समाज कल्याण परिषदबाट खटिएको टोलीको नेतृत्व गर्दै गमगढीबाट ताल्चा विमानस्थल प्रस्थानका निम्ति जीपको प्रतिक्षामा उभिराखेको थिएँ । करिव चार घण्टाको प्रतिक्षाप्रति स्थानीय गैरसरकारी संस्थाको सहयोगमा करिव पाँच किलोमिटर कच्ची सडक यात्राका लागि ४ हजारमा जीपको व्यवस्था भयो । त्यस पश्चात हामीले यात्रा सुरु गर्यौ ।
करिव दुई मिनेटको यात्रापछि सडकको देब्रे छेउमा अन्दाजी ३० वर्षे युवकले जीप रोक्न आग्रह गरे । चालकले जीप रोक्दै भने यो रिजर्भ गाडी हो, तपाईलाई लग्न सक्दिँन । जव मेरा आँखा त्यस युवकको पछाडि खाली खुट्टामा सडकको किनारमा ढुङ्गामा बसेर बच्चालाई दूध चुसाइरहेकी युवतीमाथि पुग्यो, म जीपबाट झरें र थप जानकारी लिएँ ।
तीन दिनअघि दुई वर्षे बालकको खुट्टा भाँचिएको रहेछ । भौगोलिक विकटता र यातायातको उपलव्धता नभएका कारण दुई दिनको निरन्तर हिँडाइबाट यो जोडी मुगुको सदरमुकाम गमगडीमा अघिल्लो रात आइपुगेको रहेछ । छोराको उपचारका लागि नेपालगञ्ज जानुपर्ने कुरा ती युवकले सुनाए । हामीले त्यो जोडीलाई जीपमा राखेर सँगै विमानस्थलतिर पुर्याइदियौं ।
करिव बिहानको दश बजेको थियो हामी विमानस्थल पुग्दा । प्राकृतिक वातावरण, जहाज कम्पनी र ट्राभल कम्पनीका ठेकेदार र दलालका भरमा उडान भर पर्ने कुरा स्थानीयबासीले खाना खाने समयमा हामीलाई सुनाए । त्यसपश्चात मेरो सोचाइ त्यो दुइवर्षे बच्चामा तल्लीन थियो । छिटो उडानको कामना मेरो अन्तरमनले गरिरहेको थियो । क्षण क्षणमा मौसम बदलिइरहेको थियो । यसैवीच उडान रद्द गरिएको कर्मचारीहरुले बताए ।
झण्डै चारघण्टा ताल्चा विमानस्थलमा बिताएपछि त्यसको करिव एक घण्टापछि मौसममा सुधार आउने र नेपालगञ्जबाट गोमा र तारा कम्पनीको जहाज विमानस्थलका कर्मचारीले बताए । झण्डै पाँचवटा जहाजको उडानले समेट्न नसक्ने यात्रुहरुवीच टिकटका लागि हानाथापको स्थिति सिर्जना भयो ।
करिव त्यसको आधा घण्टापछि तारा कम्पनीको उडान रद्द भएको खबर आयो । यात्रुहरुवीच टिकटका निम्ति फेरि घम्साघम्सी सुरु भयो । सबै यात्रुहरु आ-आफ्नो राजनैतिक र आर्थिक शक्ति टिकट प्राप्तिका निम्ति प्रयोग गरिरहेको सजिलै देख्न सकिन्थ्यो ।
तर, छोराको उपचारका निम्ति ३ दिनदेखि पैदल हिँडेर आएको त्यो जोडीको न त कोही नेता थिए, न कोही नाता । न त उनीहरुसँग आर्थिक सक्षमता नै थियो । त्यो जोडीले आफ्नो विवशता सुनाउने हिम्मत पनि गर्न सकेको थिएन ।
यो सबै वातावरणलाई नियालिरहेका मेरा आँखाको धैर्यताको बाँध टुटिसकेको थियो । तत्काल त्यहाँ उपस्थित सुरक्षाकर्मी, जहाज कम्पनी र ट्राभल एजेन्सीका प्रतिनिधिहरुलाई मैले मेरो परिचय र त्यो जोडीको विवशता सबै सुनाएँ । र, उनीहरुको टिकटको निम्ति लामो समयसम्म अनुरोध गरें । अन्ततः एउटा मात्र टिकट प्राप्त भयो, जसले गर्दा बालकका पिता उपचारका निम्ति पत्नीसँगै अस्पताल जान पाएनन् । औपचारिक शिक्षाका नाममा कुनै पनि तह नपढेकी ती युवती एक्लै जहाज चढिन् गहभरि आँशु पार्दै उनका आँखाले कुनै परिपक्व अभिभावकको खोजी गरिरहेको महसुस मेरा आँखाले गरे । । तर, एउटामात्रै टिकट उपलव्ध गराउन सकेकोमा मेरो मनले उनीसँग माफ मागिरहेको थियो ।
स्मरण भएसम्म बाल्यकालमा नै पक्की राजमार्गको अनुभव संगालेको म ३० वर्षको उत्तरार्धमा पहिलोपटक कर्णाली छिरेको थिएँ । काठमाडौमा दिनहँु कर्णालीको विकासको निम्ति पाँचतारे होटेल र व्यवस्थापिका सांसदमा नेताज्यूहरुको चर्को भाषण सुनेको थिएँ । अघिल्ला नेपाली आधुनिक नेपाली राजनीतिज्ञको अनुभव गर्न नपाएको मैले पछिल्लो दश वर्षे जनयुद्ध, मधेस, आदिवासी इत्यादि आन्दोलनको प्रत्यक्ष अनुभव गरेको थिएँ । र, लागेको थियो, साँच्चिकै यी आन्दोलनहरुले नेपाली जनताको जनजीविकालाई आत्मसाथ गरेका छन् ।
विशेषतः पछिल्ला आन्दोलनले विकासमा पिछडिएका जनताका आवश्यकतालाई सम्बोधन गरेको मेरो बुझाइ थियो । तर, कणर्ालीको मेरो यो यात्राले मेरो बुझाइलाई गलत सावित गरिदियो ।
आज नेपालमा गणतन्त्र आएको छ । जाती, भाषी, लिङ्गको आरक्षणमा राष्ट्रपतिदेखि राज्यका विभिन्न तहसम्म समानुपातिक प्रतिनिधित्व देखिन्छ । अफसोच, चाहे प्रजातन्त्र होस्, चाहे गणतन्त्र । हिजोकै शासक परिवारका सदस्यहरुले आजको गणतन्त्रमा विभिन्न पार्टीका नाउँमा केन्द्रिकृत शासन गरेका छन् ।
आधा घण्टामा २५० रुपैयाँ तिर्दा प्लास्टर हुने खुट्टा तीन दिनको पैदल हिडाइँ र लाखौं रुपैयाँको खर्चमा कर्णालीबासीको खुट्टाको प्लास्टरको रकमले समाबेसी राज्यको बहसलाई न्याय देला र ?
कर्मचारी सरुवा-बढुवा र पदपूर्तिमा राजनैतिकवादले महत्वपूर्ण स्थान ओगटेको छ । राजनैतिक पार्टीहरुले भौगोलिक, सांस्कृतिक आर्थिक र धार्मिक पक्षलाई राजनैतिक हतियार बनाएर देशलाई जातीय तथा धार्मिक द्वन्द्वमा देशलाई धकेलिरहेका छन् । त्यस्तै राजनैतिक पार्टी र व्यक्तिगत इच्छामा प्रदेशहरुको सीमांकन र नामांकनमा अडकिएको छ । दोषारोपणमा क्रान्तिकारी र प्रतिक्रान्तिकारी भन्नेहरु सरकारमा मिलीमिली देश लुटिरहेका छन् । प्रतिपक्षी पार्टी र त्यसको नेतृत्वले छिमेकीको ढाल बनेर नेतृत्व गरेको छ । झन्डै एक वर्ष बित्न लागेको मधेस आन्दोलन स्वदेशी र विदेशी इच्छा र इशारामा काठमाडौ र तराईलाई छुट्टाउन चाहन्छन् ।
संघीयताका सवालमा थुप्रै प्रश्नहरु उब्जिएका छन्, चुच्चे र थेप्चे, कालो र गोरो, हिन्दु र मुस्लिमबीचको लडाइँ संघीयताको संरचना हो र ? आरक्षणका नाममा सुजाता र विद्यादेवीहरु काठमाण्डौमा राज गर्ने, तर मुगुका रामबहादुर र श्यामबहादुरले हलो जोत्नुपर्ने लैङ्गकि समानताको बहस यही हो र ?
त्यस्तै काठमाण्डौका नेवार र कास्कीका गुरुङ्ग दाइलाई नेवार र तमुवान राज्य नचाहिने-प्रचण्ड, ओली र केसी काठमाण्डौमा बसी जातीय राज्यको संघीयताको चाहिने नचाहिने बहस गर्ने यही हो जातीय राज्यको आवश्यकता ?
आधा घण्टामा २५० रुपैयाँ तिर्दा प्लास्टर हुने खुट्टा तीन दिनको पैदल हिडाइँ र लाखौं रुपैयाँको खर्चमा कर्णालीबासीको खुट्टाको प्लास्टरको रकमले समाबेसी राज्यको बहसलाई न्याय देला र ? यस्तै बहसहरु अहिलेको समकालीन नेपाली राजनीतिमा उब्जिएका छन् । देशको विकासभन्दा पनि विनाशतर्फ अहिलेका राजनैतिक पार्टीहरुको क्रियाकलाप देखिन्छ ।
देश बदल्ने राजनीति आज युवाहरुप्रति घृणा बन्दैछ । त्यस्तै गरी राजनैतिक दलहरुको गैरराजनैतिक चरित्रका कारण युवा जनशक्ति शिक्षा र रोजगारीका लागि विदेशिँदैछन् । यसले बालबच्चा, वृद्धा तथा भ्रष्टहरुको अखडा देश बन्दैछ । दैनिक हजारांै संख्यामा युवा जनशक्ति सस्तो तथा जोखिमपूर्ण वैदेशिक रोजगारीमा विदेशिएको रेकर्ड विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले देखाउँछ ।
सँगसँगै प्रत्येक दिन नेपाली कामदारहरुको विदेशी भूमिमा मृत्यु भएको र मारिएको समाचार दैनिक पत्रपत्रिकाको हेडलाइन र रेडियो टेलिभिजनको फ्ल्यास न्यूजमा सुन्न र देख्न सकिन्छ । तर, तिनै विदेशिएकाहरुले कमाएको पैसासँग रगत साटेका युवाहरुले पठाएको रेमिटान्समा राजनैतिक भ्रस्टाचार मौलाउँदो छ ।
अर्कोतर्फ युवाहरु विदेशिने र उनीहरुका श्रीमती एवं बालबच्चा सहरतिर बसाइँ सर्ने, बुढा बा-आमाले गाउँबस्ती कुर्ने आजको नेपाली समाजको यथार्थता हो ।
एक शैक्षिक युवकको हैसियतले अब भन्नैपर्छ, हामीलाई नेपाली-नेपालीवीचमा एकता ल्याउने व्यवस्था चाहिएको छ । तराईको गर्मीमा तड्पिएको थारुलाई चिसो पानी दिने हिमाली शेर्पा र जाडोमा कठाँग्रिएको शेर्पालाई न्यानो कपडा दिने तराईको थारुलाई जोड्ने राज्य हामीलाई चाहिएको छ । खुट्टा भाँचिएको छोराको एक घण्टामा उपचार गर्ने सु-व्यवस्थासहितको राज्य चाहिएको छ ।
मेरो विचारमा धार्मिक र जातीय आन्दोलन हैन, वर्गीय आन्दोलनको आवश्यकता छ । राज्यको विविधतालाई विकासको अवरोध नसम्भिmकन स्रोत र साधनका रुपमा प्रयोग गरी समुन्नत समाज चाहिएको छ ।
जबसम्म जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सकिँदैन, तबसम्म जुनसुकै राजनैतिक आन्दोलनले प्राप्त गरेका राजनैतिक उपलब्धिहरु चाहे प्रजातन्त्र होस्, वा गणतन्त्र, त्यो संस्थागत र सार्थक हुन सक्दैन । यसकारण मुख्य अहिलेको आवश्यकता भनेको आर्थिक विकास हो ।
विज्ञान र प्रविधिले सबै आवश्यक साधनहरु बजारमा उपलव्ध गराएको छ । खाँचो नेपाली जनतालाई किन्न सक्ने बनाउनु हो । जबसम्म आर्थिकरुपमा व्यक्ति सम्पन्न हुन सक्दैन, तबसम्म देशमा बेरोजगारी द्वन्द्व र विभेद कायमै रहन्छ । यसकारण हाम्रो देशको परिवेसमा कृषिमा आधुनीकरण, शैक्षिक युवाहरुमा रोजगारीको ग्यारेन्टी एवं असाक्षर युवाहरुलाई व्यवसायिक तालिम दिई आत्मनिर्भर बनाउनु अहिलेको हाम्रो आवश्यकता हो ।
यसका साथसाथै स्वदेशमै निजी क्षेत्रलाई प्रोत्साहन गरी लागानीको वातावरण बनाउनुराज्यको उत्तरदायित्व हो र स्वदेशमै रोजगारीको वातावरणको सिर्जना गरी विदेशिएको करिव ६० लाख जनशक्ति नेपाल फर्काउन सक्नु आर्थिक विकासको महत्वपूर्ण पक्ष हो । यसैले राष्ट्र विकासका लागि तपाई हामी आजैबाट हिमाली, पहाडी, मधेसी केही पनि नभनी हामी सबै नेपाली भनी अगाडि बढौं । यसमा नै व्यक्ति र राष्ट्रको भविश्य छ ।
गमगडीमा भेटिएको जोडीको वेदनाले यही भन्छ ।
प्रतिक्रिया 4