१६ चैत, काठमाडौं । आगामी चुनावमा तेस्रो शक्ति बन्ने दाबी गर्दै आएको राप्रपा नेपाल फुटको संघारमा पुगेको छ । यो फुटले कमल थापाको योजनामा झड्का लागेको छ ।
पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री थापा हेटौडास्थित घरमा आराम गरिरहेको मौका छोपेर सह-अध्यक्ष केशरबहादुर विष्टले राजधानीमा बेग्लै भेलाको आयोजना गरी विद्रोह गरेका छन् ।
सहअध्यक्ष विष्टले राप्रपा नेपालले नयाँ संविधानलाई मान्न नहुने र सरकारबाट बाहिरिनुपर्ने भन्दै मंगलबार विज्ञप्ति जारी गरेका छन् ।
सह-अध्यक्ष विष्टले अध्यक्ष थापासँग विद्रोह गरी लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपासँग एकीकरण गर्ने योजना बनाएका छन् । ‘हामीले एकीकृत राप्रपाको परिकल्पना गरेका थियौं, यसका लागि चन्दलाई अध्यक्ष मानेर पार्टी एकता गर्ने प्रस्ताव गरेका थियौं,’ विष्ट पक्षका एक नेताले अनलाइनखबरसँग भने- ‘तर, कमल थापाले आफूलाई अध्यक्ष मान्ने भएमात्रै पार्टी एकता गरिन्छ, नभए हुँदैन भनेपछि हामी अघि बढ्न बाध्य भएका हौं । कमल थापालाई लोकेन्द्रले अध्यक्ष मान्नुपर्छ भन्नु सुहाउने कुरो होइन ।’
असन्तुष्ट समूहका एक नेताले अनलाइनखबरसँग भने, ‘हामी राप्रपाका सबै समूहलाई मिलाएर एकीकृत राप्रपा गठन गर्न चाहन्छौंं, अब चाँडै राष्ट्रिय भेलाको आयोजना गरिनेछ ।’
विष्ट पक्षधर नेताहरुले अध्यक्ष कमल थापा पार्टी एकीकरणको विरोधी रहेको र संवैधानिक राजतन्त्र, धर्म निरपेक्षता लगायतका सिद्धान्तबाट विचलित भएको आरोप लगाएका छन् ।
राप्रपासँग पार्टी एकता गरी महाधिवशेनबाट नेतृत्व छानौं भन्दा कमल थापाले महाधिवेशन गर्न र नेतृत्व परिवर्तन नमानेको असन्तुष्ट पक्षका नेताले बताए ।
कमल थापा दस्तावेज लेख्न व्यस्त
यसैवीच राजधानीमा विष्ट समूहले बेग्लै गुटबन्दी गरिरहेका बेला अध्यक्ष थापाचाँहि हेटौडास्थित आफ्नै निवासमा बसेर केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्न व्यस्त भएका छन् ।
चीनबाट र्फकनासाथ बुटवलको धार्मिक सभालाई सम्बोधन गरेर अध्यक्ष थापा दस्तावेज लेख्न हेटौडा पुगेका हुन् । बिहीबार र शुक्रबार वीरगञ्जमा हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्नका लागि अध्यक्ष थापा दस्तावेज लेखनमा जुटेका हुन् ।
तर, सह-अध्यक्ष विष्ठको समूहले भने वीरगञ्जको बैठक बहिस्कार गर्ने जनाएको छ । वीरगञ्जमा दुई दिने बैठक सकेपछि शनिबार धार्मिक सभालाई अध्यक्ष थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।
राप्रपा नेपालले तराईका जिल्लाहरुमा देशव्यापी धार्मिक सभाको आयोजना गर्दै आएको छ । यसअघि धनगढी, इटहरी र बुटवलमा यस्ता सभाहरु सकिएका छन् ।
प्रतिक्रिया 4