photo source: clipartfest.com
२२ माघ, काठमाडौं । ग्राहकलाई कबुल गरिएजत्तिको ‘इन्टरनेट स्पीड’ नदिने सेवा प्रदायक कम्पनीलाई सरकारले कारवाहीको तयारी गरेको छ । भनेजति स्पीड नदिएर ठगी गर्ने र झुक्याउने कम्पनीले अब ग्राहकलाई नै क्षतिपूर्ति दिनुपर्ने ब्यवस्था गर्न लागिएको हो ।
अहिले धेरै जसो इन्टरनेट सेवा प्रदायकले सम्झौता जतिको इन्टरनेट स्पीड पाएका छैनन् । कम्पनीले ‘फाष्ट इन्टरनेट’को पैसा उठाएपनि इन्टरनेटको गति भने सुस्त हुने समस्याले सेवाग्राही प्रताडीत छन् ।
सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले केही समयभित्रै टेलिकम सेवामा प्रतिवद्धताअनुरुप गुणस्तरीय सेवा नदिने कम्पनीलाई कारवाही स्वरुप ग्राहकलाई क्षतिपूर्ति दिने ब्यवस्था गर्न लागिएको बताए । उनले यति गतिको इन्टरनेट दिन्छु भनेर पैसा उठाएपछि कुनैपनि बाहानामा कम स्पीड दिने कुरा स्वीकार्य नहुने बताए ।
‘अब ५ सय १२ केपिबिएसको इन्टरनेट जोडेका ग्राहकले २४ घण्टै त्ति नै गतिको इन्टरनेट पाउनुपर्छ’ सचिव गुरुङले टेलिकमको वाषिर्कोत्सब समारोहलाई सम्बोधन गर्दै भने,’अब ५१२ केपिबिएसको स्पीड भनेर २५६ स्पीडको इन्टरनेट दिनेले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्छ ।’
उनले यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि बनाउन लागेको जानकारी दिए । कार्यबिधिमार्फत ग्राहकलाई भनेको जत्ति गुणसतरको सेवा नदिने इन्टरनेत तथा टेलिकम कम्पनीलाई ग्राहकलाई क्षतिपूर्ति दिन बाध्य पारिने उनले बताए ।
आमसञ्चार नीति पुनरावलोकनका क्रममा भएको छलफलमा मन्त्रालयले प्राधिकरणलाई ग्राहकलाई झुक्याउने टेलिकम सेवा प्रदायकलाई क्षतिपूर्ति तिर्नुपर्ने गरी ब्यवस्था तत्काल गर्न निर्देशन दिएको जानकारी दिए ।
यसरी ठगी गर्ने कम्पनीले कति र कसरी क्षतिपूर्ति दिनेछन् भन्ने टुंगो कार्यबिधिबाटै लाग्नेछ ।
‘यो ब्यबस्थाले टेलिकमलाई पनि समस्यमा पार्छ, किनभने यस्तो समस्या यहाँ पनि छ । अब टेलिकमले पनि ग्राहकलाई झक्याउनु हुँदैन’ टेलिकम सञ्चालक बोर्डका अध्यक्ष समेत रहेका सचिव गुरुङले भने,’बजारमा प्रतिस्पर्धाका लागि सरकारले लिएका यस्ता नीतिलाई चुनौति र अवसरका रुपमा सदुपयोग गरेर सेवाको गुणस्तर सुधार्न लाग्नुपर्छ ।’
कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगमबर झाले अब तामाको तारमा भर परेर एडिएसएललाई माया गरि नराख्न टेलिकमलाई आग्रह गरे ।
उनले भारतमा रिलायन्स जिओ प्रगतिको उदाहरण दिँदै पुराना प्रविधिलाई च्यापेर बस्दा टेलिकमले आफ्नो मार्केट सेयर गुमेकोको कुरा भुल्न नहुने बताए ।
‘टेलिकमले नाफा त बढाइरहेको छ । तर, प्रतिस्पर्धी कम्पनीले मार्केट सेयरमा टेलिकमलाई जित्दैछ । यो सरकारी स्वामित्वको कम्पनी भएकाले पनि यसले मार्केट सेयर गुमाउनु ठिक होइन’ एनसेलतर्फ संकेत गर्दै झाले भने ।
प्रतिक्रिया 4