विसङ्गति एक
काठमाडौंको चावहिलमा कपन जाने दुईथरी बस पाइन्छन् । ठेलमठेल हुन्जेल यात्रु कोचिए पनि उही कम्पनीको अर्को बस नआई ती गुड्दैनन् । मानौं ती गुड्नलाई बनेकै होइनन् ।
ती बस चढ्नुभो भने सिट पाए त ठीकै हो, आरामसँग बस्न पाउनुहोला । नत्र अर्को गाडी नआउन्जेल उभिएर ठेलिएको ठेलियै,खाँदिएको खाँदियै । एक घण्टासम्म पनि अर्को बस आएन भने एकै घण्टा त्यसैगरी खाँदिएर, पेलिएर उभिनुपर्ने हुन्छ । बिरामी, बूढाखाडा,बच्चा बोकेका आमाहरू त्यसरी उभिए एकाध दयावानले सिट छोडि पनि देलान् ।
सिटै नपाए पनि बाध्यताले यात्रा गर्नुपर्दा कुनै गुनासो नरहला । तर,हटटाकट्टा युवायुवतीहरू पनि अलिकति हिंड्न नसकेर सहचालकको अपमान सहँदै कोचिएर यात्रा गरेको देख्दा भने उदेक लाग्छ । चावहिलबाट दस मिनेटको पैदल दूरीमा रहेको साततले जाने यात्रु पनि चढेका हुन्छन् । जाबो दस मिनेटको पैदल दूरीका लागि पनि आधा घण्टाभन्दा बढी समय गाडीमा कोचिएर यात्रा गर्ने अद्भूत यात्री भएपछि बसहरूको सिन्डिकेट र मनोमानी मौलाउने नै भयो ।
लगभग यस्तै दृश्य कपन आकाशेधाराबाट रत्नपार्क जाने माइक्रोबसमा पनि देखिन्छ । आकाशेधाराबाट सुकेधारा हिँडेर जाँदा पन्ध्र मिनेटमा पुगिन्छ । माइक्रोबस आकाशेधाराबाट नै भरिइसकेको हुन्छ । बस्ने सिट त भरिने नै भए । उठ्ने ठाउँ समेत हुँदैन । त्यस्तोमा पनि यात्रु माइक्रोमा घुस्रिहाल्छन् । न उनीहरू छिटो पुग्छन्, न सुबिस्तासँग । यस्तो देख्दादेख्दै आखिर हामी किन चढछौं ? हिंडेर जाँदा हाम्रो इज्जत जान्छ र ?
साँच्चै हामीलाई हिंड्न सारै गाह्रो नै लाग्छ । आधा घण्टा हिँडे पुगिने ठाउँको लागि एक घण्टा बस कुरेर भए पनि ठेलमठेलमा यात्रा गर्न स्वाद मान्छौं । अलिअलि हिँड्ने बानी गरे सार्वजनिक यातायातमा आफूले कष्ट खेप्नुपर्थेन, साथै भिडभाड अलिक कम हुन्थ्यो कि !
विसङ्गति दुई
काठमाडौंमा अचेल बस स्टेसनहरू निकै थपिएका छन् । बसवालाहरूको यात्रु कोच्ने गर्ने रणनीति हो वा हामी यात्रुहरूको सौखिन बानीले हो, थाहा छैन ।
महाराजगन्ज वारि पनि रोक्नुपर्ने, पारि पनि रोक्नुपर्ने । चावहिल स्तूपामा पनि रोक्नु पर्ने, चावहिल पारि पनि रोक्नुपर्ने । एयरपोर्ट वारि पनि रोक्नुपर्ने, पारि पनि रोक्नुपर्ने । सिनामंगल उकालो,सिनामंगल ओरालो, सिनामंगल तेर्सो इत्यादी अचेलका बस स्टेशनहरू हुन् । नजाने यस्ता कति नयाँ बस स्टेसन थपिएका छन्, लेखाजोखा छैन ।
यहाँ पनि त्यही कुरा दोहोर्याउन मन लाग्छ- अलिकति हिँड्नै नहुने हो र ? माइक्रो बसमा यात्रा गर्दा ओर्लिनुपरेमा त झन् पन्ध्र सेकेण्डको पैदल दूरीमा हामी रोकिदिन्छौं । पन्ध्र सेकेन्ड अगाडि एउटा यात्रु उत्रन्छ, पन्ध्र सेकेन्ड पछि अर्को । अनि हुँदैन त ट्राफिक जाम ? फेरि जाम भयो भनेर हामी नै कराउँछौं र दु:खी हुन्छौं । ट्राफिक प्रहरीलाई नालायक भन्छौं । सरकारलाई सराप्छौं ।
अर्को कुरा, बसवालाहरू यात्रु चढाउनुपर्यो भने जहाँ पनि रोकिदिन्छन् तर ओराल्नुपर्यो भने चाहिँ तिनले तोकेको मनमौजी स्टेसनमा मात्रै । चढाउनुपर्यो भने कुनै हतार नगरी जति समय पनि रोकिदिन्छन्, ओराल्नुपर्यो भने संसारमा सबैभन्दा हतार तिनैलाई हुन्छ । एउटा निश्चित विन्दूमा स्टेसन तोकेपछि त्यहीँ मात्रै चढ्ने–उत्रिने र चढाउने–ओराल्ने गरेमा जाममा केही राहत हुन्थ्यो कि !
विसङ्गति तीन
बस टनाटन भरिएर उभिने ठाउँ नहुँदा पनि गाडीको ढोका पिट्दै घाँटी फुट्ने गरी चिच्याउँदै गाडी रोक्न छाड्दैनन्, ‘ए बालाजु, स्वयम्भू,कलंकी आयो भाले गाडी ।‘
एक जना यात्रु कराए ‘ए भाइ, स्वयम्भू, कलंकी भनेर मात्रै पुगिन्छ कि गाडी गुड्नु पनि पर्छ ?’
यति के भनेका थिए, उनले सहचालकबाट उचित ‘सम्मानवाणी‘ पाए । हतार भए ट्याक्सी चढेर जाने सुझाव पनि पाए । अरू सब यात्रु मौन । मानौं स्तरीय सेवाको दरकार र हतार उनी एक यात्रुको मात्र चिन्ताको विषय हो ।
एक पटक बालाजु नयाँ बसपार्कबाट भक्तपुर जान भनेर हिँडियो । महाराजगन्ज आएपछि कुनै नयाँ महाराजको सवारीको कारण जाममा फसियो । करिब एक घन्टापछि बल्लतल्ल जाम त खुल्यो, तर गाडी एकदमै बिस्तारै गुड्यो । महाराजगञ्जबाट चावहिल पुग्न आधा घन्टा लाग्यो । यात्रुले करिब भरिइसकेको बस आरामसँग साइड लगाएर यात्रु बोलाउँदै पन्ध्र मिनेट रोक्यो । बल्ल त्यहाँबाट हिंडे पनि जाम पूरा नखुलेकोले आधा घन्टा लगाएर गौशाला पुग्यो ।
खुट्टो हाल्ने ठाउँ नभएको बस फेरि रोकियो । दुई–चार यात्रु खाँदियो पनि । पछाडि झ्यालबाट हात घुसारेर ‘अलि पछाडि जानुस्‘ भन्दै मान्छे खाँदियो । खाल्डोमा सिन्की पनि त्यसरी खाँदिन्न होला ।करिब बीस मिनेटपछि बल्ल गाडी गुड्यो । सायद बसलाई पनि दिक्दारीबोध हुँदो हो, गह्रौं भारी बोकेको गधा झैं मन नलागीनलागी हिँड्यो ।
एकजना यात्रुले बसभित्रै बान्ता गरे । त्यस्तो भिडमा यात्रुहरूको के हविगत भो होला, आफैं अनुमान लगाउन सक्नुहुन्छ । वरपरका यात्रुको लुगा ‘बान्ताको बाछिटा’ ले रंगिए । गन्ध सहन नसकेर धन्न दुई–चार जना यात्रु झरे अनि नाक थुन्ने अवसर पाइयो । अलिक पर पुगेपछि अर्का यात्रुले आफ्नो पर्स हरायो भन्दै बबाल गर्न थाले । हत्तपत्त आफ्नो पर्स छामेँ, धन्न रै‘छ भन्दै सन्तोषको सास फेरेँ ।
हामी यात्रु साह्रै सन्तोकी छौं । सितिमिति गुरूजी र सह–गुरूजीहरूलाई अप्ठेरोमा पार्दै पार्दैनौं । जे–जस्तो सहनुपर्ने बरू आफैं सहिदिन्छौं । उहाँहरूको गोरखधन्दामा डिस्टर्ब गर्दैनौं ।
विसङ्गति चार
हामी यात्रु समायोजन गर्नमा बडो कुशल छौं । उल्टो–सुल्टो जस्तो सिटमा पनि समायोजन भइदिन्छौं । कुखुरा बनेर पनि यात्रा गरिदिन्छौं । बाँस झैं नुहिएर अनि कपास झैं हल्का भैदिएर पनि यात्रा गर्छौं । कहिले दुई जनाको सिटमा तीन जना बसेर अनि कहिले ठाउँ–कुठाउँ जहाँ पनि बसेर यात्रा गरिदिन्छौं ।
कहिले मुडामा त कहिले कसैको घुँडामा जता पनि बसेर लामो–छोटो जुनसुकै दूरीको यात्रा गरिदिन्छौं । ट्राफिक प्रहरीको आँखा छल्न पाएमा छतमा बसेर पनि गन्तव्य पुग्छौं । मौका मिल्दो हो त बसवालाहरूले यात्रुलाई डिकीमा पनि कोच्दा हुन् र हामी कोचिँदा पनि हौं । अझ तिनले गाडीको सबै सिट हटाएर उभिने ठाउँ मात्रै राख्दा हुन् र हामी त्यसमै अभ्यस्त भएर यात्रा गर्दा हौं । हाम्रो यही अद्भूत बानीको फाइदा गाडीवालाले उठाइरहेका छन् । अति जरूरी अवस्थामा बाहेक कहिलेकाहीँ बहिष्कार गर्ने बानी गरे त्यस्ता गाडीवाला आफैं साइजमा आउँथे कि !
केही समयअघि ट्राफिक प्रहरीले माइक्रोबसको अगाडि रहेको उल्टो सिट हटाउने अभियान थाल्यो । माइक्रोबसवालाले त्यस्तो सिट त हटाए, तर त्यो ठाउँमा यात्रु कोच्न छाडेनन् । बरू पहिले त्यहाँ सुबिस्तासँग गद्दामा बस्न पाइन्थ्यो । ट्राफिक प्रहरीको नीति राम्रो भएर के गर्नु, माइक्रोवालाको नियत खराब भएपछि ।
विसङ्गति पाँच
अब एकछिन काठमाडौंको महानगर यातायातबारे कुरा गरौं ।काठमाडौंका सडकमा महानगर यातायातका बसहरू गुड्न थालेको धेरै भएको छैन । यसलाई असफल बनाउन तोडफोडका तिकडम पनि भए । केही नलागेपछि अहिले यसको नक्कली भर्सन सुरू भएछ ।
असल कुरोको नक्कल असल नियतका साथ गरिन्छ भने त्यसलाई अन्यथा मानिनु हुन्न । तर, नियत असल छैन भन्ने कुराको संकेत तोडफोडको काण्डले नै पुष्टि गरिसकेको हो ।
हेर्दाखेरि उस्तै रूप–रङको देखिने बस हेरेर महानगर यातायात आयो भन्दै खुसी हुँदै चढियो, त्यो त नक्कली रहेछ । ‘तपाईं सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ‘ भनेर लेखिटोपलेको पनि रहेछ । अनि एउटा खेलौना सीसी क्यामरा पनि राखेको रहेछ । सक्कली महानगर यातायातले झैं कम्प्युटर प्रणालीबाट स्वचालित रूपमा तपाईं अहिले यहाँ हुनुहुन्छ, त्यहाँ हुनुहुन्छ भन्दै अरू मीठा कुरा पनि भनेको सुनियो ।
अलि पर पुगेपछि त बिरालोले ‘म्याउँ‘ गरिछाड्यो । अर्थात् ढोका फुटुन्जेल हिर्काउने, घोक्रो फुटुन्जेल चिच्याउने अनि यात्रु कोचेर हुर्मत लिने क्रम सुरू भइहाल्यो । नक्कली महानगरको बस नम्बर चार अंकको हुँदो रहेछ भने सक्कलीको तीन अंकको ।
सक्कलीले बाहिर प्रष्टै देखिने गरी झ्यालको माथि युनाइटेड सिमेन्टको विज्ञापन गरेको देखिन्छ भने नक्कलीमा त्यो देखिएको छैन । भोलि–पर्सि यात्रु झुक्याउन ती नक्कलीका स्वामीहरूले युनाइटेड सिमेन्टको नि:शुल्क विज्ञापन पनि नगर्लान् भन्न सकिन्न ।
कदाचित् तिनले अहिले सक्कली महानगरको झैं सेवा सुविधा दिए पनि शंका गर्ने ठाँउ छ । सुरुसुरुमा महानगरको झैं सेवा दिने र पछि सक्कली महानगर यातायात विस्थापित गरिसकेपछि आफ्नो गोरखधन्दा ब्युँताउने तिनको ध्येय होला । यात्रुलाई गुणस्तरीय सेवा दिएर मेवा कमाउने ध्येय तिनको हुँदो हो त किन नक्कलीको सहारा लिन्थे ? आफ्नै नामबाट त्यस्तो पुनीत कामको शुभारम्भ गर्थे नि ।होइन र ?
आखिर त्यत्रा यात्रु महानगर बस एक्लैले बोकेर सक्ने पनि होइन क्यारे !
प्रतिक्रिया 4