+
+

रामचन्द्रको भन्दा शशांकको भोट किन बढी ?

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ३० गते १७:००

Shasank Koirala

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसको अघिल्लो महाधिवेशनमा सभापति र महामन्त्री दुबैपदमा संस्थापन प्यानलका नेताहरु विजयी भएका थिए । तर, १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षका महामन्त्री रहस्यमय तरिकाले पराजित भए ।

अघिल्लो महाधिवेशनमा सभापति सुशील कोइरालाले १६५२ र महामन्त्री प्रकाशमान सिंहले १६५६ मत पाएका थिए । यो महाधिवेशनमा शेरबहादुर देउवा सभापतिमा र भिन्न गुटबाट शशांक कोइराला महामन्त्रीमा निर्वाचित भएका छन् ।

महामन्त्री शशांक संस्थापन प्यानलका हुन्, जसले संस्थापन पक्षका अन्य उम्मेदवारहरुले भन्दा धेरै मत पाएका छन् । शशांक र अर्जुन नरसिंहले पाएको मतबारे अहिले कांग्रेसभित्र अनौपचारिक जोड-घटाऊ सुरु भएको छ ।

संस्थापन पक्षको मत १२ सय

संस्थापन पक्षका सभापति उम्मेदवार रामचन्द्र पौडेलले पहिलो चरणमा ११६० र दोस्रो चरणमा १२९६ मत पाएका थिए । कोषाध्यक्षमा चित्रलेखालाई ८ मतले पराजित गर्दै जीत हात पारेकी सीतादेवी यादवको मत रामचन्द्रको भन्दा केही थोरै अर्थात् १२१७ मात्रै छ । यसरी हेर्दा यो महाधिवेशनमा संस्थापन पक्षको भोट १२ सय हो । तर, शशांकले रहस्यमय तरिकाले १४१७ मत पाएका छन् ।

महामन्त्रीमा तीनै उम्मेदवार संस्थापन पक्षकै थिए । यद्यपि लामो समयदेखि संस्थापनमा रहेका अर्जुननरसिंह केसी महाधिवेशनका बेलामा गुट फेरेर देउवा समूहबाट उम्मेदवार बनेका थिए । अर्का महामन्त्रीका उम्मेद्वार गगन थापा कृष्ण सिटौला प्यानलमा आवद्ध थिए ।

गैरकांग्रेस र कांग्रेसभित्र सहज अनुमान थियो कि योपटक सबैभन्दा रोचक भिडन्त महामन्त्रीमै हुनेछ । तर, वीपी पुत्र शशांक निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीलाई ४ सय बढी मतले हराएर महामन्त्री भए ।

यस्तो छ महामन्त्रीको अंक गणित

महामन्त्रीमा जितेका शशांकले १४१७ मत ल्याए । अर्जुननरसिंह केसीले १०१७ मत पाए भने तेस्रो भएका गगनको मत ५४८ रहृयो ।

निर्वाचन समितिका सदस्य र उम्मेदवारका प्रतिनिधिहरुले बताए अनुसार महामन्त्रीमा भोट राम्रैसँग क्रस भएको देखिएको छ ।महामन्त्री र कोषाध्यक्षको मत पत्र एउटै भएकाले यो प्रष्ट देखिन्थ्यो ।

Nepali congress Voting

एक सदस्यले बताएअनुसार महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा सीतादेवीलाई दिइएको मतको संख्या १५० बढी छ । यस्तै महामन्त्रीमा गगन र कोषाध्यक्षमा सीतादेवीलाई मत दिइएको ३०० भन्दा बढी छ ।

माथि विश्लेषण गरिएअनुसार संस्थापन पक्षको भोट १२ सय मान्दा यहाँ शशांकको भोट अर्जुनले १५० र गगनले ३०० बढी काटे । अर्थात उनले संस्थापनबाट पाएको मत ७५० बढी मात्र देखियो । तर, उनले त १४ सय बढी मत पाएका छन् । झण्डै ७ सय मत गैरसंस्थापन समूहबाट पाएको देखिन्छ ।

शशांकलाई खुमबहादुरको साथ

देउवा समूहका महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसी महाधिवेशनको पूर्वसंध्यामा मात्र संस्थापन गुट छाडेर देउवातिर गरेका थिए । यसले केही समकक्षीहरुले ‘हाम्रो भाग खोस्न आएको’ मान्नु अस्वभाविक होइन । त्यसमाथि उनका जिल्लाका प्रतिद्वन्द्वी नेता प्रकाशशरण महत पनि देउवा समूहमा नै छन् । यस आधारमा देउवा समूहको यो टीमको ५० भन्दा बढी मत अर्जुननरसिंहलाई गएन ।

यस्तै हिन्दु राष्ट्रको अभियान चलाएको खुमबहादुर खड्का देउवा समूहको एउटा गुट हो । र, उनीहरुको मत १५० भन्दा बढी छ । यो समूहले शशांकलाई मत दिएको देउवा समूहका नेताहरु नै स्वीकार गर्छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिँदै शशांकले धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताबाट पछाडि र्फकन सक्ने बताएर खुमबहादुर समूहलाई आकषिर्त गरेको छ । तर, यो २०० मत जोड्दा पनि शशांकको मत १ हजार कट्दैन ।

र, विमलेन्द्र-अमरेश फ्याक्टर

महाधिवेशन अघि डा. शेखर कोइरालाले अनलाइनखबरसँग भनेका थिए कि योपटक मधेस निर्णायक फ्याक्टर हुन्छ । अरुको हकमा जे भए पनि कांग्रेस महामन्त्री पदमा भने शेखरले कोइरालाले भनेजस्तै देखियो ।

अमरेशकुमार सिंह योपटक देउवा क्याम्पमा गए । कांग्र्रेस नेताहरुका अनुसार सिंहले सभापतिमा देउवा र महामन्त्रीमा शशांकका लागि भोट मागेका थिए । यसबारे अनलाइनखबरले प्रश्न गर्दा कांग्रेस सांसद अमरेशले भने- ‘अहिलेको चुनावी परिणामप्रति म सन्तुष्ट छु, यसका लागि मैले पनि भूमिका खेलेको हो ।’

स्रोतका अनुसार मधेसको भोट शशांकतर्फ लैजान अमरेशसँगै विमलेन्द्र निधीको पनि साथ थियो । विमलेन्द्र देउवा समूहमा रहेका देउवापछिका नेता हुन् । उनी मनोनित महामन्त्रीका दावेदार हुन् ।

तर, अर्जुननरसिंह केसी महामन्त्रीमा जितेको अवस्थामा स्वभाविक रुपमा विमलेन्द्रभन्दा अर्जुननरसिंह केसी हावी हुने निश्चित थियो । यसले गर्दा केसीलाई हराएर शशांकलाई महामन्त्रीमा जिताउन निधीले पनि भूमिका खेलेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?