+
+

दरबारका कर्मचारीको आत्मकथाः इतिहासको अपव्याख्या

राजा महेन्द्रको महिमागान, वीपीको अपमान ?

हरि अधिकारी हरि अधिकारी
२०७३ भदौ ४ गते १०:२०

पछिल्लो समय नेपाली साहित्यमा आत्मकथा वा आत्मवृत्तान्त लेखनको लहर नै उठेको देखिन्छ । आफ्ना अनुभव र अनुभूति सार्वजनिक गर्नेहरूमा नागरिक समाजका अनुभवी र परिपक्व वयका मानिसहरू नै धेरै देखिन्छन् ।

book cover (1)लामो अवधिसम्म सार्वजनिक जीवनमा सक्रिय रहेका व्यक्तिहरू, चाहे ती भूतपूर्व सरकारी कर्मचारी हुन् अथवा राजनीतिक र सामाजिक अभियन्ता नै किन नहुन्, तिनका अनुभवसिद्ध कथाकहानी लिपिवद्ध हुनु आफैंमा एउटा सकारात्मक विषय हो, जसले नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउन योगदान गर्दछ ।

आत्मकथा भनौं वा संस्मरण, अथवा अतीतको वृत्तान्त भनौं, लेखेर पाठकसमक्ष प्रस्तुत हुने अनुभवी व्यक्तिहरूको पंक्तिमा एउटा अर्को नाम थपिएको छ- रेवतीरमण खनालको ।

तत्कालीन राजदरबार प्रशासनअन्तर्गत महाराजाधिराजको प्रमुख सचिवालयमा प्रमुख सचिव पदबाट उमेरका हदले वि.सः ०५२ सालमा अवकास प्राप्त गरेका खनालले हालै अनुभूति र अभिव्यक्ति नामको आत्मकथाको पुस्तक प्रकाशमा ल्याएका छन् ।

त्यसो त रेवतीरमण खनाल नेपाली समालोचना र कानून विषयक लेखनका एक स्थापित हस्ताक्षर हुन् । खनाललाई राजा त्रिभुवनदेखि गद्दीच्यूत भएका राजा ज्ञानेन्द्रसम्मका प्रमुख सचिवहरूमध्ये योग्यतम मान्ने व्यक्तिहरू पनि धेरै छन् ।

कानून विषयमा पीएचडी हुनै लागेका बेलामा एउटा दुर्योगका कारण असफल भएका खनाल नेपालको संवैधानिक कानूनका विज्ञ मानिन्छन् र राजदरबार सेवामा पनि धेरै वर्षसम्म विशेष जाहेरी विभाग भन्ने मुलुकका नियमित अदालतहरूको समानान्तर, तर तुलनात्मकरूपले धेरै शक्तिशाली संस्थामा काम गरेका हुनाले खनालले जति गहिरोसँग नेपालको कानूनी दाउपेच अरूले बुझेको छैन भन्दा अत्युक्ति हुँदैन । त्यस्ता कानूनची र राजदरबारका बफादार सेवक रेवतीजीको यो आत्मवृत्तान्तले उनको सफल र आत्मसन्तुष्ट जीवनयात्राको कहानी राम्रोसँग प्रस्तुत गरेको छ ।

यसबाहेक यस ग्रन्थले नेपालको आधुनिकीकरणको प्रसव वेदना, प्रजातन्त्रको भू्रणमाथि समय-समयमा भएको अत्याचार र राष्ट्रिय इतिहासको विशाल फलकमा झुल्किएर अस्ताएका नायक-खलनायकहरूको इतिवृत्तलाई पनि दरबारको एउटा कुशल कर्मचारी तर राजनीतिक रूपले रुढाग्रही व्यक्तिको नजरबाट प्रस्तुत गर्दछ ।

रेवतीरमण खनालको दरबार प्रवेशको कहानी रोचक छ । उनी आफ्ना बाउबाजेले पुर्‍याएको सेवा र चाकरीका भरमा नभई आफ्नै बलबुँता र केही संयोगका कारण नारायणहिटी राजदरबारको उच्च ओहोदामा पुग्न सफल भएका थिए । उनको दरबार प्रशासनमा प्रविष्टि राजा महेन्द्रको कृपाबाट भएको थियो, जसका लागि उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वदायिनी शक्ति नेपाली कांग्रेस पार्टीको प्रखर विरोधीहरूको पंक्तिमा आफूलाई उभ्याएका थिए ।

खनालको जस्तो मानसिकता भएका व्यक्तिहरूले जसरी ऐतिहासिक तथ्यहरूलाई भाँचकुच गर्दै इतिहासकै अपव्याख्या गर्ने गर्दछन्, खनालले पनि त्यही नै गरेका छन्

तीनधारा पाकशालामा बसेर संस्कृत शिक्षा लिने बेलामा त्यहाँको वातावरणको प्रभावमा परेर रेवतीरमणले प्रजातान्त्रिक आन्दोलनमा धेरथोर योगदान गरेका भए पनि २००७ साल पछिको धमिलो राजनीतिक वातावरणमा जव दरबारले नै वामपन्थी लगायत विभिन्न तत्वहरूलाई उक्साएर प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयत्न गर्न थाल्यो, उसले रेवतीरमण प्रवृत्तिलाई आफ्ना बफादार गुमास्ताका रूपमा पायो र उपयोग गर्‍यो ।

त्यसै मेसोमा खनाल दरबारको सम्पर्कमा पुगेका र उनले केही समयपछि गद्दीनसीन हुन पुगेका महत्वाकांक्षी र तानाशाही सोच भएका महेन्द्रसँग सुमधुर सम्वन्ध बनाएको देखिन्छ । यो तथ्यलाई खनालले आफ्नो पुस्तकमा नलुकाई प्रस्तुत गरेका छन् ।

राजनीतिक रूपले आकण्ठ प्रजातन्त्रविरोधी र निरंकुश सत्ताका इमान्दार पूर्जा देखिन्छन् रेवतीरमण यस पुस्तकमा । खनालको जस्तो मानसिकता भएका व्यक्तिहरूले जसरी ऐतिहासिक तथ्यहरूलाई भाँचकुच गर्दै इतिहासकै अपव्याख्या गर्ने गर्दछन्, खनालले पनि त्यही नै गरेका छन् ।

२००७ सालको क्रान्ति र त्यसमा राजा त्रिभुवनको योगदानलाई लिएर जुन प्रकारको महात्म्य नारायणहिटी दरबारले प्रसार गर्दै आएको थियो र छ, रेवतीरमणले पनि त्यसैलाई पछ्याएका छन् । उनको निक्र्यौल छ- २००७ सालको क्रान्तिका सबैभन्दा ठूला नायक राजा त्रिभुवन हुन् । उनले नेतृत्व नगरेको भए त्यो क्रान्ति सफल हुन सक्ने थिएन ।

ऐतिहासिक तथ्यहरूले त्यसको पुष्टि गर्दैनन् भन्ने कुरा यस पंक्तिका लेखकले भनिरहनुपर्दैन । वास्तवमा राजा त्रिभुवनको भारत पलायनले राणा प्रधानमन्त्री मोहनशमशेरलाई भारतीय नेता जवाहरलाल नेहरुसँग राजनीतिक वार्ता गर्न मार्गप्रशस्त गरिदिएको थियो र भारतको दवावका कारण पूर्णरूपले सफल हुनेतर्फ बढिरहेको नेपाली कांग्रेसको नेतृत्वमा चलेको जनक्रान्तिलाई अधुरो, अपूरो छोड्नुपर्ने वाध्यात्मक स्थिति पैदा भएको थियो ।

राजा त्रिभुवनका हृदयमा प्रजातन्त्रप्रति कुनै लगाव वा प्रेम थिएन भन्ने कुरा त क्रान्तिका कारण शक्तिशाली राजाका रूपमा पुनस्र्थापित हुन सफल भएका उनले लगत्तैदेखि प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसलाई असफल पार्न अनेक षडयन्त्र गर्न थालेर प्रमाणित गरिदिएका थिए ।

त्यतिमात्र होइन, २००७ साल फागुन ७ गते राष्ट्रका नाममा दिएको आफ्नो सन्देशमा कबूल गरेको ‘जनताले चुनेका प्रतिनिधिहरूको विधानसभाले तयार गरेको संविधान अनुरूप नै नेपालको भावी शासन व्यवस्था चल्नेछ’ भन्ने कुरालाई पनि चटक्कै बिर्सिदिएर त्रिभुवनले सरासर राजनीतिक बेइमानी गरेका थिए ।

आश्चर्यको कुरा त के छ भने रेवतीरमण खनालले यस पुस्तकमा यी सबै कुराहरूलाई छोएकासम्म पनि छैनन् । २००७ सालदेखि २०१५ सालसम्मको अस्थिर र भद्रगोलपूर्ण राजनीतिक परिस्थिति पैदा गर्न खडा गरिएका अवाञ्छित तत्वहरूलाई महिमामण्डित गर्ने प्रयत्न गरेका छन् । खनालका दृष्टिमा डा. केआई सिंह, टंकप्रसाद आचार्य, ऋषिकेश शाहहरू नेपाली राजनीतिका महान् हस्तीहरू हुन् भने नेपाली कांग्रेसका वीपी कोइरालाहरू खलनायक ।

दरबारको वफादार कर्मचारी भएका कारणले मात्र होइन, आधारभूत रूपले नै कांग्रेसविरोधी मानसिकता बोकेका व्यक्ति भएका हुनाले रेवतीरमण खनालले यस देशको आधुनिकीकरणको प्रक्रियामा नेपाली कांग्रेस र त्यसका नेताहरूमध्ये पनि विशेषगरी वीपी कोइरालाले गरेको योगदानको अवमूल्यन गरेका र आफ्नो अवाञ्छित महत्वाकांक्षाको वशीभूत भर्खरै बस्न लागेको प्रजातन्त्रको जगलाई भताभुङ्ग पारी राष्ट्रलाई नै दशकौं पछाडि धकेल्ने राजा महेन्द्रको विरुदावली गाएका छन् ।

राजा महेन्द्रले २०१७ साल पुस १ गते सैन्य वलमा निर्वाचित सरकार र संसद भङ्ग गरी सम्पूर्ण सत्ता आफ्नो हातमा लिएपछि खनाल र उनीजस्तै केही व्यक्तिहरूलाई मुलुकभरिका प्रजातन्त्रवादी व्यक्तिहरूको चियोचर्चो गर्ने विशेष जिम्मेवारी दिनेगरी रोभिङ अफिसर भन्ने पदमा नियुक्ति दिएका रहेछन् ।

यस पुस्तकमा रेवतीरमण खनालले राजा महेन्द्रबाट गरिएको त्यो ‘कू’ को औचित्य पुष्टि गर्न जे-जस्ता तर्क प्रस्तुत गरेका छन्, ती सर्वथा गलत र बिना प्रमाण दिइएका तर्कजस्ता छन्

यसरी खनालको दरबार प्रवेश नै गलत उद्देश्य पूर्तिका लागि भएको देखिन्छ । उनले आफ्नो जिम्मेवारी दरबारले चाहे अनुसार पूरा गरेकाले नै हुनु पर्दछ, केही समयपछि उनले दरबारको प्रशासनमा स्थायी पदमा नियुक्ति पाए र अन्ततोगत्वा महत्वपूर्ण भारदारको तहमा पुग्न सफल भए ।

नेपाली राजनीतिमा २०१७ सालको काण्डलाई विभिन्न प्रकारले हेरिँदै आएको छ जसलाई अस्वाभाविक भन्न सकिँदैन । तर, यस पुस्तकमा रेवतीरमण खनालले राजा महेन्द्रबाट गरिएको त्यो ‘कू’ को औचित्य पुष्टि गर्न जे-जस्ता तर्क प्रस्तुत गरेका छन्, ती सर्वथा गलत र बिना प्रमाण दिइएका तर्कजस्ता छन् ।

उनले ठ्याक्कै दरबारको भाषा बोल्दै नेपाली कांग्रेसको सरकार भ्रष्टाचारमा लिप्त भएको, जनतामा असुरक्षाको भाव फैलिएको, राष्ट्रको वैदेशिक सम्वन्ध बिगि्रएको र जनताका बीच सद्भाव बिथोलिएकोले राजा महेन्द्रले शासन आफ्नो हातमा लिनुपरेको तर्क दिएका छन्, जसको पुष्ट्याइँका लागि एउटासम्म पनि प्रमाण दिन सकेका छ्रैनन् ।

जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले राजा महेन्द्रको अनादर गर्न खोजेको र आफूलाई राजाभन्दा माथि राख्न खोजेको जस्ता मनोगत आरोप पनि खनालले लगाएका छन् । तर, वीपीको लगभग १९ महिनाको कार्यकालमा उनले जहिले पनि राजा महेन्द्रलाई प्रशन्न राख्न चेष्टा गरेका कतिपय तथ्यहरू र राजाको देश दर्शनका क्रममा समेत एउटा सवारी मन्त्री खटाइदिए हुनेमा आफू स्वयम् पछि-पछि लागेर गएको जस्ता घटनाले खनालको आरोपको धज्जी उडाउँछन् । यो पुस्तकको राजा र वीपीको सम्वन्धको प्रकरण तयार गर्दा खनाल वस्तुपरक हुन सकेका छैनन् । त्यसको ठीक विपरीत उनले दरबारको कर्मचारीको दृष्टिकोण मात्र प्रस्तुत गरेका छन् ।

पुस्तकमा परेका राजदरबार प्रशासन र त्यसमा लेखक खनालको योगदानका भागहरूले भने निकै रोचक पाठ्य सामग्री प्रस्तुत गर्दछन् । नारायणहिटी राजदरबारको कार्यशैली बुझ्न र खनालले व्यहोरेका दुईजना राजा- महेन्द्र र वीरेन्द्रको चासो, चिन्तन र चर्याको तुलनात्मक अध्ययन गर्न पनि यो पुस्तकले महत्वपूर्ण सामग्री उपलव्ध गराएको छ ।

वीरेन्द्रको भन्दा महेन्द्रको बढी स्नेह र कृपा पाएका खनालले महेन्द्रकै बढी मुक्तकण्ठले प्रशंसा गरेका छन् जुन स्वाभाविक पनि हो ।

तर, खनालले आफ्नो जीवनको लगभग लगभग अन्त्यतिर राजा महेन्द्रमा पैदा भएको असफलतावोध, ग्लानी र जनअधिकार माथि गरिएको बलात्कारप्रतिको पश्चातापको भेउ नै पाउन नसकेको पनि थाहा हुन्छ यो पुस्तक पढ्दा ।

०२७ सालको आधाआधीतिर नै राजा महेन्द्रले आफूले स्थापित गर्न खोजेको स्वनिर्देशित पञ्चायत प्रणाली पूर्ण असफलतातिर बढ्दै गएकाले बहुदलको पुनस्र्थापनाको मार्गप्रशस्त गर्न सक्ने नयाँ संविधानको तर्जुमा गर्न चाहेको र त्यसका निम्ति शम्भुप्रसाद ज्ञवालीलगायत विधिवेत्ताहरूसँग परामर्श गरेको कुरा खनालले थाहा नपाएर हो वा नचाहेर, यस पुस्तकमा कहीँ पनि उल्लेख गरेका छैनन् ।

वि.सं. २०४६ सालको परिवर्तनपछि अन्तरिम सरकारको नेतृत्व कृष्णप्रसाद भट्टराईले गरेको समयमा रेवतीरमण खनाल राजा वीरेन्द्रका प्रमुख सचिव थिए र प्रधानमन्त्री र राजाका बीचका सम्पर्कसूत्र पनि । नयाँ संविधान तर्जुमाको गहन जिम्मेवारी समेत वहन गरिरहेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग अनेकपटक खनालको कार्यगत कुराकानी र भेटघाट भएको हुँदो हो ।

त्यसै समयमा दरबारले आफू अनुकूलको संविधानको एउटा मस्यौदा तयार गरेर प्रधानमन्त्रीकहाँ पठाएको र प्रधानमन्त्रीले त्यसलाई गोरखापत्र मार्फत सार्वजनिक गराइदिएको मात्र होइन, संविधान निर्माण गर्ने आयोगका वामपन्थी सदस्य निर्मल लामा मार्फत सडकमा विरोध प्रदर्शन गराएर निरस्त बनाएको तथ्यलाई खनालले बडो चलाखीका साथ पन्छाइदिएका छन् ।

त्यसै समयमा एक दिन मध्यरातमा राजालाई भेट्न आउनु भनी सचिवका हैसियतले प्रधानमन्त्री भट्टराईलाई यिनले टेलिफोन गरेको र भट्टराईले साँझ पछि आफूले कसैलाई पनि भेट्न जाने गरेको छैन भन्ने जवाफ दिएको एउटा रोचक र तत्कालीन शासकीय वृत्तमा फैलिएको प्रसङ्गको पनि खनालले कतै उल्लेख गरेका छैनन् ।

हो, यिनको हृदयमा सन्त नेता कृष्णप्रसाद भट्टराईप्रति सम्मानको भाव रहेको र भट्टाराईका समकक्षी नेता गिरिजाप्रसाद कोइरालाप्रति भने खासै आदरभाव राख्न नसकेको कुरालाई भने खनालले लुकाएका छैनन् । तर, अन्तरिम प्रधानमन्त्रीका हैसियतले कृष्णप्रसाद भट्टराईले तोकिएको समयभित्रै संविधान जारी गराएको मात्र होइन, स्वतन्त्र र निस्पक्ष चुनाव गराएर सत्ता हस्तान्तरण गर्न सकेको ऐतिहासिक उपलव्धिका लागि उनले पाउनुपर्ने प्रशंसा दिन भने खनालले कन्जुस्याइँ गरेका छन् ।

खासगरी दिवंगत रानी ऐश्वर्यको पारिवारिक पृष्ठभूमि, स्वभावगत कमजोरी, लालच र उनका पति शान्त र भीरू स्वभावका राजा वीरेन्द्रमाथि त्यसले पारेको दुष्प्रभावको खुलेरै चर्चा गरेका छन् लेखक खनालल

पुस्तकमा केही तथ्यात्मक त्रुटी पनि छन् । गृहमन्त्री वीपी कोइरालालाई भौतिक रूपले नै समाप्त पार्ने हेतुले उनको निवास त्रिपुरेश्वर गएका भरतशमशेरको खुकुरी दलका कार्यकर्ताहरूको मनसुवालाई गृहमन्त्री कोइराला स्वयम्ले गोली चलाएर आक्रमणकारीहरूमध्ये एकजनालाई ढाली असफल बनाइदिएको तथ्यको उल्टो खनालले आक्रमणकारीहरूमाथि गार्डले गोली चलाएको भनी लेखेका छन् ।

त्यतिबेलाको त्यो असफल षडयन्त्रका पछाडि रहेको तत्व खुकुरी दलको नामोल्लेख सम्म पनि कितावमा भएको छैन । फगत खुकुरी दलको पितृसंस्था गोर्खा परिषद्को मात्रै उल्लेख भएको छ ।

नेपाली कांग्रेसबाट छुट्टएिर २००९ सालमा मातृकाप्रसाद कोइरालाले खोलेको प्रजा पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी लेखिएको छ । पुस्तकमा अनेक ठाउँमा वीपी कोइरालाहरू र भारतीय समाजवादी नेता जयप्रकाश नारायणका बीच पारिवारिक सम्वन्ध थियो भनिएको छ, जुन सर्वथा गलत हो । वीपी र जयप्रकाश नारायण लगायत भारतीय समाजवादी नेताहरूका बीच विशुद्ध राजनीतिक बाहेक अरू कुनै सम्वन्ध थिएन ।

लेखक हरि अधिकारी
लेखक हरि अधिकारी

विक्रम सम्वत् २०१४ सालमा भएको ऐतिहासिक भद्र अवज्ञा आन्दोलनको उल्लेख त खनालको पुस्तकमा भएको छ, तर त्यो नेपाली कांग्रेसको नेतृत्वमा भएको थियो भन्ने कहीँ देखिँदैन ।

वास्तवमा त्यो आन्दोलन संविधानसभाको चुनाव गराउन, वा संविधान तर्जुमा गरी संसदीय चुनाव गराउन आनाकानी गरिरहेका राजा महेन्द्रको विरुद्धमा नेपाली कांग्रेस लगायत मुलुकका प्रमुख राजनीतिक शक्तिहरूले गरेको ऐतिहासिक सत्याग्रह थियो । त्यसको महत्वलाई लेखक खनालले जानीबुझी न्यूनीकरण गरेका छन् यस पुस्तकमा ।

सुपठीत र कानूनका उत्कृष्ट विद्यार्थी खनालले लेखेको यो पुस्तक भाषा, शैली र प्रस्तुतीकरणका हिसाबले उम्दा बनेको छ । वैयक्तिक उपलव्धिका हिसाबले खनाल सफल र सन्तुष्ट मानिस हुन्, जसलाई उनले लुकाएका पनि छैनन् । राजनीतिक स्कुलिङ नै पश्चगामी भएको र आफ्नो जीवनको सर्वतोमुखी उन्नति प्रगति दरबारकै कृपाबाट सम्भव भएकाले पनि खनालबाट इतिहासको सन्तुलित व्याख्या, विश्लेषण र प्रस्तुति हुन नसकेको बुझ्न सकिन्छ ।

दरबारका सन्दर्भमा लेख्दा उनले आँट गरेर केही अपि्रय तथ्यलाई अभिलेख गरेका छन् । खासगरी दिवंगत रानी ऐश्वर्यको पारिवारिक पृष्ठभूमि, स्वभावगत कमजोरी, लालच र उनका पति शान्त र भीरू स्वभावका राजा वीरेन्द्रमाथि त्यसले पारेको दुष्प्रभावको खुलेरै चर्चा गरेका छन् लेखक खनालले ।
दरबार हत्याकाण्डका सन्दर्भमा तत्कालीन शाही नेपाली सेना, दरबारको बिजुली गारद र शाही र निजामति प्रशासनका प्रधानमन्त्री लगायतका प्रमुखहरूको भूमिका माथि पनि खनालले औंलो ठड्याएका छन् । उनले उठाएका ती प्रश्नहरूमा सहमति जनाउन सकिन्छ ।

तर, आफ्नै राजारानीहरूको पनि सुरक्षा गर्न नसकिने किसिमले पंगु भइसकेको राजदरबार प्रशासनको एउटा पूर्जा भएर लामो अवधि काम गरेका खनालले राजदरबार प्रशासनका कमजोर पक्षहरूका बारेमा आफ्ना विचारहरू चाहिँ किन नदिएका होलान् भन्ने जिज्ञाशा पाठकको मनमा उठ्न सक्छ यो प्रसङ्ग पढिरहँदा ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?