+
+

३४ किलो सुन काण्डः सरकारी कर्मचारीलाई पहिलो पटक संगठित अपराधमा मुद्दा चल्ने

रमेश धमला रमेश धमला
२०७३ पुष २९ गते १७:५४

gold-2

२९ पुस, काठमाडौं । ३४ किलो सुन काण्डमा संग्लग्न रहेको आरोपमा पक्राउ परेका भन्सारका दुई कर्मचारीलाई संगठित अपराधमा मुद्दा चल्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा तथ्यांक अधिकृतको रुपमा कार्यरत श्रीनारायण यादव र एक्स रे टेक्निसियनको रुपमा कार्यरत राजकुमार ढकाललाई सीआईबीले संगठित अपराध अन्तर्गत मुद्दा चलाउने भएको हो ।

बिहीबार घरबाटै पक्राउ परेका यादव र ढकाल दुवैलाई सीआईबीले १८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । गत बिहीबार दुवईबाट सुन बोकेर आउने गोपाल शाही, विमानस्थलमा सुन लिन जाने सन्तोष काफ्ले र दिलबहादुर थापाको यसअघि नै म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

उनीहरुकै बयानका आधारमा बिहीबार पक्राउ परेका भन्सारका दुई कर्मचारी यादव र ढकालको सुन तस्करीमा संलग्नता देखिएपछि उनीहरुविरुद्ध पनि संगठित अपराधमै मुद्दा चलाउन लागिएको हो ।

सीआईबी स्रोतका अनुसार सुन काण्डमा समातिएका सबैलाई संगठित अपराधमा मुद्दा चलाउन गृह मन्त्रीले नै निर्देशन दिएका छन् । अनुसन्धानमा संग्लग्न एक अधिकृतले अनलाइनखबरसँग भने, ‘गृहमन्त्रीले तस्करीमा साथ दिने हरेक कर्मचारीलाई पक्राउ गरेर संगठित अपराधमा मुद्दा चलाउने स्पष्ट आदेश दिएकाले बिहीबार समातिएकालाई संगठित अपराधमा मुद्दा चलाउन सम्भव भएको हो ।’

सीआईबी प्रमुख डिआइजी नवराज सिलवालले सुन काण्डमा संग्लग्न सबैलाई कारवाहीको दायरामा ल्याउने र संगठित अपराधमा मुद्दा चलाउने बताए ।

सरकारी कर्मचारीलाई पहिलो पटक

सीआईवीले सुन बरामद हुने वित्तिकै राजश्वमा बुझाउने परम्परालाई तोड्दै आफैंले अनुसन्धान गरेर पहिलो पटक संगठित अपराधमा मुद्दा चलाउन लागेको हो ।

यसअघि विभिन्न अभियोगमा सरकारी कर्मचारीहरु पक्राउ परेको भए पनि संगठित अपराधमा मुद्दा चलाउने लागिएको यो पहिलो पटक हो ।

संगठित अपराधमा मुद्दा चलाउने कि नचलाउने भनेर सीआईबीले गृहमन्त्री र महान्याधिवक्तासँग कुरा गरेको थियो । दुवै निकायले साथ दिएपछि यस पटकको अनुसन्धानमा सजिलो भएको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए ।

संगठित अपराधको मुद्दामा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ भने जन्म कैद सम्मको सजाय हुन सक्छ ।

प्रहरीका अनुसार तीन वा तीन भन्दा बढी मिलेर गरेको ३ वर्ष भन्दा बढी सजाय हुन सक्ने अपराधका आरोपीलाई संगठित अपराधमा मुद्दा चलाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?