइदिन्छु’ भन्दै रेखाका श्रीमान-श्रीमती दुबैलाई हिरासतमा राख्न आदेश दिए

रेखाले आफ्ना छोरा सन्दीपराजलाई चर्को ब्याजदरमा ऋण दिएको र उक्त ऋण तिर्न नसकेर छोरो फरार भएपछि आफूलाई फोन गरेर ‘उठाइदिने’ (अपहरण गर्ने) धम्की दिएको आरोप सन्दीपका पिताले लगाएका छन् ।

उजुरी आएपछि प्रहरीले तुरुन्तै रेखाका श्रीमान-श्रीमतीलाई उजुरीको विषयमा छलफलका लागि भनेर प्रहरी कार्यालयमा डाक्यो । आइतबार दिउँसो २ बजेतिर उनीहरु पुगे प्रहरी परिसरमा, जहाँ रेखाले परिसरका प्रमुख सिंहसित चर्काचर्की कुरा गरिन् । ‘कानून मैले पनि पढेकी छु’ भन्दै रेखाले आफूलाई फसाउने प्रयास नगर्न सिंहलाई चोर औंला ठड्याएर चेतावनी दिएकी थिइन् ।

‘दुवै पक्षबीच तँतँ र ममकै तहमा ओर्लेर झगडा भयो,’ स्रोत भन्छ ।

रेखाले आैंला ठड्याएर चेतावनी दिएपछि आगो भएका एसएसपी सिंहले ‘तिमीहरुलाई पाठ सिकाइदिन्छु’ भन्दै रेखाका श्रीमान-श्रीमती दुबैलाई हिरासतमा राख्न आदेश दिए ।

अपहरणको धम्की दिएको भन्दै सार्वजनिक अपराधमा मुद्दा दायर गरिएका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले ६ दिन म्याद थपेको छ । प्रहरीले पटक-पटक भाटभटेनीस्थित उनीहरुको निवासमा खानतलासी गरी कागजात बरामद गरेको छ ।

४ चेक र एक तमसुक

रेखाको घरबाट प्रहरीले तीनवटा चेक र एउटा तमसुक बरामद गरेको छ । यसैका आधारमा उनले सन्दीपलाई मिटर ब्याज (ट्याक्सीको मिटर झैं घुम्ने महंगो ब्याजदर) मा ऋण दिएको अड्कल काटेको छ ।

गत वैशाखयता विभिन्न मितिमा जारी गरिएका चेक तथा तमसुकको जम्मा रकम ७३ लाख देखिन्छ । पहिलोपटक ३ लाख रुपैयाँको चेक वैशाखमा काटिएको छ । त्यसपछि क्रमशः जेठ १५ मा ३० लाखको, असार ९ गते फेरि ३० लाखको र पुस ८ गते १० लाख ७८ हजारको चेक काटिएको एसएसपी सिंहले जानकारी दिए । यही बीचमा भाद्र २० गते सन्दीपले रेखालाई दिनुपर्ने भनेर दुई पक्षबीच ७३ लाखको कागज भएको छ ।

प्रहरीका अनुसार पहिलो तीनवटा चेक सिभिल बैंकका हुन्, जुन, साट्ने प्रयास नै गरिएको छैन भने पुसमा काटिएको अन्तिम चेक एनएमबी बैंकको हो, जुन बाउन्स भएको छ । चेक काटिएका दुवै बैंक खातामा एक रुपैयाँ पनि छैन ।

ठग्ने सन्दीप, थुनिने रेखा

नाङ्गो आँखाले हेर्दा यस प्रकरणमा रेखा पीडित र सन्दीप काफ्ले पीडक पक्ष देखिन्छन् । सन्दीपले रेखालाई ७३ लाख रुपैयाँ दिनु छ भन्ने कुरा तमसुकबाट पनि पुष्टि हुन्छ र काटिएका चेकबाट पनि । तर, उनले जिरो ब्यालेन्स भएको खाताको चेक रेखालाई दिए । पैसा नभएको चेक कसैलाई दिनु कानूनतः दण्डनीय हुन्छ । तर, उल्टै थुनामा छिन् रेखा । किन त ?

रेखाका परिवारजन भने सन्दीपलाई खोज्न प्रहरीले कुनै प्रयास नगरेको आरोप लगाउँछन् । सन्दीपका बाबु सुवाससित एसएसपी सिंहको पूर्वचिनजान रहेको दाबीसमेत उनीहरुले गरेका छन्

रेखाका वकिल सुरेन्द्र कोइराला एसएसपी सिंहले रेखाले आफूसित ठाडो कुरा गरेको भनेर व्यक्तिगत रिसइबी साँधेको आरोप लगाउँछन् । उनले अनलाइनखबरसित भने, ‘पैसा ठग्नेलाई चैं पक्राउ नगरी ठगिनेलाई हिरासतमा राख्नु प्रहरीको पूर्वाग्रह मात्रै होइन, ज्यादती पनि हो ।’
स्रोतका अनुसार सन्दीपको परिवार ७३ लाख रुपैयाँ तिर्न नसक्ने हैसियतको होइन । उनका बुवा सुवास हाइड्रोपावर र हाउजिङ व्यवसाय चलाउँछन् । सन्दीप उनका एक्ला छोरा हुन् ।

प्रहरी प्रमुख सिंहले दुई महिनादेखि ‘फरार रहेका’ सन्दीपलाई प्रहरीले खोजिरहेको दाबी गरे । ‘उनलाई पनि उन्मुक्ति दिइने छैन, हामी खोजिरहेका छौं,’ सिंहले भने ।

यद्यपि रेखाका परिवारजन भने सन्दीपलाई खोज्न प्रहरीले कुनै प्रयास नगरेको आरोप लगाउँछन् । सन्दीपका बाबु सुवाससित एसएसपी सिंहको पूर्वचिनजान रहेको दाबीसमेत उनीहरुले गरेका छन् ।

लेनदेनबारे आ-आफ्ना दाबी

सन्दीपले रेखालाई ७३ लाखको चेक दिनुले उनीहरुबीच आर्थिक लेनदेन रहेको थप प्रमाणित हुन्छ । तर, त्यो कस्तो प्रकारको लेनदेन हो भन्ने निक्र्यौल हुन सकेको छैन ।

प्रहरीको आरोप के छ भने रेखाले सन्दीपलाई जुवा खेल्नका लागि महंगो ब्याजमा निश्चित रकम ऋण दिएकी थिइन् । त्यसको ब्याजसहित भुक्तानी गर्ने क्रममा सन्दीपले चेकहरु दिएका हुन् । एसएसपी सिंह भन्छन्, ‘सन्दीपका बुबाले नै आफ्नो छोरा जुवाडे भएको र क्यासिनोमा जुवा खेल्नकै लागि पैसा लिएको बताएका छन् । योभन्दा बलियो आधार के हुन्छ ?’

रेखामाथि उठ्ने दोस्रो प्रश्न हो उनले तीनवटा चेकहरु पाउँदासम्म किन साट्न गइनन् र चौंथो चेक बाउन्स भएपछि किन प्रहरीको ढोका ढक्ढक्याइनन् ?

एसएसपी सिंहले रेखाको सम्पत्तिको स्रोतका विषयमा पनि प्रश्न उठाएका छन् । ‘उनीहरु श्रीमान-श्रीमती दुबैको आम्दानीको ठूलो स्रोत देखिँदैन । कहाँबाट त्यत्रो पैसा ल्याएर रेखाले सन्दीपलाई दिएकी हुन् त ?’ उनले यो मुद्दा सम्पत्ति सुद्धीकरणमा पनि पुग्न सक्ने संकेत गरे ।

परिवारको भनाइ यसमा फरक छ । रेखाका भाइ सञ्जय शाहले घर किन्नका लागि बैनास्वरुप रेखाले सन्दीपलाई ७३ लाख रुपैयाँ दिएको बताउँछन् । सञ्जयका अनुसार सन्दीपले मध्यस्थका रुपमा रेखालाई चुनदेवीको एउटा घर एक करोड ७५ लाखमा बेचाउन उक्त रकम बैनास्वरुप लिएका थिए । तर, सो घर बेचाउन नसकेपछि रकम फिर्ता गर्ने क्रममा ती चेकहरु दिएको उनको भनाइ छ ।

रेखाका वकिल कोइरालाका अनुसार रेखा दम्पत्तिले करिब डेढ वर्ष अगाडि चण्डोलमा रहेको घर तीन करोड १० लाखमा बेचेका थिए । र, अर्को घर किन्न खोजिरहेका थिए । त्यही पैसाबाट ७३ लाख रुपैयाँ सन्दीपलाई बैनास्वरुप दिएको उनले जानकारी दिए । उनले चेकमार्फत सो रकम दिएको र रेखासित रहेको त्यसको अधकट्टी प्रहरीले बरामद गरेको बताए ।

रेखामाथि उब्जेका प्रश्न

रेखा र सन्दीपको चिनजान लामो होइन । एक वर्षभन्दा छोटो चिनजानीमा उनीहरु पारिवारिकरुपमै नजिक बन्न पुगेका थिए । सन्दीपको सीतापाइलास्थित घरमा रेखाको आउजाउ थियो । सन्दीपका बुवाले पनि उनलाई राम्रै मान्थे ।

सुवासले प्रहरीमा जाहेरी दिएको अघिल्लो दिन पनि रेखा उनको घरमा पुगेकी थिइन् र पैसाको विषयमा छलफल गरेकी थिइन् । त्यतिबेला आइतबारसम्म पैसा दिन सहमति गरेका सन्दीपले पैसा दिनुको साटो जाहेरी दिन पुगेको सञ्जयको भनाइ छ ।

रेखाले सन्दीपलाई ७३ लाख दिँदा कुनै कागज गरेको देखिँदैन । तेस्रो पक्षको ग्यारेन्टी र भरपर्दो कागजबिनै यति ठूलो रकम रेखाले किन दिइन् त भन्ने प्रश्न उब्जिन्छ ।

रकम दिँदा कुनै कागज नगर्नुले महङ्गो व्याजदरमा ऋण दिएको प्रहरी दाबीलाई बल पुग्छ । रेखाका भाइ सञ्जय भने विश्वासका आधारमा उनले यो रकम दिएको बताउँछन् ।

रेखामाथि उठ्ने दोस्रो प्रश्न हो उनले तीनवटा चेकहरु पाउँदासम्म किन साट्न गइनन् र चौंथो चेक बाउन्स भएपछि किन प्रहरीको ढोका ढक्ढक्याइनन् ? यसमा वकिल कोइरालाको भनाइ के छ भने रेखालाई तीनवटै ‘ब्याक डेट’को चेक दिइएको थियो, त्यसैले उनी साट्न नगएकी हुन् । चौथो चेक साट्न जाँदा बाउन्स भएपछि तत्कालै उनले सन्दीपलाई कागज गर्न लगाएको कोइराला बताउँछन् ।

प्रहरीमाथि उठेका प्रश्न

SSP Vikram Thapa (6)रेखाका परिवार र निकटस्थहरुको भनाइ सुन्दा प्रहरीको भूमिका कतै एकतर्फी र अतिरञ्जित त छैन भन्ने आशंका उब्जिन्छ । रेखाले घर किन्नका लागि पैसा दिइन् कि जुवा खेल्न भन्ने प्रहरी अनुसन्धानबाट निक्र्योल हुने नै छ । अहिलेलाई मानौं, प्रहरीले भनेझैं जुवा खेल्नकै लागि पैसा दिएकी हुन् । तर, यहाँ जुवा खेल्ने व्यक्ति दोषी हुन्छ कि पैसा दिने ? ऋण लिनेले कुन प्रयोजनमा पैसा खर्च गर्छ भन्नेमा ऋण दिने व्यक्ति कति जिम्मेवार हुने ?

नेपालको कानून अनुसार कसैको बाध्यतालाई शोषण गर्दै कसैले ऋण दिँदा चलनचल्तीभन्दा उत्पात्तै महंगो व्याज असुल्छ भने त्यसमा प्रहरीले आँखा चिम्लिन मिल्दैन । तर, रेखाको हकमा भने वाध्यताको शोषण भएको देखिँदैन ।

प्रहरीकै भनाइ मान्ने हो भने सन्दीपले जुवामा उडाउनका लागि महंगो ब्याजमा ऋण लिएका हुन् । तर, यसमा रेखालाई कति दोषी मान्ने ? खल्तीमा पैसा छ र कसैले अस्वभाविक बढी ब्याज दिन्छ भने जोकोही पनि ऋण दिन तयार हुन्छन् । के सबैलाई जेल हाल्न सम्भव छ ?
प्रहरी परिसरका प्रमुख सिंह पछिल्लो समय महंगोमा ब्याज लगाएर पैसा कमाउने धन्दा नै चलेको बताउँछन् । रेखा पनि यस्तै धन्दामा संलग्न छिन् कि भन्ने उनको आशंका छ ।

‘संगठितरुपमै यस्तो काम गर्ने प्रवृत्ति राजधानीमा फस्टाएको छ,’ सिंह भन्छन्, ‘अन्य कलाकारहरु पनि मिटरब्याजी हुन सक्छन् । यस्तालाई हामी छाड्दैनौं ।’ तर, रेखालाई ‘प्रोफेसनल मिटरब्याजी’ सावित गर्ने आधारहरु भने उनीसित छैनन् ।

प्रहरीले रेखासँगै उनका श्रीमान इन्द्रलाई पनि थुनेको छ । जबकि दुई पक्षको लेनदेनमा इन्द्रको कुनै संलग्नता देखिँदैन । एसएसपी सिंहले धम्क्याउने कार्यमा इन्द्र पनि संलग्न देखिएकाले पक्राउ गरेको बताए ।

रेखाका वकिल कोइराला सन्दीपले पैसा नदिएर भागेपछि उनका बाबुलाई दबाव दिनु स्वभाविक भएको बताउँछन् । ठाडो भाषामा कुरा गरे पनि अपहरणको धम्की भने नदिएको उनको जिकिर छ ।

को हुन् रेखा र इन्द्र ?

सिमसिमे पानीमा बोलको गीतबाट नेपाली संगीतप्रेमीबीच चिनिइन् रेखा शाह । त्यसअघि उनले के गाएकी थिइन् र त्यसपछि के गाइन् कमैलाई थाहा छ । बीचमा एकपटक सिमसिमेकै रिमिक्स गाएर चर्चामा आउने प्रयास गरिन् ।

रेखाका बुबाको गत वैशाखमा आएको भूकम्पमा परी निधन भएको थियो । धादिङमा रहेको घर भत्किँदा उनी पुरिएका थिए । परिवारका अन्य सदस्यहरु भने भागेर ज्यान जोगाउन सफल भए

पछिल्लो समयमा उनको सांगीतिक करिअर खासै माथि उठ्न सकेको छैन । उनले निकालेका गीति एल्बमहरु त्यति चलेनन् । यद्यपि, उनी छानेर मात्रै गीत गाउने चुजी गायिका मानिन्छन् ।

धादिङको सामान्य परिवारकी छोरी हुन् रेखा । करिब २० वर्षअघि रेखा र इन्द्रको प्रेम विवाह भएको थियो । ३९ वर्षीया रेखाभन्दा २२ वर्ष जेठा हुन् इन्द्र । इन्द्रले रेखालाई दोस्री श्रीमतीका रुपमा भि्त्रयाएका थिए । उनीहरुका एक १६ वर्षीय छोरा छन् । चण्डोलमा रहेको घर बिक्री गरेपछि उनीहरु भाटभटेनीमा फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् ।

इन्द्रका दाजु भरत गुरुङ पञ्चायतकालमा राजा वीरेन्द्रका भाइ धीरेन्द्रका एडीसी थिए । इन्द्र भने राजनीति र संगीत क्षेत्रमा संलग्न रहे र केही समय म्यानपावर पनि चलाए । ०६२ सालतिर म्यानपावर बेचेपछि उनले खासै व्यवसाय गरेका छैनन् ।

हाल त्रिभुवन विश्वविद्यालयमा स्नात्तकोत्तर पढ्दै गरेकी रेखा मुटु र डिप्रेसनकी रोगी हुन् । भाइ सञ्जयका अनुसार उनले १५-१६ वर्षको उमेरदेखि नै औषधि खाइरहेकी छिन् । अहिले पनि नियमितरुपमा स्वास्थ्य परीक्षण गराउँदै आएकी छिन् ।

ठूलो तनाव वा आपत विपतको अवस्थामा उनको मुटुको चाल बिगि्रने गरेको सञ्जय बताउँछन् । उनको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराइएपछि जिल्ला अदालतले उनलाई अस्पताल लैजान आदेश दिए पनि प्रहरीले लगेको छैन । रेखाका श्रीमान इन्द्रको मृगौलाको समस्या छ ।

रेखाका बुबाको गत वैशाखमा आएको भूकम्पमा परी निधन भएको थियो । धादिङमा रहेको घर भत्किँदा उनी पुरिएका थिए । परिवारका अन्य सदस्यहरु भने भागेर ज्यान जोगाउन सफल भए । घरविहीन आमा अझै पनि पालमा बस्छिन् । भाइ सञ्जय स्वास्थ्यकर्मी हुन् ।

छोराको कारणले मलाई टर्चरः सुवास

सन्दीप एक आवारा र जुवाडे भएको उनकै बाबु सुवासराज बताउँछन् । उनले धेरै व्यक्तिहरुसित पैसा ठगेको सुवासको भनाइ छ । ३४ वर्षीय सन्दीपको विवाह भए पनि श्रीमतीले छाडेर हिँडेकी थिइन् । उनले खासै पढेका पनि छैनन् । ‘मेरो छोरो दुनियाँलाई ठग्दै हिँड्छ र त्यसको अपजस मैले बोक्नुपर्छ,’ सुवासले अनलाइनखबरसित भने ।

रेखासित छोराको लेनदेनका विषयमा आफूलाई जानकारी नभएको सुवास बताउँछन् । ‘उसले कहिले, किन र कति पैसा लियो भन्ने मलाई थाहा छैन । तर, उनीहरु मेरो चिनजानमा आएपछि पैसाको कुरा निस्कियो । यस विषयमा मैले छोरालाई एकचोटि सोधेको हुँ । तपाईंलाई के मतलब भन्ने हिसाबले कुरा गर्‍यो,’ उनले भने ।

एकाध महिनाअघि छोराले घर छाडेर हिँडेपछि आफूलाई रेखाका दम्पत्तिले पैसाका लागि ताकेता सुरु गरेको सुवासको भनाइ छ । उनले भने-‘मैले भनेँ, यो कुरा सन्दीप आएपछि उसैसित बसेर गर । तर, उनीहरुले दवाब बढाउँदै गए । हुँदाहुँदा फोनबाट ‘पैसा नतिरे जे पनि गरिदिन्छौं’ भन्नेखालका धम्कीहरु दिए । त्यही भएर प्रहरीको शरणमा गएको हुँ । मेरो भनाइ यति मात्रै हो, छोरोले गरेको गल्तीको मलाई टर्चर नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?