उपन्यासलाई मानव जीवनको सम्पूर्णता मानिन्छ । जसरी जीवनमा हुने घटनाहरूको गति र संगति हुँदैन, त्यसरी नै उपन्यासमा पनि घटनाहरूको क्रमिक रूप हुनु हुँदैन । लेखकले आफ्नो र समाजको भोगाइलाई साहित्यका माध्यमबाट जब उद्घाटित गर्छन्, तब त्यो भोगाइले सामूहिक चेतनाको रूप लिन्छ । त्यसैले उपन्यासलाई समाज बुझ्ने दस्तावेजका रूपमा लिइन्छ ।
विदेशी भूमिमा नेपालीहरूले भोग्नुपरेको बाध्यात्मक स्थितिलाई प्रतिविम्बित गरिएको ‘मुदिर’ मीनराज बसन्तको पहिलो उपन्यास हो । बसन्तले मुदिर मार्फत आफैले देखेका अनि भोगेका घटनाहरूलाई नेपाली युवाहरूको सामूहिक विश्वदृष्टि बनाएका छन् ।
जीवनलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यका हरेक दिन सयौंको संख्यामा नेपालीहरू विदेशिन बाध्य छन् । विदेश गएपछि रुखका पात टिपे झैं पैसा कमाइन्छ भन्ने सोच बोकेर अनेकौं हण्डर खाने नेपाली युवाहरूको प्रतिनिधि पात्रका रूपमा डम्बे यस उपन्यासमा आएको छ । डम्बेकै केन्द्रीयतामा मुदिरको कथा अगाडि बढेको देखिन्छ । काठमाडौं, ओखलढुंगा अनि कतारका विभिन्न ठाउँ यस उपन्यासका मुख्य कार्यपीठिका भएर आएका छन् ।
काठमाडौंमा प्रगति गर्न नसकिरहेको डम्बे घरको आर्थिक स्थिति मजबुत बनाउन विदेशी भूमिमा पलायन हुने सपनासँगै मुदिरको सुरुवात भएको छ । सोझासिधा नेपालीहरू अनेकौं बहानामा ठगिने नियतिलाई लेखकले प्रमुख पात्र डम्बे मार्फत खुलाएका छन् ।
नजानिँदो तवरले घरबेटी बा, साहुनी, विदेशी भूमिको मुदिर र ला मिल्ला कम्पनीको दुष्चक्रमा परेको डम्बेको भोगाइले सम्पूर्ण युवाको भोगाइलाई प्रतिविम्बत गरेको छ । उपन्यासकार बसन्तले कतार, साउदी अरब, दुबई लगायतका अन्य खाडी मुलुकमा गएर दुःख भोग्ने नेपाली युवाहरूको यथार्थ जीवन भोगाइलाई बुझेका छन् ।
उपन्यासभित्र कतारमा डम्बेले भोगेको जुन पीडादायी कथा छ, त्यो डम्बेको व्यक्तिगत पीडाको रोइलो नभएर साझा नेपालीको आासुको कहानी हो । धेरै पैसा कमाउने सपनाको ढाकर बोकेर कतार छिरेको डम्बेले पसिनाको मूल्य मासिक रूपमा नपाउनुका साथै कैयौं दिनसम्म भोकभोकै रहनुपरेको कारुणिक व्यथालाई विदेशी भूमिमा रहेका आम नेपालीहरूको साझा व्यथा बनाएर उपन्यासकार यसरी लेख्छन्ः
‘पेटमा भोकले ग्राबेल सडक खनिसकेको थियो । पानी पिउन नपाएर थुक निस्कन पनि कम भइसकेको थियो । कतिबेला पेटमा चारो हाल्न पाइन्छ भनी हटपटी भइरहेको थियो । उसले खाना खुवाउन लैजानुको सट्टा सिधै मेडिकलबाट साइटमा काम गर्न लाग्यो ।’ (पृष्ठ: १०५)
विदेश पलायन हुने संस्कृति नेपालमा बढ्दो छ । विदेश पुगेर त्यहाँको भाषा-संस्कृतिसाग बेखबर रहनु नेपालीहरूको मुख्य समस्या हो । जसलाई उपन्यासकारले डम्बेका माध्यमबाट जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।
नेपाल भौगोलिक बनावटमा सम्पन्न रहे पनि आर्थिक गर्जो टार्न विदेशीकै मुख ताक्नुपर्ने परिस्थितिसाग पनि लेखक राम्ररी परिचित छन् । नेपाली राजनीतिमा हुने गरेको खिचातानी एवम् भ्रष्ट आचरणका कारण देशमा विकास र निर्माणले गति लिन सकेको छैन । प्रचुर सम्भावना हुँदाहुँदै पनि प्राकृतिक स्रोत साधन सबै खेर गइरहेको तीतो यथार्थलाई लेखकले आक्रोशका रूपमा यसरी पोखेका छन्:
‘के पायौं हामीले शिरमा सगरमाथाको मुकुट टाँसेर ? के पायौं हामीले हाम्रै घरआागनको भित्तो छेडेर दौडेका खोलानाला बग्दा ? के उपादेयता रह्यो र हरियो वन नेपालको धनको ? देश त हामी विदेशिएकाहरूले नै चलाएका छौं । हाम्रो श्रमको रेमिट्यान्सले धानेको छ देश र देशको आर्थिक व्यवस्था । (पृष्ठ १७७)
विदेशी भूमिमा नेपालीहरूले बगाएको रगत र पसिनाले देशको अर्थतन्त्रमा पुर्याएको सहयोग चानेचुने कुरा होइन । लेखक आफैं पनि युवाशक्तिहरू विदेशिनुपरेको बाध्यतासँग सकरात्मक छैनन् । आफ्नो जीवनको ऊर्जाशील समय विदेशीको लागि सुम्पनु आफैंमा एक दुर्भाग्य हो भन्ने कुरा लेखकले राम्ररी बुझेका छन् । वास्तविकतामा फर्कँदा जति नै पीडा, दुःख र पराईको खप्कीमा बाँच्नुपरे पनि विदेशिएका नेपालीहरू रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको यथार्थलाई भने उनी स्वीकार गर्छन् ।
दुःख र पीडा विदेशी भूमिमा भोगेर सकिँदैनन् । यो मुदिरको मुख्य कथानक हो । डम्बेले जुन सपनाको महल सजाएर कतारमा आफूलाई अवतरण गरायो, तर उसले कहिल्यै सुख र सहज जीवनको अनुभूति गर्न पाएन । डम्बेलाई प्रतिनिधि बनाएर बसन्तले नेपाली युवाहरूले अँगाल्नुपरेको नमीठो यथार्थलाई देखाउन खोजेका छन् ।

डम्बे कार्यरत ला भिल्ला कम्पनीमा काम प्रशस्त नहुनाले ऊ सहित अन्य नेपाली तथा श्रीलंकाली कामदारहरूलाई पर्याप्त पारिश्रमिक पाउँदैनन् । यो अवस्थामा छटपटिएका उनीहरू दुई छाक जोर्न अन्य विकल्प रोज्न बाध्य हुन्छन् । त्यही अभावपूर्तिको लागि इरानी बूढाको ग्यारेजमा काम गर्न पुगेको डम्बे आगोले जलेर घाइते हुन्छ ।
दुर्घटनापछि नेपाल फर्किनका लागि एम्बेसी, लेवरकोर्ट, सुप्रिम कोर्ट आदि ठाउँमा धाएर पनि जन्मभूमि फर्कन नपाउँदा कतारलाई खुला जेलका रूपमा स्विकारेको प्रसङ्ग नै मुदिरले बोकेको आख्यानात्मक संरचना हो ।
दुःखान्त आख्यानको पहाडका रूपमा आएको ‘मुदिर’ भित्र खाडी मुलुकमा बस्ने नेपालीहरूको साझा दुखाइ कोरिएको छ । पाश्चात्य साहित्यको ट्राजेडी चिन्तन परम्परासँग मेल खाने मुदिरभित्र लेखकले दु:खान्तको कथालाई सिलसिलाबद्ध रूपमा प्रस्तुत गरेका छन् । तर, डम्बेको खाडी यात्रा वर्णन गर्ने क्रममा भने कथाको क्रमभङ्ग गरेका छन् । घटना विवरण पुनरावृत्ति भएका थुप्रै फेहरिस्त छन्, जसले गर्दा पाठकलाई त्यही घटना दोहोर्याएर पढ्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
विदेशी भूमिमा दुःखैदुःख मात्र हुने होइन, मान्छेले सुख, सुविधा पनि पाएका छन् भन्ने कुरा यस उपन्यासमा कतै पनि देखिँदैन । तसर्थ जो-कोही पाठकको लागि विदेश भनेको दुःखको पर्याय बनेको आभाष हुन्छ । डम्बेको बोलीचालीको भाषालाई लेखकले पूर्वेली भाषामा जोड्न त खोजेका छन् । तर, उसको बोलीमा पूर्वेली जनबोली प्रस्तुत गर्न नसक्नु यस उपन्यासको सीमा बनेर आएको छ ।
समग्रमा बसन्तले ‘मुदिर’ मा उठान गरेको कथावस्तु विदेशिएका नेपालीहरूको साझा भोगाइ भएकैले उपन्यास उत्कृष्ट छ । उपन्यासको प्रस्तुति शैली जीवन्त छ । नेपाल हुँदै कतार अनि फेरि नेपाल र कतारमा नै पुगेर अन्त्य भएको कथावस्तुलाई सिलसिलाबद्ध रूपमा प्रस्तुत गर्न सक्नु बसन्तको खुबी हो ।
सामाजिक जीवनको वस्तुपरक चित्रण गरिएको ‘मुदिर’ ले सीप र भाषाको ज्ञान बिना नै विदेशिएका नेपालीहरूको कथा समेटेको छ । यस कारण नेपालीहरूको परदेश-पीडा चित्रण गर्ने ‘मुदिर’ पठनीय कृति हो ।
प्रतिक्रिया 4