+
+

छाप्रो मै उम्रिए जमरा, भूकम्प पीडितलाई आएन दशैं

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २४ गते ८:४५

jamara२४ असोज, भक्तपुर। भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आउनुभएकी रीता पोखाले पालभित्रै जमरा उमारेका छन् ।

गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएका पोखाले साँघुरो छाप्रो मै जमरा उमार्नु भएको हो ।

सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दशेंमनाउने योजना भने नभएको उहाँ बताउछन् ।  पोखा भन्छन्  “दशैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसँै, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दशैं आएजस्तै छैन ।”

यही शिविरको पालमा बस्दै आएका कमल विनायकका राजु सुवालको पनि उस्तै छ समस्या । तीनजना परिवार रहेको उनले भने भत्किएको घरको छिँडीमा जमरा उमारे पनि दशैंको तयारी भने नगरेको बताउछन् । उनी भन्छन्˗ “शिविरको दसैँ के रमाइलो हुनु, विगतको जस्तो दशैं हुँदैन यसपालि, दशैंको लागि कुनै सामान किनेको छैन, टीका जमरा लगाउनेबाहेक अरु केही हुँदैन यस वर्ष ।”

सरकारले घोषणा गरेको रकम दिए छाप्रो हालेर अरुको जग्गा भाडामा लिएरै भए पनि तरकारी खेती गरेर बाँच्न सकिने बताउने उनीहरु सरकारको आशै आशामा डेढ वर्ष बितेको बताउँछन् ।

शिविरमा बस्दै अाएकी क्वाठडाैंकी चन्द्रलक्ष्मी मानन्धरको समस्या पनि उस्तै नै छ । एउटा पालभित्र सातजनाको परिवार बस्दै आएका मानन्धर परिवारले पनि दशैंको कुनै जोहो गरेका छैनन् । दुईजना देवरानी जेठानीले टोपी, मोजा, पन्जा बुनेर आम्दानी गरेको दिनको रु १०० ले परिवार धान्नै मुस्किल छ ।

मानन्धर भन्छन् ˗ “कमाइ छैन, बुनाइको पैसाले सातजनाको परिवार पाल्न पुग्दैन, ऋण गरेर टार्दै आएका छाैं, दशैंको कुनै तयारी छैन, दशैंमा पाहुना बोलाएर भोज खुवाउनु पर्छ, यस वर्ष त पाहुना पनि नबोलाउने भएका छौँ ।”

शिविर छाडेर भत्किएकै घरको छिँडीमा गएर बस्नुभएकी क्वाठडाँैकी रेनुका सुवालको पीडा पनि कम छैन । शिविरमा बस्दै आएकी उहाँले दशैं आएपछि जमरा राख्नकै लागि एकसाता अघि भत्किएको घरको छिँडीमा गएर बसेको उनले बताए ।

उनले भने  “भूकम्पले भत्काएको घरमा गएर बसेका छाैं दशैंको कुनै तयारी छैन, घरमा गएदेखि घर भत्किन्छ कि भन्ने डरले कोही पनि निदाउन सक्दैनौँ, जिन्दगी साह्रै कठिन भयो ।”

भक्तपुरको व्यासीस्थित शिविरमा बस्दै अाएकी ७४ वर्षकी कृष्णकुमारी सुवाललाई पालभित्र चिसो आउन थाले पछि बिरामी परेको बताउँछिन्  ।उनी भन्छिन्˗ “भुइँमा पानी आउँछ, माथिबाट बिहानी पख पालबाट शीत चुहिन्छ, शिविरमा बाँच्नै गाह्रो भो, जाने ठाउँ छैन, यस्तो बेलामा के मनाउनु दशें ।”

यही शिविरमा बस्दै अाएका रामकृष्ण र रमिता सुवाल दम्पतीको समस्या पनि उस्तै नै छ । शिविरमा बसेदेखि नै मानसिक तनाबका कारण विरामी परेको रमिता बताउछिन् ।

दशैंको कुनै तयारी नभएको बताउँदै सुवाल दम्पतीले ग्यास नहुँदा कहाँ पकाएर खाने भन्ने चिन्ता भएको बेलामा यो साँघुरो पालभित्र पाहुना बोलाएर दशैं मनाउन सक्ने अवस्था नभएको बताउँछन् ।

भक्तपुरका अधिकांश शिविरका भूकम्पपीडित बस्दै आएका शिविरमा यस वर्ष दशें कुनै रौनक छैन भने यस वर्षको दशैं कै खल्लो हुने शिविरका बासिन्दा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?