ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि चार किलोमिटर दूरीमा वनको बीच भागमा रहेको छ गुम्बाडाँडा । डाँडामा गुम्बा रहेकोले त्यसैको आधारमा नाम राखिएको यस ठाउँमा ९० घर छन् ।
सुकेटार विमानस्थलदेखि तीन किलोमिटर तल पर्ने यो बस्तीको नौ घरमा स्थानीयले होमस्टे सेवा सुरु गरेका छन् । पाथीभरा मन्दिरका भक्तजन र अन्य आन्तरिक पर्यटकलाई लक्षित गरी चार वर्षअघि उनीहरुले सेवा सञ्चालनमा ल्याएका हुन् ।
तर, सडक सञ्जालसँगै जोडिएको ठाउँ भएर पनि होमस्टेमा पर्याप्त पाहुनाहरु नआएको स्थानीय बताउँछन् । होमस्टेमा आकर्षण बढाउन गुरुङ समुदायको सांस्कृतिक संग्रहालय बनाइनुका साथै नजिकै छ्योर्खोलिङ गुम्बा समेत रहे पनि खासै चहलपहल देखिँदैन ।
गुम्बाडाँडा होमस्टेकी अध्यक्ष पूर्णकुमारी गुरुङले प्रचारप्रसारकै अभावमा पर्यटक आगमन हुन नसकेको बताइन् । ‘त्यसका लागि हामीले अब पाथीभरा मन्दिर जाने बाटोमा सूचना बोर्ड राख्ने योजना बनाएका छौं’, उनले भनिन् ।
तर, धेरैजसो ठाउँका होमस्टेमा जस्तै यहाँ पनि होमस्टेको न्यूनतम अवधारणामा ध्यान नदिँदा आगन्तुकहरु भित्रिन नसकेको महसुस हुन्छ । पाहुनालाई स्थानीय अर्गानिक परिकार र अन्य सुविधा सञ्चालकहरुले उपलब्ध गराउन सकेको देखिँदैन । आवश्यक तालिम लिएर उपयुक्त सेवा उपलब्ध गराए होमस्टेमा चहलपहल बढ्न सक्छ ।
प्रतिक्रिया 4