+
+

भोकमरी सूचकांकमा नेपाल दक्षिण एसियामा सबैभन्दामाथि

कुन कुन हुन् सबैभन्दा भोकमरी ग्रस्त देशहरु ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २८ गते १०:५२

balbalika२८ असोज, काठमाडौं । विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औँ स्थानमा परेको छ । कूल १ सय १८ वटा विकाशशील राष्ट्र सम्मिलित उक्त सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकहरुमा सबैभन्दा राम्रो अवस्थामा रहेको देखिएपनि सूचकांकको हिसाबले नेपालमा भोकमरीको अवस्था भने गम्भीर नै रहेको पाइएको छ ।

सूचकांक अनुसार नेपालमा कुल जनसंख्याको ७.८ प्रतिशत कुपोषित रहेको देखिएको छ । त्यस्तै पाँच वर्ष भन्दा कम उमेरका बालबालिकामा चरम कुपोषणको दर ११.३ प्रतिशत रहेको छ । त्यस्तै पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपनाको दर ३७.४ प्रतिशत र पाँच वर्ष मुनिका बालबालिकामा मृत्युदर ३.६ प्रतिशत रहेको छ । भोकमरी सूचकांकमा नेपालले कुल २१.९ अंक पाएको छ ।

गत वर्ष १०४ देश सम्मिलित सूचिमा नेपाल ५८ औँ स्थानमा थियो भने नेपालले सूचकांकमा कुल २२.२ अंक पाएको थियो । यस हिसाबले नेपालले भोकमरीको खतरा घटाउने दिशामा प्रगति गरेको देखिएको छ ।

भोकमरीको जोखिमको हिसाबले नेपालको अवस्था दक्षिण एसियामा सबैभन्दा सन्तोषजनक रहेको रिपोर्टले देखाएको छ । नेपालमा भन्दा दक्षिण एसियाका अन्य मुलुकहरुमा भोकमरीको अवस्था अझै गम्भीर रहेको देखिएको छ । दक्षिण एसियामा श्रीलंका ८४ औँ स्थानमा छ भने भारत ९७ औँ स्थानमा छ । त्यस्तै बंगलादेश ९० औँ र पाकिस्तान १०७ औँ स्थानमा रहेका छन् । दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा तल अर्थात् १११ औँ स्थानमा रहेको छ । भुटान र माल्दिभ्सलाई भने उक्त सूचकांकमा समावेश गरिएको छैन ।

विश्व भोकमरी सूचकांक अनुसार विश्वमा भोकमरीको सबैभन्दा कम जोखिममा रहेको देश अर्जेन्टिना हो । भोकमरीको कम जोखिममा रहेका पहिलो ५ देशहरुमा अर्जेन्टिना, बेलारुस, बोस्निया एण्ड हर्जगोभिना, ब्राजिल र चिली रहेका छन् ।

त्यस्तै भोकमरीको सबैभन्दा बढि जोखिममा मध्य अफ्रिकी गणतन्त्र रहेको छ । भोकमरी सूचकांकको सबैभन्दा पुछारबाट पाँचौँ स्थानसम्म रहेका देशहरुमा मध्य अपि|mकी गणतन्त्र, चाड, जाम्बिया, हाइटी र मडागास्कार रहेका छन् । सूचकांकमा चीन २९ औँ स्थानमा रहेको छ ।

के हो भोकमरी सूचकांक ?

अन्तराष्ट्रिय खाद्य नीति अध्ययन संस्था -आइएफपिआरआइ) ले हरेक वर्ष विश्वव्यापी, क्षेत्रिय तथा राष्ट्रिय रुपमा भोकमरीको अवस्थालाई वृहत रुपमा मापन गर्नका लागि विश्व भोकमरी सूचकांक अर्थात् ग्लोबल हंगर इन्डेक्ट सार्वजनिक गर्ने गर्दछ । यो सूचकांकको माध्यमबाट विश्वभर भोकमरीको विरुद्धमा चलिरहेको अभियानको उपलब्धी तथा त्यसको सफलता असफलतालाई दर्शाउने गरिन्छ । यो पटक ग्लोबल हंगर इन्डेक्स रिपोर्टलाई संयुक्त राष्ट्रसंघको दिगो विकाश एजेण्डासँग पनि आबद्ध गरिएको छ । सन् २०३० सम्म प्राप्त गर्ने भनिएको दिगो विकाश एजेण्डा अन्तरगत एउटा लक्ष्य भोकमरीलाई शून्य पार्ने पनि हो ।

कसरी बुझ्ने भोकमरी सूचकांकलाई ?

ग्लोबल हंगर इन्डेक्सको अंक बढि हुनु भनेको उक्त देशको भोकमरीको समस्या बढि हुनु हो । त्यस्तै कुने देशको भोकमरी सूचकांक कम हुनु भनेको भोकमरीकेा समस्या कम हुनु हो । जस्तै भारतको सूचकांक २८.५ छ भने नेपालको २१.९ रहेको छ ।

कुल जनसंख्याको कुपोषणको दर, शिशुहरुमा गम्भीर कुपोषणको दर, बालबालिकामा पुड्कोपना तथा बाल मृत्युदर जस्ता सूचकहरुको आधारमा भोकमरी सूचकांक तयार गर्ने गरिन्छ ।

भोकमरीको अवस्थामा उल्लेख्य सुधार

रिपोर्ट अनुसार सन् २००० यता विश्वका विकाशोन्मुख देशहरुमा भोकमरीको समस्यामा उल्लेख्य सुधार आएको छ । सन् २००० मा विकाशोन्मुख देशहरुको औषत भोकमरी सूचक ३० रहेकोमा यो वर्षको औषत सूचक २१.३ रहेको छ । अर्थात् पछिल्लो १६ वर्षमा विश्वका विकाशोन्मुख देशको भोकमरीको अवस्थामा २९ प्रतिशतले कमी आएको छ ।

रिपोर्ट अनुसार साउथ सहारा अफ्रिका र दक्षिण एसियामा भोकमरीको अवस्था सबैभन्दा उच्च रहेको छ । साउथ साहारा अफ्रिकी देशहरुको औषत भोकमरी सूचक ३०.१ रहेको छ भने दक्षिण एसियाली देशहरुको औषत सूचक २९ प्रतिशत रहेको छ । पूर्वी तथा दक्षिणपूर्वी एसिया, उत्तरी अपि|mका, ल्याटिन अमेरिका, क्यारेबियन क्षेत्र, पूर्वी युरोप लगायतमा भोकमरीको अवस्था मध्यम तथा न्यून अवस्थामा रहेको रिपोर्टले देखाएको छ ।

रिपोर्ट अनुसार विश्वमा ५० देशको भोकमरीको अवस्था अझै गम्भीर तथा चिन्ताजनक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?