१२ फागुन, काठमाडौं । चुनावमा अरुलाई खत्तम भन्दै आफूलाई गतिलो सावित गर्न खोज्नु स्वाभाविकै हो । फागुन १८ गते हुन लागेको स्ववियु निर्वाचनमा पनि प्रमुख तीन विद्यार्थी संगठनका नेताहरुले यसैगरी आफूलाई गतिलो र अरुलाई खराब देखाउने प्रयास गरेका छन् ।
स्ववियु निर्वाचनसम्बन्धी बहस श्रृंखलाको दोस्रो चरणमा हामीले ‘थ्री- एन’ विद्यार्थी नेता (नैनसिंह महर, नरेन्द्र न्यौपाने र नविना लामा) लाई प्रश्न सोधेका छौं- स्ववियुमा तपाईकै संगठनलाई जिताउनुपर्ने र अरु संगठनलाई भोट दिन नहुने कारण चाहिँ के नि ? जवाफमा उनीहरुले यसो भने-
वामपन्थी विद्यार्थी संगठनहरु म्याद गुज्रिएका औषधि हुन्
नैनसिंह महर, अध्यक्ष, नेविसंघ
विश्वविद्यालयको स्थापना र नेपालको उच्च शिक्षाको विकासको क्रम हाम्रो मातृ पार्टी नेपाली कांग्रेस नेतृत्वको पहिलो सरकार बनेपछि अगाडि बढेको हो । आफूले जन्माएको बच्चाप्रति जति माया आमालाई हुन्छ त्यति अरुलाई हुँदैन । मैले अघि भनेँ नी हाम्रो लिगेसी छ, रगतको साइनो छ विश्वविद्यालयसँग । त्यसैले यसको उन्नयनका लागि जति हामीसँग सपना छ, जति कार्ययोजना छ, जति प्रगतिप्रति चिन्ता छ त्यति अरुलाई छैन । स्वतन्त्र विद्यार्थी युनियनको पनि जसरी हामीले वैधानिकरुपमा स्थापना गर्यौं त्यो स्वतन्त्र विद्यार्थी युनियन चुनावलाई नियमबद्ध बनाउनका लागि जसरी हामी लाग्यौं, यसको वृत्ति विकासका जति लाग्यौं त्यसरी अरु कुनै पनि संगठन लागेनन् ।
थुप्रै कलेजहरुमा आजभन्दा आठ वर्ष अघि वामपन्थी विद्यार्थी संगठनहरुको बर्चस्व थियो । वामपन्थी विद्यार्थी संगठनहरुको बर्चस्व पछि विद्यार्थीहरु राजनीतिक एकदमै फितलो भएको थियो । करिब-करिब स्ववियु खारेज हुने अवस्थामा पुगेको थियो । त्यसकारण मैले नेपाल विद्यार्थी संघको झण्डा बोकेर, नेविसंघले अन्य विद्यार्थी संगठनको नेतृत्व गरेर, उमेरको हद, चुनाव प्रणाली लगायतलाई थाति राखेर स्ववियु चुनावलाई अगाडि बढाएँ । पञ्चायतकालमा समेत प्रजातान्त्रिक अभ्यासको थलो स्ववियुलाई कोल्याप्स गर्ने षडयन्त्र भइरहेको छ र यसबाट बँच्नुपर्छ भनेर हाम्रा थुप्रै मुद्दाहरुमा सम्झौता गरेर भए पनि हामी सहयोगी बनेर एउटा सिस्टममा राख्यौं । त्यसकारणले पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हामीले जित्नुपर्छ ।
अहिले हाम्रो प्रतिस्पर्धी भनेको वामपन्थी विद्यार्थी संगठन नै हुन् । तर, विश्वमा वामपन्थी राजनीतिको इतिहास र यसको प्रयोग राम्रो छैन । कुनैबेला दुई तिहाई मुलकहरुमा कम्युनिजम थियो तर अहिले संसारभरका दुई-चारवटा देशमा त्यहि पनि निरंकुशताको नाममा कम्युनिजम अघि बढेको छ । जुन देशमा आजभन्दा २०-२५ वर्षअघि कम्युनिजम थियो, त्यो देशको स्तर र त्यो देशमा कम्युनिष्ट शासनले गरेका अतिवादहरु, त्यहाँ मारिएका जनताहरुको अवस्था र त्यहाँ जुन प्रकृतिको समाज बन्यो त्यसबाट नेपालका युनिभर्सिटी लेभलका विद्यार्थीहरु विज्ञ छन् ।
त्यसकारण नेपालका वामपन्थी विद्यार्थी संगठनहरु म्याद गुज्रिएका औषधि जस्तै हुन् । म्याद गुज्रिएको औषधि जसरी उनीहरुलाई पनि प्रयोगमा ल्याउन खोजिएको छ जुन गलत छ ।
(यो पनि पढ्नुहोस्: विद्यार्थीका ‘थ्री-एन’ नेताका यस्ता छन् चुनावी एजेण्डा)
स्ववियुमा नेविसंघ विजयी भयो भने यसले कम्तिमा डेमोक्रेटिक प्रोसेस ल्याउने छ । २४ क्यारेट सुनमा पनि थप शुद्धताको परिकल्पना गर्छ डेमोक्रेसीले । त्यसकारण प्रजातन्त्रवादी मुभमेन्ट स्खलित नहोस् भन्नाका लागि पनि नेविसंघले स्ववियु निर्वाचनमा जित्नुपर्छ । अरु संगठनले जित्दा विश्व कम्युनिजमको इतिहास फेरि नेपालमा दोहोरिनसक्छ ।
तत्कालीन अध्यक्ष गोविन्द भट्टराईको नेतृत्वमा इलेक्सन क्याम्पेन भइसकेपछि ८२ भन्दा बढी प्रतिशतमा चुनौति दिएको हो । अहिले हामी त्यसलाई कायम राख्नका लागि दौडिरहेका छौं ।
देशभरका मुख्य क्याम्पसहरु त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पस, शंकरदेव, पद्मकन्या, ठाकुरराम बहुमुखी वीरगञ्ज, रारा बहुमुखी जनकपुर, राजविराज, महेन्द्र मोरङदेखि लिएर विरेन्द्र बहुमुखी चितवन, कैलाली मल्टिपल, महेन्द्रनगर साइन्स क्याम्पस, पीएन क्याम्पस पोखरासम्ममा अहिलेसम्म नेविसंघले नजितेका क्याम्पसहरुमा हामी नयाँ इतिहास रच्दैछौं ।
त्यसकारण हिमाल, पहाड र मधेसका मुख्य-मुख्य क्याम्पसमा नेविसंघलाई साथ छ भन्ने कुरा नेपालमामात्रै होइन विश्वमा देखाउन चाहान्छौं ।
अखिल र नेविसंघले क्याम्पसलाई गुण्डागर्दीको अखडा बनाए
नरेन्द्र न्यौपाने, अध्यक्ष, अखिल क्रान्तिकारी
अखिल क्रान्तिकारी लामो विरासत बोकेर आएको संगठन हो । अघिल्ला स्ववियु निर्वाचनमा नेपालकमा थुप्रै क्याम्पसहरुमा अनेरास्ववियु र नेविसंघले जितेर नेतृत्व गर्दै आए । र, उनीहरुले विश्वविद्यालयको परिवर्तनका निम्ति, विश्वविद्यालयको शिक्षा नीतिमा परिवर्तन र विद्यार्थीहरुको हक अधिकारका निम्ति काम गरेनन् । उनीहरुले व्यक्तिगत स्वार्थका निम्ति काम गरेको पाइयो ।
हामी देख्न सक्छौं, यस्ता क्याम्पसहरु छन्, जहाँ अखिलले आफ्नो गढका रुपमा सधैं जित्छौं भनिराखेका क्याम्पसहरु र नेविसंघले पनि हामी सदावहार जित्ने गढहरु हुन् भन्ने क्याम्पसको भौतिक पूर्वाधारलाई हेरौं । त्यहाँभित्रको विद्यार्थीको अवस्थालाई हेरौं । त्यहाँभित्रको उनीहरुको क्रियाकलापलाई हामीले हेर्छौं भने त्यो चाहिँ एकदमै जर्जर स्थितिमा छ । उनीहरुले त्यहाँ दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने अनि विकृति र विसंगतिहरुमात्रै निम्त्याए ।
हामीले के देख्यौं भने जस्तो टेण्डर कब्जा गर्ने गलत ट्रेण्डका रुपमा विकास गरियो । क्याम्पसका पूर्वाधारहरु निर्माण गर्दैगर्दा त्यहाँबाट कैंयौं कमिशन खाने र कल्याणकारी कोषको पैसालाई दुरुपयोग गर्ने र उनीहरुको व्यक्तिगत स्वार्थका निम्ति प्रयोग गर्ने । त्यस्ताखालका विकृतिहरु देखिए र जसले त्रिविका आंगिक क्याम्पसहरुको हितमा काम गर्न सकेनन् । र, एउटा गलत संस्कारै बसाल्दिए र ‘पोलिटिक्स इज डर्टी गेम’ भन्ने ठाउँमा पुर्याइदिए ।
त्यसैले यथास्थितिवादी विद्यार्थी संगठनहरुले एकचोटि आफूलाई समीक्षा गर्नुपर्छ कि हामीले विद्यार्थीको हितका लागि काम गर्न सकेनौं । शैक्षिक नीति परिवर्तनका निम्ति काम गर्न सकेनौं । आज नेपालको राजनीतिमा ठुल्ठुला परिवर्तनहरु हुँदै आउँदाखेरि शिक्षा क्षेत्रमा परिवर्तन जरुरी थिएन ? शैक्षिक परिवर्तनको एजेण्डा उठाउन जरुरी थिएन ? यो कुराको उनीहरुले नेतृत्व नै गर्न सकेनन् । स्ववियुलाई त विशुद्ध पार्टीको गाइडलाइनमा अगाडि बढ्ने र करप्सन गर्ने र आफ्ना गुण्डाहरु र हनुमानहरुको पालनपोषण र व्यवस्थापन गर्ने ठाउँमा पुर्याइयो ।
धेरै क्याम्पसहरुमा आज छिर्ने हो भने अखिल र नेविसंघले नेतृत्व गरेका क्याम्पसहरुमा यो विकृति हामीले देखिराखेका छौं । त्यसैले यो कुरालाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।
हामी स्ववियुमा जान खोजेको शौचालयदेखि कक्षा कोठासम्म भौतिक सुधार गरिनुपर्छ । नम्बर दुई, आजको दुनियाँमा शिक्षालाई आधुनिकतासँग जोड्नुपर्छ भन्ने कुरा हो । त्रिविलाई अनुसन्धान केन्द्रका रुपमा कसरी विकास गर्ने भन्ने कुरा हो । विश्वविद्यालयभित्रका प्राध्यापकहरुलाई हामीले हेर्छौं, उनीहरु प्राइभेट कलेजको मालिक वा सिइओ बनेर विश्वविद्यालयमा वार्ता गर्न जान्छन् । उनीहरुलाई विश्वविद्यालयका बारेमा सोच्ने कसरी बनाउने भन्ने कुरा हो ।
नेविसंघ र अखिलले हिजो जे गरे, हामी त्यही धारबाट जानुहुन्न र नयाँ वैकल्पिक ढंगले अगाडि जानुपर्छ । शैक्षिक परिवर्तन, विश्वविद्यालयको परिवर्तन र खासगरी हामीभित्र रहेका विकृतिलाई अन्त्य गरेर सही गाइडलाइनमा अगाडि जानका निम्ति हामी अगाडि आएका हौं ।
म प्रश्न गर्छु- नेविसंघले आफूलाई लोकतान्त्रीकरण गर्न सकेको छ ?
नविना लामा, अध्यक्ष, अनेरास्ववियु
हामी लोकतन्त्र र गणतन्त्रलाई विश्वास गर्छौं । सबैको अस्तित्व र सहकार्यलाई पनि विश्वास गर्छौं । त्यो सन्दर्भमा हामी प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्नसक्छौं । प्रतिस्पर्धा स्वीकार्छौं त्योभित्र शिष्टता पनि गर्न सक्छौं । हाम्रो कृयाशीलता, विद्यार्थी हक र अधिकारका लागि गरेको आन्दोलनले नै कति योगदान गरेका छौं भन्ने कुरा स्पष्ट छ । हामी नै विद्यार्थीहरुको कुशल अभिभावक हौं । विद्यार्थी कल्याणको निम्ति गरेको कामले नै हामी विद्यार्थीको भावना जित्छौं । नपत्याए हाम्रो इतिहास पल्टाएर हेर्न पनि सक्नुहुन्छ ।
संगठनलाई आन्तरिक रुपमा बलियो बनाउन सकेका छौं । आन्तरिक लोकतन्त्र बलियो पार्न सक्यौं । स्थानीय लेभलको शिक्षाको विषयमा, स्कुल कलेजको शिक्षाको विषयमा शैक्षिक, विद्यार्थीको दैनिक समस्याको विषयमा पनि हामी सँगै छौं, समाधानको प्रयासमा छौं ।
डाक्टर, इन्जिनियर, पाइलटको सर्टिफिकेट दराजमा थन्क्याएर खाडी मुलुक जान बाध्य हुने एउटा वर्ग छ । पारिवारिक अवस्था अलि राम्रो भएको अर्को वर्ग छ जो युरोप अमेरिका जान्छ । यो खालको विभेद अन्त्य गरेर समान शिक्षा लागू हुनुपर्छ भन्छौं हामी । हामी नै विद्यार्थीहरुको विश्वासिलो संगठन हौं । यो स्थिति अरु संगठनमा छैन । नेविसंघको सम्मेलन आठ वर्ष ग्याप भयो । त्यो बीचमा अनेरास्ववियुले चार अध्यक्ष पायो । हाम्रो संगठनको आन्तरिक जीबनलाई हेर्ने हो भने नेपालको लोकतन्त्रलाई सम्पत्तिको रुपमा हाम्रो माउ पार्टी नेकपा एमाले र अनेरास्ववियुले ग्रहण गर्न सकेको छ । दुई जना महिला अध्यक्ष अनेरास्ववियुले पाएको छ । मधेसी, जनजाती, मुस्लिम, उत्पीडित समुदायको प्रतिनिधित्व गर्न हामी सफल भएका छौं । म दाबीका साथ भन्छु यस्तो अरु कुनै पनि संगठनले गर्न सकेको छैन । लोकतान्त्रिक पद्दतीको कुरा गर्ने नेविसंघले आफ्नो संगठनलाई लोकतान्त्रिकरण गर्न सकेको छ ? म प्रश्न गर्न चाहान्छु ।
त्यसकारण हाम्रो संगठनमा लाग्ने नेता, कार्यकर्ता र शुभचिन्तकको भविष्य सुनिश्चित छ । क्षमताको आधारमा, इमान्दारीपूर्वक गरेको कामको आधारमा भविष्यको ग्यारेन्टी छ अनेरास्ववियुमा । विद्यार्थीको हितको निम्ति, सामुहिक हितको निम्ति, संस्थाको हितको निम्ति काम गरिरहेकाले म दावाका साथ भन्छु सबै विद्यार्थी संगठनहरुभन्दा हामी नै सर्वश्रेष्ठ छौं ।
अहिले स्वतन्त्र विद्यार्थी युनियनमाथि र सँगसँगै विद्यार्थी आन्दोलनमाथि प्रश्न चिह्न उठेको छ । स्ववियुको साझा मञ्चलाई नै हामी बदल्न चाहान्छौं । यसलाई भ्रष्टाचार मुक्त बनाउन चाहान्छौं । प्राज्ञिक थलोको रुपमा विकास गर्न चाहान्छौं । राजनीतिक, सामाजिक, लोकतान्त्रिक ढंगले गतिशिल बनाउन चाहान्छौं । दक्ष जनशत्ति, लिडरशीप निर्माण गर्न हामी चाहान्छौं । यतिमात्रै होइन, सम्बन्धित कलेजको विविधता, विद्यार्थीहरुको मागको आधारमा गुणस्तरीय शिक्षामा बदल्न चाहान्छौं ।
शैक्षिक प्रमाणपत्रको आधारमा ऋण लिन पाउने व्यवस्था नेपालको इतिहासमै पहिलोचोटि राख्न हामी सफल भएका छौं । संयोगवश त्यतिबेला हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । यो हाम्रै पहलमा सम्भव भएको हौं । यसबाट शैक्षिक बेरोजगारी न्युनिकरणका लागि सघाउ पुग्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । विश्वविद्यालय शिक्षा लिइसकेका सबै विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी गर्नेछौं र बेराजगारी अन्त्य गर्नेछौं ।
विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य उपचारको ग्यारेन्टी र स्वास्थ्य बीमाको कुरा पनि हामीले चुनावी एजेण्डा बनाएका छौं । हामीलाई भोट दिनेहरु मात्रै होइन, त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीहरुले निःशुल्क उपचार र निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउनुपर्छ भनेर हामीले भनेका छौं ।
हाम्रो शिक्षा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्छ । त्यसका लागि शिक्षालाई नयाँ-नयाँ वैज्ञानिक प्रविधिसँग जोड्नुपर्छ । त्यसैले हामीले ई-लर्निङको कुरा गरेका छौं । कलेजहरुमा फ्री वाईफाईको कुरा गरेका छौं । घरमै बसेर अध्ययन गर्न सकिने ई-एजुकेशनको ग्यारेन्टी गर्छौं भनेका छौं । यो कुरा अनेरास्ववियुले कुरामात्रै गरेको होइन, व्यवहारमै पनि देखाउन सक्छ ।
प्रतिक्रिया 4