शुक्रबारबाट देशव्यापी रिलिज भएको चलचित्र ‘छक्का पन्जा’ले अधिकांश हलमा हिन्दी चलचित्रलाई समेत विस्थापन गर्दैै नयाँ व्यापारिक रेकर्ड समेत बनाएको छ । २ हिन्दी चलचित्र ‘बार बार देखो र फिक्री अली’ नेपाली चलचित्रको अगाडि कमजोर देखिएका छन् । राम्रो चलचित्र बनाएको खण्डमा दर्शकले आफ्नै देशको चलचित्रलाई रुचाउँछन् भन्ने पुष्टी पनि यसले गरेको छ ।
शुक्रबार सुखद ओपनिङ गरेको यो चलचित्रले शनिबार भने आक्रामक व्यापार ग¥यो । शनिबार देशभरका सबैजसो हलमा दर्शकको चाप उच्च देखियो । काठमाण्डौका मल्टिप्लेक्समा समेत हाउसफूल भनेर लेखिएका बोर्ड टाँसिए । शनिबारको व्यापार सार्वजनिक भैसकेको छैन । तर, २ दिनमा चलचित्र करोड ग्रस क्लबमा प्रवेश गर्ने पक्का जस्तै छ ।
काठमाण्डौको गोपिकृष्ण हलमा २ बजेको शोमा ६ वटा हल हाउसफूल बनेको निर्माता तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । काठमाण्डौको अष्टनारायण हलमा पनि दर्शकको चाप उस्तै थियो । काठमाण्डौ बाहिरका पोखरा, चितवन, हेटौडा, धरान, इटहरी, विर्तामोड, दमकमा समेत दर्शकको चाप उच्च देखियो ।
शनिबार चलचित्रका कलाकार हल–हलमा पुगेका थिए । निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, नायिका प्रियंका कार्की हल–हलमा पुगेका थिए । काठमाण्डौको गोपीकृष्ण हल पुगेका कलाकार केदार घिमिरेलाई नायिका कार्कीले बोकिन् भने अंकमाल गर्दै चुम्बन गरिन् । केदार पनि दर्शकको भिड देखेर खुशी देखिए ।
नेपाली चलचित्र हेर्न दर्शक हलसम्म नपुगेको अवस्थामा ‘छक्का पन्जा’को व्यापारले फेरि चलचित्र क्षेत्रलाई गती दिएको छ । योसँगै दीपक र दीपाको जोडी निर्माणमा ह्याट्रिक गर्न सफल पनि भएको छ ।
जितु नेपाल, शिवहरी पौडेल, वुद्धी तामाङ, नम्रता सापकोटा, बर्षा राउत लगायतका कलाकारको समेत अभिनय रहेको यो चलचित्रको कथावस्तु, प्रस्तुती, पटकथा, हाँस्य पाटोलाई सर्वाधिक रुचाइएको छ ।
वर्ड अफ माउथ सुखद भएकाले पनि आइतबारबाट पनि व्यापार राम्रो हुने विश्लेषण गरिएको छ ।
तस्बिरः कमल प्रसाई
प्रतिक्रिया 4