मैले मागी बिहे गरेको भन्दा प्रायले पत्याउँदैनन् । मलाई पनि पहिले लाग्दैनथ्यो कि म पराम्परागत किसिमले झ्याईं-झ्याईं बाजा बजाएर दुलही भित्र्याउनेछु । लभ म्यारिज नै गर्छु होला, बढीमा ‘लभ प्लस एरेन्ज’ होला भन्ने लाग्थ्यो ।
लभ जीवनमा नगरिएको पनि होइन । तर, कुनै पनि लभ सक्सेस भएनन् । म आफ्नो गर्लफ्रेन्ड भन्दा बढी म्युजिकलाई बढी लभ गर्थेँ । सायद त्यही भएर गर्लफ्रेन्डहरु मसँग टिकेनन् ।
म संघर्षकै क्रममा थिएँ । एल्बम र फिल्मको गीतहरु गाउथेँ । कलेज पनि पढाउँथे । बहिनीको बिहे भइसकेको थियो । काठमाडौंमा मसँग बसिरहेको भाई अष्ट्रेलिया गयो । बुवा-मम्मी झापामै बस्ने । म काठमाडौंमा एक्लै परेँ ।
भाइ मसँग बस्दासम्म मलाई केही परवाह थिएन । उसले श्रीमतीले जसरी मेरो केयर गथ्र्यो । घरको काम म फिटिक्कै केही गर्दिनथेँ । सबै उसैले सम्हाल्थ्यो । दुःखसुखको साथी पनि थियो । जब भाई अष्ट्रेलिया गयो, त्यसपछि म एक्लो परेँ । अनि, बिहे गर्नुपर्ने माहोल ‘अटोमेटिक’ बन्यो ।
बिहे गर्ने निर्णयमा पुगेपछि केटी हेर्न थालियो । धेरै केटी हेरियो । त्यसमध्ये एउटीसित बिहे गर्ने लगभग टुंगोमै पुगिसकेको पनि भएन । बिहे भन्ने कुरा माथिबाटै लेखिएको हुँदो रहेछ क्यारे ।
अशोक शर्मा बनेर केटी हेरेँ
६७ साल वैशाखतिर मलाई झापाकै एउटी केटीको कुरा आयो । प्रतिभा नाम गरेकी मेेरी मीत बहिनीसँग म एक दिन केटी हेर्न भनेर गएँ । म प्रमोद खरेल भनेर नचिनिएरै केटी हेर्न चाहन्थेँ ताकि, केटी मसँग सहज र स्वभाविक रुपमा प्रस्तुत होस ।
म मास्क र हेल्मेट लगाएर बहिनीलाई बाइक पछाडि राखेर केटी बस्ने घरमा पुगेँ । उनी बाटोमै लिन आएकी रहिछन् । मैले बाइक रोकेपछि बहिनीलाई हाई भनिन् र मलाई नमस्ते भनिन् । नमस्ते गरेको मलाई मन पर्यो । कल्चरल र अनुशासित रहिछन् भन्ने पर्यो । लुक्स हेर्दा स्मार्ट पनि देखिन्थिन् । फस्र्ट इम्प्रेसन त्यही हो । उनले मलाई पनि लक्षित गरेर माथि जाउँ न भनिन् ।
मैले हेल्मेट फुकालेँ । तर, मास्क नफुकालिकन माथि उक्लेँ । माथि गएपछि बहिनीले मेरो परिचय गराइन् । ‘उनी मेरो साथी दीपा, उहाँ मेरो मीत दाइ…’ उनी नाम भन्न अक्मकाइन् । मैले भनिदिएँ ‘म अशोक शर्मा ।’ मलाई फ्याट्टै यो नाम किन फुर्यो थाहा छैन ।
परिचय गराइसकेपछि मास्क लगाएरै बसिरहन अप्ठेरो लाग्यो । के चिन्लिन् र भनेर मास्क खोलेँ । त्यतिबेला म अहिलेजस्तो पपुलर पनि थिइनँ । तर, उनी त मेरो गीतको फ्यान रहिछन् । मैले मास्क खोल्नासाथ उनले चिनिहालिन् । ‘ओ माइ गड, तपाईं त प्रमोद खरेल होइन ?’ उनले जिब्रो टोक्दै भनिन् ।
‘होइन होइन, मेरो मीत दाइ अशोक शर्मा हो । जो पनि झुक्किन्छन् भन्या,’ बहिनीले कुरा मिलाउन खोजिन् ।
‘कस्तो ठ्याक्कै डिट्टो है ?’ उनले सन्देह मिश्रति भावमा भनिन् ।
यता मलाई चैं उनले पत्याइनन् भनेर चिन्ता भयो । सहजरुपमा कुरै गर्न सकिनँ । उनीहरु आफ्नो सुरमा कुरा गर्न थाले, म पत्रिका पढेर बसिरहेँ । पत्रिकाको हेडलाइनदेखि सम्पादकीय र विज्ञापनदेखि प्रिन्टलाइनसम्म पढिसक्दा पनि उनीहरुको गफ सकिँदैन । केही नलागेर मैले ‘ल जाउँ अब’ भनेँ । अनि हामी यत्तिकै हिँड्यौं ।
त्यही दिन उनलाई घरबाट फोन आएछ । ‘तँलाई हेर्न कोही केटा आएको थियो ?’ भनेर सोधेछन् । अनि पो उनी जिल खाइछन् ।
उनलाई हेरेपछि मैले निर्णय दिन सकिनँ । दोधार-दोधार भयो । बीचमा अरु केटी पनि हेरियो । तर, कसैसँग कुरा अगाडि बढेन ।
तीन महिनासम्म हाम्रो तर्फबाट केही प्रतिक्रिया नआएपछि उनीहरु केटोले मन पराएन भनेर ढुक्क भएछन् । म पनि रेकर्डिङको काममै व्यस्त भएँ ।
घुमीफिरी रुम्जाटार
तीन महिनापछि फेरि म घुमिफिरी रुम्जाटार भनेजस्तो मीत बहिनीकहाँ पुगेँ । मैले ङच्िच पर्दै बहिनीसँग भनेँ, ‘अस्ति नै हेरेको केटीसँग कुरा अगाडि बढाउनुपर्यो ।’
‘खोइ, उनीहरुले त अब अहिले बिहे नगर्ने जस्तो कुरा गर्दै थिए, तैपनि म बुझिदिन्छु,’ उनले भनिन् ।
बहिनीले केटीसँग कुरा गरिछन् । तर ‘यत्रो दिनसम्म खबर नगर्नेसँग अब बिहे गर्दिन’ भनिन् अरे । म निराश भएँ । तर, केटीका बुबाआमाले उनलाई दबाव दिएछन् । केही दिनमा फेरि खबर आयो, कुरा अगाडि बढाउने अरे भनेर । त्यसपछि भेटेर औपचारिक रुपमा केटा र केटी गफ गराउने वातावरण मितबहिनीले बनाइन् ।
बहिनीकै घरमा केटीलाई बोलाइयो र म पनि पुगेँ । त्यो दिन मेरो एफएममा अन्तरवार्ता आइरहेको थियो । उनीहरु त्यही सुनेर बसिरहेका रहेछन् । म पुगेपछि केटीले उठेर नमस्कार गरिन् । हामीलाई अलग्गै कुरा गर्ने प्रवन्ध मिलाइयो । उनी निकै कम बोल्दिरहिछन् । त्यसताका म पनि धेरै बोल्दिनथेँ । तैपनि आफ्नो बारेमा सबै कुरा सुनाएँ । ‘म यस्तोखालको केटा हुँ, केमेस्ट्रीमा मास्टर्स गरेको छु, कलेज बढाउँछु, म्युजिक फिल्डमा मेरो ऊ छ । भोलि गएर म म्युजिक फिल्डमै उ हुन सक्छु,’ यति सुरुमै भनिदिएँ । उनले मुन्टो मात्र हल्लाइरहिन्, केही बोलिनन् ।
‘तपाईंको चाहिँ पढाइ कस्तो चल्दैछ ?’ भनेर सोधेँ । उनले ब्याचलरको परीक्षा सिध्याएर बसेकी रहिछन् । र एउटा फाइनान्स कम्पनीमा नोकरी गर्दिरहिछन् ।
सुहागरातमै घरमा चोर पस्यो । आवाज आउनासाथ म ‘चोर आयो’ भन्दै कराएँ । घरमा सबैजना जर्याकजुरुक उठे । हल्लीखल्ली भयो
त्यसपछि मैले भने, ‘ल, एक हप्तापछि म ३० वर्ष लाग्दैछु । उमेरको पछाडि जिरो हुँदा बिहे गर्नु हुँदैन रे । त्यसैले एक हप्ताभित्रै बिहे गर्नुपर्छ है ।’ उनको जवाफको प्रतिक्षा नगरी मैले त्यहीँबाट घरमा बुवालाई फोन लगाएँ । मैले बुवालाई भनिदिएँ, ‘ल, बुवा कुरा मिल्यो, बिहेको तयारी गर्नू ।’ उनी जिल्ल परेर मलाई हेरिरहेकी थिइन् । अनि पो त सोचें, अहो केटीले त ‘एस’ भनेकै छैनन् ।
अन्तिममा उनले जवाफ दिइन्, ‘बिहेको कुरा त मेरो बुवाआमासँग पो गर्नुपर्छ ।’ जे होस, उनको बडिल्याङ्वेज पोजिटिभ भएको निस्कर्ष निकालेर म निक्लेँ । त्यसपछि पारिवारिकरुपमा कुरा भएर असार ६ गते बिहे गर्ने निधो भयो ।
एसएमएसको जवाफ आएन
रोचक कुरा के छ भने हामी दुवैसँग मोबाइल भएर पनि त्यो एक हप्ताको ग्यापमा एकपटक पनि फोनमा कुरा भएन । न मैले गरेँ, न उनले गरिन् । एक अर्काको नम्बर मोबाइलमा सेभ पनि गरेका थिएनौं ।
बिहेको दुई दिनअघि उनको बर्थडे रहेछ । त्यो थाहा पाएर पनि मैले उनलाई फोन गरिनँ । बरु एउटा म्यासेज पठाइटोपलेँ ‘ह्यापी बर्थडे टु यु’ लेखेर । त्यो म्यासेजको रिप्लाइ नै आएन । दिनभरि कुर्दा पनि रिप्लाइ नआएपछि मैले मीतबहिनीलाई कम्प्लेन गर्न पुगेँ । उनले दीपालाई फोन गरेर सोधिन् । उनले नचिनेको नम्बर भएकाले रिप्लाई नगरेको जवाफ दिइछन् । त्यसको केहीबेरमा उनको म्यासेज आयो ‘थ्याङ्क यु’ लेखेर । त्यसपछि बिहेसम्म सम्वाद बन्द भयो ।
बिहेको गाडी फसेपछि
तीन दिनमा भट्याङभुटुङ सपिङ गरेर म प्लेनमा चढेर झापातिर लागेँ । म घर पुग्दा घरभरि पाहुना भेला भइसकेका थिए । घरको जेठो छोरोको विहे, घरको तालमालै बेग्लै थियो ।
बल्ल पो आफू बेहुला हुन लागेको महसुस गरेँ । त्यसले मभित्र उत्साहभन्दा पनि दबावको सञ्चार गर्यो । अहिलेसम्म एक्लोबुंगो जीवन बाँचिरहेको म, श्रीमान भइसकेपछि कसरी दायित्व बहन गर्ने, कसरी जीवन निर्वाह गर्ने, कसरी आफ्नो गायन करिअरलाई अगाडि बढाउने जस्ता कुराहरु मनमा खेल्थे ।
हुनेवाला दुलाहालाई सबैले भाउ दिन्थे । त्यतिबेला चाहिँ गजक्क परिन्थ्यो । बिहेको दिन आयो । टक्क मलाई धेरैजना मिलेर सिंगारे । ‘ल, दुलाहा भइयो’ भन्ने भयो ।
बिहेको दुई दिनअघिदेखि नै मुसलधारे पानी परिरहेको थियो । बिहेको दिन पनि पानी रोकिएन । जन्तीका लागि बिहानै ल्याएर राखेको बस हिलोमा भासिएछ । यति नराम्रोसँग भासिएछ कि ड्राइभरले कुनै हालतमा निकाल्न सकेनन् । जन्ती हिँड्ने बेला भइसक्यो, गाडी ज्यान गए निस्किँदैन । ९ बज्यो निस्किएन, १० बज्यो निस्किएन ११ बज्यो निस्किएन । उताबाट तारन्तार फोन गरिरहेका छन् । यता भोकाएका जन्ती तितरबितर भइसके ।
बल्लबल्ल चिया बगानबाट दुईवटा ट्र्याक्टर मगाएर गाडी तानियो । करिब पौने १२ बजे गाडी निस्कियो । त्यसपछि जन्तीको खोजी सुरु भयो । कोकोहोलो गर्दै जन्तीहरु भेला पारियो । प्राइभेट गाडीहरु ७ वटा थिए ।
मलाई नेपाली बाजा असाध्यै मन पर्ने । बिहेमा बाजा बजाउनुपरेमा नेपाली पञ्चैबाजा नै घन्काउँछु भन्ने सोच थियो । तर, जन्ती जाँदा पानी बेस्सरी दर्केकाले बाजा बजाउनेहरु गाडीभित्र कोचाकोच गरेर बसे । अरु गाडीहरु पनि आ-आफ्नो सुरले हिँडे ।
उता केटीका घरमा पनि पानीले अस्तव्यस्त पारेको थियो । त्रिपालभित्र पनि पानी पसिरहेको थियो । बाहुनले हतार-हतारमा बिहे गराए । मलाई सुपाडी खेल्ने साह्रै रहर थियो । तर, बाहुनले त्यो विधि नै ‘स्किप’ गरिदिए । मलाई साह्रै झोक चल्यो । आखिर जीवनमा बिहे त एकचोटि गरिन्छ नि होइन ?
बिहेमा दुलाहा दुलहीलाई बोकेर गाडीमा हाल्दा रहेछन् । मैले ‘हैट’ भनेर बोक्न दिइँन । बेहुली गाडी चढ्ने बेलामा बाहुनले दाहिने खुट्टा पहिले टेक्नु भनेका थिए । तर, बेहुलीले देब्रे खुट्टा उचालिन् । म हतारिएर ‘यो होइन, दाहिने दाहिने’ भन्दै उनको खुट्टा समाउन पुगेछु । बिहेभरिमा बेहुलीसँग बोलेको त्यत्ति हो ।
अन्माउँदाखेरि उनी रुन थालिन् । म अरु रोएको देख्न नसक्ने । त्यसमा पनि आफ्नै दुलही रोएको देख्दा मन थाम्न गाह्रो भो । मेरो पनि आँखाभरि आँशु भरिएछन् । बल्लतल्ल लुकाएँ
अन्माउँदा आफैं रोएँ
अन्माउँदाखेरि उनी रुन थालिन् । म अरु रोएको देख्न नसक्ने । त्यसमा पनि आफ्नै दुलही रोएको देख्दा मन थाम्न गाह्रो भो । मेरो पनि आँखाभरि आँशु भरिएछन् । बल्लतल्ल लुकाएँ । मलाई पहिलोचोटि उनको माया लागेको अन्माउँदाखेरि हो ।
गाडीमा पनि उनीसँग सोझो कुराकानी भएन । बहिनी-ज्वाइँ पनि हुनुहुन्थ्यो, त्यसैले । अन्माएर घर पुर्याएँदा बनियानी बजारमा बेहुली हेर्नेहरुको भिड लागिसकेको रहेछ । मेरो त शान नै अर्कै भइगयो । तर, घरको हालत भने अर्कै थियो ।
सुहागरातमा चोर आयो
त्यतिबेला हामीले पुरानो घर बेचेर नयाँ घर बनाउन थालेका थियौं । एकतले पक्की घर पूरा भइसकेको थिएन । घरका झ्यालहरु ह्वाङ्गै थिए । बिहेका लागि झ्यालहरु प्लास्टिकले बारिएका थिए । दुलहा दुलहीको कोठामा पनि झ्याल प्लास्टिकले बारिएको थियो ।
सुहागरात मनाउने कोठा कस्तो सजाइएको न होला भन्ने उनले कल्पेकी थिइन् होला । तर, त्यस्तो सजावट केही थिएन । तैपनि उनले खिन्नता दर्शाइनन् ।
सुहागरातमै घरमा चोर पस्यो । म राति कतै खिस्रिक्क भयो भने पनि ब्यूझिन्छु । आवाज आउनासाथ म ‘चोर आयो’ भन्दै कराएँ । घरमा सबैजना जर्याकजुरुक उठे । हल्लीखल्ली भयो । तर, चोर भेटिएन । भागिसकेछ । धन्न केही चोर्न भ्याएको रहेनछ । त्यसपछि त राम्ररी निदाउनै सकिएन । उनी पनि अत्तालिइनि् ।
ससुरालीको मानमनितो
बिहेको पर्सिपल्ट ससुराली गइयो । ससुराली जाँदा बाटो यति हिलो थियो कि गाडीमा लैजान सक्ने अवस्था थिएन । ससुरालीमा लैजानुपर्ने कोसेली थुप्रै हुँदोरहेछ । उनले नीलो साडी लगाएकी थिइन् । अग्ली र राम्री देखिएकी थिइन् ।
त्यसो त उनलाई मैले बिहेको दिनभन्दा भोलिपल्ट राम्री देखेको थिएँ । भोलिपल्ट भन्दा पर्सिपल्ट झन् राम्री देखेँ ।
चिटिक्क परेकी श्रीमती बाइक पछाडि लिएर कुद्दा भद्रपुर बजारमा मेरो कम्ता शान भएन । टक्कसँगले ससुराली पुगियो । ससुराली पुगेपछि ज्वाईंसाहेब भइयो । त्यहाँ अर्को गौरव थपियो । ससुरालीको स्वागत-सत्कारले मन पुलकित बन्यो । घरको पहिलो र एक्लो ज्वाइँ भएकाले उहाँहरु सत्कारमा कुनै कसर छाड्ने मनस्थितिमा हुनुहुन्थेन । दुई दिन मेजमान खाएर घर फर्कियौं र केही दिनपछि प्लेन चढेर दुबै काठमाडौं आयौं ।
प्लेनभित्र हेराहेर
बुद्ध एयरको सानो ट्वीनटर जहाजमा आएको, दुई साइडमा एउटा एउटा सीटको लाइन रहेछ । दुईजना दुइपट्टि परियो । छोटो हवाइ यात्रामा नवदुलहीलाई अंगालो मारेर ल्याउँला भन्ने थियो, त्यो पनि पूरा भएन । दुईजना दुईपट्टि बारम्बार एक-अर्कालाई हेर्ने र हाँस्नेमै सीमित भयौं । एयरपोर्टबाट ट्याक्सी चढेर कालोपुल पुर्याएँ ।
कहिले ३ महिनामा त कहिले ६ महिनामा तलव आउँथ्यो । म्युजिकमा पैसा आउनेभन्दा जाने क्रम बेसी थियो । फलतः कोठामा केही सामान जोड्न सकेको थिइनँ
घरभित्र बेहाल
नाम चलेको सिंगर, त्यसमाथि कलेज पढाउने । आम्दानी दह्रै होला, लाइफ स्टाइल पनि खत्रै होला भन्ने दीपाले कल्पना गरेकी थिइन् होला । तर, कोठाभित्र पसेपछि झण्डै बेहोस भइन् ।
म थिएँ कत्ति पनि हाइफाई नगर्ने । हदैसम्मको ल्याङफ्याङे । त्यसमाथि आम्दानीको स्रोत दह्रो थिएन । क्याम्पसले नियमितरुपमा तलव दिँदैनथ्यो । कहिले ३ महिनामा त कहिले ६ महिनामा तलव आउँथ्यो । म्युजिकमा पैसा आउनेभन्दा जाने क्रम बेसी थियो । फलतः कोठामा केही सामान जोड्न सकेको थिइनँ ।
फर्निचरका नाममा सुत्ने खाटमात्रै थियो । टीभी पनि नभएर एउटा पुरानो कम्प्युटरमा टीभी कार्ड राखेर हेर्ने गर्थेँ । बिहेमा दाइजो आएको टीभी काठमाडौैं ल्याइयो । टीभी राख्नलाई टेबल पनि थिएन । कार्टुनमाथि राख्यौं ।
बिहे गरेको एक वर्षसम्म निकै स्ट्रगल भयो । भएको पैसा बिहेमा सकिएको थियो । त्यसपछि घर चलाउन धौधौ पर्यो । पहिले एक्लै हुँदा त पैसा नभए पनि बाल मतलब हुन्थेन । तर, बिहे गरेर ल्याएकी श्रीमतीलाई त भोकै राख्न भएन । धेरैपटक खुत्रुके फुटाएर तरकारी किन्ने स्थिति आयो । धेरैपटक रुखासुखा खाएर सुतियो । बिहेपछि हनिमुन जाने योजनै बनेन किनकि पैसा थिएन ।
तरकारी किन्न जाँदा पनि शान
म जिन्दगीमा कहिल्यै बजारमा तरकारी किन्न गएको थिइनँ । बिहेपछि उनको पछि लागेर तरकारी बजारमा जान थालेँ । उनी तरकारीको भाउ गर्दै अघिअघि हिँड्थिन् । झोला बोकेर उनलाई पछ्याउँथे । उनी तरकारी छान्थिन् म झोला थाप्थेँ । र्फकँदा म दुबैजना एक एकवटा झोला बोक्थ्यौं । त्यतिबेला मलाई लाग्थ्यो, अब व्यवहारिक भइयो गाँठे ।
बिस्तारै बिस्तारै मलाई सपिङ गर्नचाहिँ झ्याउ लाग्न थाल्यो । आफूलाई कुनै सामान चुज गर्न नआउने । बार्गेनिङ गर्न पनि फिटिक्कै नजान्ने । मलाई सँगै लगेपछि उनलाई पनि बार्गेनिङ गर्न अप्ठेरो । अर्कोतिर, मानिसहरुले चिने भने फोटो खिचौं न भनेर आइहाल्ने । त्यसपछि उनी प्रायः एक्लै सपिङ जान थालिन् ।
छोरो जन्मेको भोलिपल्ट विदेश
०६८ सालमा हाम्रो छोरो जन्मियो । अघिल्लो दिन छोरो जन्मियो, भोलिपल्ट मेरो विदेश यात्रा थियो । राम्ररी आँखा नउघारेको छोरो र अपरेसनपछि राम्ररी होसमा नआएकी पत्नीलाई छोडेर म कन्सर्टका लागि अष्ट्रेलिया गएँ । त्यहाँ १५ दिन बिताउनु मेरा लागि १५ जुनी बिताएसरह भयो ।
एक-अर्कासित टाढा हुँदा माया बेहिसाब बढ्दोरहेछ । त्यसमाथि भर्खर जन्मेको छोरोलाई काखमा खेलाउन नपाएको तिर्सनाले मलाई सताइरह्यो ।
कस्तो थिएँ कस्तो भएँ
बिहे अगाडि मेरो जीवन वास्तवमै खोक्रो थियो । म कोठाभित्र बसेर साइन्सका फर्मुला घोक्दा घोक्दा हत्तु भएको एउटा पढन्ते । धोएर निचोरिएको कपडाजस्तो वा रस सुकेको कागती जस्तो थिएँ । दीपाको आगमनपछि मेरो जीवनमा उमंगको दीप जल्यो । जीवन रंगीन बन्न थाल्यो ।
म पहिले मानिसहरुसँग सितिमिति बोल्दिनथेँ । रिजर्भ बसिदिन्थेँ । लवाइ खवाइमा कत्ति ध्यान दिन्नथेँ । चप्पलै लगाएर सारा शहर चहाथेर्ँ । दाह्री काट्न पनि जाँगर नलागेर जिंगि्रङ्ग बस्थेँ । कपाल त जिगि्रंङग थियो नै ।
बिहेपछि म धेरै फेरिएको छु । सफासुघ्घर भएर हिँड्न र बस्न दीपाले सिकाएकी छिन् । बिहेपछि बोल्ने बानीको विकास भयो । म सामाजिकीकरण भएँ । मेरो स्वाभाव परिवर्तन हुँदै गयो ।
दीपाको आगमन मेरो जीवनमा भयानक लक्की सावित पनि भएको छ । उनी आउनेबित्तिकै मेरो थर्ड एल्बम निस्कियो र त्यसको ‘मेरो दिल छ पोखरामा’ बोलको गीत सुपरहिट भयो । त्यसपछि स्टेजमा मेरो डिमाण्ड हुन थाल्यो । अनि विदेश यात्रा पनि शुरु भयो ।
त्यसपछि क्याम्पसले तलव टाइममा नदिए पनि मेरो गुजारा चल्न थाल्यो । घरमा सामान र फर्निचरहरु थपिन थाले । बिहेको दुई वर्षपछि हात्तीवनमा एक टुक्रा जग्गा जोडियो, ऋणपान गरेर । ७० सालमा जसोतसो घर पनि बनाएँ । एक हिसाबले जीवनमा पूर्णता भरिँदै गएको छ ।
यस्ती छिन् दीपा
मलाई उनका मनपर्ने गुणहरु धेरै छन् । उनको व्यक्तित्वको सबैभन्दा बलियो पक्ष हो इमान्दारिता । म श्रीमान भएर भनेको होइन, कसैले पनि उनको इमान्दारितामा प्रश्न उठाउन सक्दैन । अरुलाई रेस्पेक्ट गर्ने स्वाभाव पनि मलाई औधि मन पर्छ । उनले जानेर कसैको पनि आजसम्म चित्त दुखाएकी छैनन् होला ।
उनी सरसफाइमा एकदम सचेत छिन् । हरेक कुरा ‘निट एन्ड क्लिन’ चाहिन्छ उनलाई । उनी भगवानप्रति आस्तिक छिन् । बिहानै उठेर भगवानको पूजाआजा गर्छिन् । मैले दीपामा औंल्याउन सक्ने नेगेटिभ कुरा वास्तवमै भेटि्दनँ । कहिलेकाहीँ हाम्रो ठाकठुक पर्यो भने त्यसमा गल्ती मेरै हुन्छ ।
उनी मेरा सिर्जनाहरुमा निकै चाख लिन्छिन् । मैले गाएका गीतबारे उनले फिडब्याक दिन्छिन् एउटा स्रोताका रुपमा ।
एउटा श्रीमानका रुपमा मैले आफ्नो दायित्व राम्ररी निर्वाह गर्न सकेको छैन होला जस्तो लाग्छ । मैले श्रीमतीलाई जति टाइम दिनुपथ्र्यो, बच्चालाई जति स्याहार गर्नुपथ्र्यो, त्यो गर्न भ्याएको छैन ।
म विदेशबाट आउँदा आफैंले छानेर उनलाई गिफ्ट ल्याउन पनि डराउँछु । उनलाई के चाहिएको छ, सोधेर मात्र ल्याउँछु । उनको बर्थ डे र हाम्रो एनिभर्सरीमा के गिफ्ट दिने भन्ने सधैं अन्योलको विषय हुन्छ मलाई । उनले चाहिँ कुनै पनि अवसरमा गिफ्ट दिन छुटाउँदिनन् ।
यस्तो छ छोरो
छोरो ५ वर्षको भयो । ड्याडी भनेपछि हुरुक्क हुन्छ । म घरमा बस्यो भने एकछिन छाड्दैन । राति पनि मैले सुताउनुपर्छ । म विदेशमा भएका बेला टिभीमा मेरो गीत आयो भने रिसाएर टीभी नै बन्द गरिदिन्छ रे । त्यति क्रेजी छ । संगीतप्रति पनि सानैदेखि उसको चाख छ । कहिल्यै नदेखेको इन्स्ट्रुमेन्ट पनि एकैचोटिमा बजाइदिन्छ ।
बुबाआमा दुबैजना झापामै हुनुहुन्छ । उहाँहरुको आफ्नै जीवन छ । दुबैजना सरकारी शिक्षक हो । बुवा गत वर्ष रिटायर्ड हुनुभयो । आमा यस वर्ष रिटायर्ड हुनुहुन्छ । भाइ अष्ट्रेलियामै छ । उतै बिहे गरेर बसेको छ ।
प्रतिक्रिया 4