+
+

लघुकथा: किछो नै हेते

नारायण तिवारी नारायण तिवारी
२०७३ साउन २७ गते १७:३०

सधैँजसो चलिरहने ‘बन्द’ ले हैरान पारेको थियो । ‘लोकतन्त्र’ प्राप्तिका लागि सारा जनताले स्वस्फूर्त गरेको ‘बन्द’लाई बुझ्न सकिन्थ्यो । तर, लोकतन्त्र प्राप्त भइसकेपछि संविधानसभाबाट लोकतन्त्रसम्मत विधिबाट झण्डै ९० प्रतिशत जनप्रतिनिधिले संविधान बनाइसकेपछि पनि यो के को विरूद्ध बन्द ? मनमा यिनै कुरा खेलिरहेका थिए ।

Narayan-Tiwariचोकमा आइसकेपछि एउटा रिक्सा खाली देखेँ । ‘ए भाइ, रिक्सा त बन्द गरेका छैनन् होला नि, चल्न दिन्छन् होला नि— जाने हो ?’ ‘चल्न नदिए भने हामी गुजारा कसरी गर्ने, भन्नुस् त दाजु !’ यति भन्दै उसले मलाई रिक्सामा बसायो ।

‘कहाँ जानुहुन्छ ?’ उसले रिक्सा अघि बढाउँदै सोध्यो ।

मैले संक्षिप्त जवाफ दिएँ– ‘बजारअड्डा चोक !’ फेरि झस्किएँ र सोधेँ–’कताबाट लैजाने ? त्यो भट्टीचोकमा त आन्दोलनकारीको सधैंको अखडा छ । अर्को बाटो जाऔं है !

‘किछो नै हेते । हम छिते छिए । नही डरू !’ उसले ढुक्कसित आफ्नै भाषामा जवाफ फर्कायो । अर्थात् उसले भन्यो– ‘केही हुँदैन । म छँदै छु । नडराउनुस् !’ र, भट्टीचोककै बाटोतर्फ अग्रसर भयो ।

क्रमशः भट्टीचोकका मानिसहरू देखिँदै गए । जुलुस देखियो । हल्लाखल्ला सुन्न थालियो । कोही भाषण गरिरहेको थियो । मेरो मनमा त्रास घटेको थिएन । जातीय त्रास ! म अर्को जाति र आन्दोलनकारी अर्को । सास रोकेर, झण्डै–झण्डै आँखा चिम्लिएर रिक्सामा बसिरहेँ ।

भाषणबाजी चलिरहेको चोकको छेउबाट रिक्सा अघि बढ्दै थियो, एउटाले करायो– ‘ए, रोक !’ ‘कथिला रोक्बे…!’ (किन रोक्छु !) रिक्सावाला फुसफुसाउँदै अघि बढिरह्यो । एउटा आन्दोलनकारी दौडिँदै आयो । रिक्सालाई बलजफ्ती रोक्दै करायो– ‘पहाडिया को रिक्सा मे मत बिठाओ…!’ दुई-चारजना अरू पनि रिक्सालाई घेरेर उभिए ।

मेरो सास जहीँको तहीँ अड्किए जस्तै भइरह्यो । आँखा चिम्म गरेर बसिरहेँ । त्यसैबेला अर्को अलिक नम्र स्वर सुनियो– ‘हे, कथिला एना करैछ । बेचारा कर्मचारी है ऊ, जाएई दह…!’ (हे, किन यस्तो गछौँ । बिचरा कर्मचारी हो ऊ, जान देओ…!)

भीड अलिक पर हटेको महसुस गरेँ र आँखा खोलेँ । रिक्सा भीडलाई छिचोल्दै अघि बढिसकेको थियो । माइकबाट भने आवाज आइरहेको थियो– ‘यह आन्दोलन पहाडिया के विरोध मे नहीँ है….!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?