१० चैत, काठमाडौं । भूकम्पको देश भनेर चिनिने जापानकी १७ वर्षीया किशोरी यामामोतो सिजुकु अहिले नेपालमा छिन् । जापान सरकारले उनलाई भूकम्प प्रभावित बालबालिकाको अवस्था अध्ययन गर्न युवा राजदूत बनाएर नेपाल पठाएको हो ।
‘हाम्रो स्कुलले नेपालका भूकम्प पीडितलाई सहयोग गरी मानसिक त्रासबाट मुक्त बनाउन भनेर नेपाल पठाएको हो,’ सिजुकुले अनलाइनखबरसँग भनिन् ।
उनको घर जापानको ह्योगो जिल्लाको कोबे सिटीमा छ । ७ मार्चमा आएकी उनले नेपालमा एक महिना बिताउने छिन् । उनले भूकम्प प्रभावित सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुरलगायतका जिल्लाका भूकम्प पीडितहरुको बस्ती र त्यहाँका विद्यालयहरुको भ्रमण गरिसकेकी छन् ।
जस्ताको टहरो र त्रिपालमुनि कष्टकर जीबनयापन गर्दै आएका बालबालिका तथा तिनका अभिभावकसँग भेट मात्र गरिनन् उनले, पढ्ने र पढाउने तरिकाबारे कक्षाकोठामै पुगेर जानकारीसमेत लिइन् । कागजका खेलौना बनाउने लगायतका काम पनि सिकाइन् ।
‘नेपाली बालबालिकामा भूकम्पको त्रास त छ, तर उनीहरु पिडा भुलाउँदै खुसी खोज्ने कोशिसमा छन्, म त्यसलाई थप सहयोग गर्दैछु,’ स्वयमसेवकको रुपमा नेपालमा सहयोग गर्दै आएकी उनले भनिन् ।
यसरी आइन् नेपाल
उनले आफ्नो नेपाली नाम जुराएकी छिन्, ‘लक्ष्मी लामा’ । लक्ष्मी लामा नै किन त ? कनिकुथी नेपाली भाषा बोल्ने सिजुकुले अनलाइनखबरसँग भनिन्, ‘जापानमा नेपालका समाजसेवी गणेशमान लामासँग चिनजान भयो । उहाँकै संरक्षणमा मलाई सरकारले नेपाल पठायो । नेपालीबाट प्रभावित भएर नेपाली नाम राखें ।’
गणेशमान लामा नेपाली युवा व्यवसायी तथा समाजसेवी हुन् । एसिया फ्रेण्डसीप नेटवर्कका निर्देशकसमेत रहेका उनी व्यवसायको सिलसिलामा जापानलगायतका बिभिन्न देश आउजाउ गर्छन् । यसै सिलसिलामा जापानको एक बिद्यालयमा उनले मन्तव्य राख्ने अवसर पाए र उनकै मन्तव्यबाट प्रभावित भएर जापान सरकारले सिजुकुलाई युवा राजदूतको रुपमा नेपाल पठायो ।
‘यसअघि जापानी विद्यार्थीहरु युवा राजदूतको रुपमा अमेरिका, अष्ट्रेलिया लगायतका विकसित देश जान्थे । मैले मन्तव्यको क्रममा विश्वकै सुन्दर देश नेपालमा पठाउन आग्रह गरें । त्यसपछि जापानको शिक्षा मन्त्रालयले पहिलोपटक विद्यालयस्तरका विद्यार्थीलाई पनि सरकारकै खर्चमा नेपाल पठायो,’ लामाले भने, ‘यसबाट पनि प्रष्ट हुन्छ कि शिक्षा क्षेत्रमा जापानले कति धेरै लगानी गर्दो रहेछ ।’
सिजुकुले जापानमै रहँदा नेपाल दक्षिण एशियाकै सबैभन्दा गरिब र सानो देश भनेर सुनेकी थिइन् । भूकम्प गएपछि नेपालीलाई सहयोग गर्न साथीहरुसँग मिलेर चन्दा संकलन गरिन् र एसिया फ्रेण्डसीप नेटवर्कमार्फत् पठाइन् पनि ।

अहिले नेपाल आउँदा कस्तो लाग्यो त ? अनलाइनखबरको प्रश्नमा उनले भनिन्, ‘एकदमै राम्रो, नेपालीहरुलाई भेटेर धेरै खुसी लाग्यो,’ दरबारमार्गको एक कफीसपमा भएको भेटमा उनले नेपालीमै उत्तर दिइन्, ‘नेपाल धेरै राम्रो छ ।’
भूकम्पपछि पनि नेपाल घुम्नका लागि सुरक्षित पाएको उनले प्रष्ट्याइन् । नेपालमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण हुँदै गरेको जानकारीसमेत राखेकी उनले नेपालका सबै बस्ती भूकम्प प्रतिरोधी हुनुपर्ने बताइन् ।
जापानी किशोरीसँगको वार्तालापमा दोभाषेको रुपमा सहयोग गरेका थिए गणेशमान लामाले । उनले सिजुकुको भनाई नेपालीमा उल्था गर्दै यसरी सुनाए, ‘जापानीहरु पैसाकै लागि कुदिरहन्छन् । पैसा भए सबथोक हुन्छ, खुसी पनि किन्न सकिन्छ भनेझैं गर्छन् । तर, नेपालीहरु झुप्रामा बसेर पनि खुसी नै छन् । भूकम्पपीडित विद्यार्थीहरु टहरोमुनि बसेर पनि खुसीपूर्वक पढिरहेका छन् । खुसी पैसाले मात्रै पाइन्छ भन्ने कुरा वास्तवमा होइन रहेछ भन्ने कुरा मैले नेपाल आएर सिकें ।’
नेपाल र जापानमा पढाईको अन्तराल
विद्यालयको पढाइको तुलना गर्दा भने नेपालको भन्दा आफ्नै देशको सिकाइ पद्दतीलाई उनले राम्रो भनिन् । सिजुकुका अनुसार जापानमा घरदेखि पैदल १५ मिनेटभन्दा टाढा विद्यालय हुँदैनन् । सानो कक्षामा किताब बोकेर विद्यालय गए पनि माथिल्लो तहमा गइसकेपछि किताब-कापिको भारी बोकेर विद्यालय जानु पर्दैन ।
विद्यालयले नै विद्यार्थीहरुको किताब राख्ने ठाउँ बनाइदिएको हुन्छ । विद्यार्थीहरु पढ्छन् र विद्यालयमै किताब राखेर घर फर्किन्छन् ।
नेपालका विद्यार्थीहरुलाई जस्तो गृहकार्यको बोझ पनि हुँदैन । कुनै विषयमा पढाइ सुरु गर्नुभन्दा अघिल्लो दिन नै तयारी गरेर आउन भनिन्छ ।
विद्यार्थिहरु इन्टरनेटमा खोजी-खोजी ति कुराहरुको अध्ययन गर्छन् ताकि अर्को दिन पाठ राम्रोसँग बुझियोस् । अभिभावकसँग सोध्नुभन्दा इन्टरनेटलाई नै सोध्न विद्यार्थीहरु अभ्यस्त हुन्छन् ।
नेपाली शिक्षकको पढाउने शैली कस्तो लाग्यो त ? सिजुकु भन्छिन्, ‘जापानमा शिक्षकले निकै धेरै मिहिनेत गर्छन् । विद्यार्थीहरुको सिकाई र बुझाईको स्तर बराबर बनाउँदै विषयगत दक्षता हासिल गराउने कोशिस गर्छन् । नेपालमा पनि सैद्धान्तिकरुपमा त्यस्तै छ तर व्यवहारमा रहेनछ । जापानमा शिक्षकहरुले दुई-तीनपटक भन्दा पनि कुनै विद्यार्थीले बुझेन भने जुन विद्यार्थीले बुझेको छ उसैमार्फत् बुझाउन लगाउँछन् । यसको उद्देश्य के हो भने आफूभन्दा ठूलो व्यक्तिले भनेको भन्दा कुनै विद्यार्थीले आफ्नो सहपाठीबाट भनेको कुरा छिटो बुझ्ने पनि हुनसक्छ ।’
नेपाली कक्षाकोठामा कुनै शिक्षकले एउटा विद्यार्थीलाई चोर औंला देखाउँदै उठ्न भन्छ र प्रश्न सोध्छ । उसले उत्तर दिन सकेन भने फेरि अर्को विद्यार्थीलाई त्यहि प्रश्न सोध्छ । यो कुरा भने आफूलाई राम्रो नलागेको उनले बताइन् ।
त्यसो भए के गर्नुपर्थ्यो त ? सिजुकु भन्छिन्, ‘कक्षा कोठाभित्र पस्नुअघि र पाठ पढ्न सुरु गर्नुभन्दा अघि नै विद्यार्थीहरुलाई पर्याप्त तयारी गराएनौं । विद्यार्थीहरुलाई भोलि के पढ्ने भनेर पहिल्यै नै अलिकति तयारी गराएको भए राम्रो हुन्थ्यो । कमजोर र तगडा विद्यार्थीहरुलाई अलग-अलग राखेर पढाउँदा राम्रो हुन्थ्यो । अर्को कुरा व्यवहारिक र विषयगत दक्षतालाई प्राथमिकता दिनुपर्छ ।’
तर नेपाली विद्यार्थी भाग्यमानी
तर, नेपाली विद्यार्थीहरुलाई निकै भाग्यमानी ठान्छिन् उनी । किन त ? उनको जवाफ छ, ‘किनकी उनीहरु सानैदेखि हाइस्कुल लेभलको पढाइ पूरा गर्दासम्म पनि आफ्ना अभिभावकको प्रत्यक्ष निगरानीमा हुन्छन् ।’
‘जापानमा त्यस्तो छैन र ?’
आफ्नो गलामा पहिरिएको बुद्धको चित्र अंकित माला खेलाउँदै उनले उत्तर दिइन्- ‘हाइस्कूल लेभलमा पढ्दादेखि नै हामी हाम्रा बुवा-आमाबाट टाढा भइसकेका हुन्छौं । हामी आत्मनिर्भर बनिसकेका हुन्छौं र काम गर्दै पढ्दै गर्छौं । हाम्रा अभिभावकहरु पनि काम गर्ने, पैसा कमाउने भनेर सधैं व्यस्त भइरहन्छन् । यति व्यस्त हुन्छन् कि आफ्ना छोरा-छोरीहरुलाई संस्कार, सँस्कृति पनि राम्रोसँग सिकाउन पाउँदैनन् । जुन कुरा हामीले हाम्रा अभिभावकहरुबाट सिक्न पाउँदैनौं ति कुरा विद्यालयले हामीलाई सिकाउँछ ।’
जापानमा के सन्देश लिएर फर्किने त ? सिजुकुले उत्तर दिइन्, ‘मेरा शिक्षक, सहपाठी र अभिभावकहरुलाई म भन्ने छु, हामी सम्पन्न छौं भन्थ्यौं, बास्तवमा होइन रहेछ । खुसी र सन्तोषपूर्वक कसरी जिउने भन्ने कुरा त भूकम्प पीडित नेपालीहरुबाट सिक्नुपर्छ ।’
प्रतिक्रिया 4