+
+

न्यायालयलाई संसदको ‘अण्डर’ मा राख्नुपर्छः कांग्रेस महामन्त्री

'आइजीपी नियुक्तिमा अदालतले हस्तक्षेप गर्न मिल्दैन'

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २६ गते १२:५८

२६ चैत, बिराटनगर । नेपाली कांगे्रसका महामन्त्री शंशाक कोइरालाले व्यवस्थापिकाको नियन्त्रणमा न्यायपालिका राख्न आवश्यक रहेको बताए । सरकार नेपाल प्रहरीको आइजीपी नियुक्तिका विषयमा निर्णयमा पुग्न नसकिरहेका बेला कांग्रेस महामन्त्री कोइरालाको यस्तो भनाइ आएको हो ।

महामन्त्री कोइरालाले बिराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै भने- व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्रअधिकार मिच्ने काम भएको छ, शक्ति सन्तुलनका लागि पनि व्यवस्थापिकाको अण्डरमा न्यायपालिका राख्न आवश्यक देखिन्छ ।

कांग्रेस नेता कोइरालाले प्रहरीको आइजीपी नियुक्ति सरकारको कार्यक्षेत्रभित्र पर्ने भन्दै आइजीपी नियुक्ति गर्ने विषयमा अनावश्यक रुपमा अदालतले हस्तक्षेप गरेको आरोप समेत लगाए । कोइरालाले भने- ‘प्रहरीको आईजीपी कसलाई नियुक्त गर्ने भन्ने कुरा सरकारको हो, त्यो न्यायपालिकाको कार्यक्षेत्र बाहिरको कुरा हो, यसमा अदालतको चासो बढ्नु उचित होइन ।

उपप्रधानमन्त्रीको बरियतामा कांग्रेसको दाबी

महामन्त्री कोइरालाले उपप्रधानमन्त्रीको वरियताक्रममा नेपाली कांग्रेस ठूलो पार्टी भएकाले गृहमन्त्री विमलेन्द्र निधी बरिष्ठ उपप्रधानमन्त्री नै हुनुपर्ने बताए । उनले भने- ‘मुलुककै ठूलो दल नेपाली कांग्रेस भएकाले विमलेन्द्रजीलाई नै माथिल्लो वरियता क्रममा राखिनु पर्छ, यो हाम्रो पार्टीको पनि धारणा हो ।’

‘माओवादी चुनावबाट भाग्दैछ’

कांग्रेस महामन्त्री कोइरालाले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र स्थानीय तहको चुनावबाट भाग्न खोजेको आरोप लगाए । उनले भने- ‘माओवादी केन्द्रको स्तर क्रमशः घट्दै गएकाले ऊ चुनाववाट भाग्न खोज्दैछ ।’
कोइरालाले अहिले वरियताक्रमको विवाद पनि माओवादीकै उपज हुन सक्ने आशंका व्यक्त गरे ।

मधेसी मोर्चालाई साथमा लिएर चुनाव

महामन्त्री कोइरालाले स्थानीय तहको चुनवामा मधेसी मोर्चालाई साथमा लिएर जानुपर्ने बताए । मोर्चाको सहभागिताविना चुनावमा जाँदा मुलुकमा द्वन्द्वको खतरा निम्तिन सक्ने कोइरालाले बताए ।

स्थानीय तहको चुनावको मिति कुनै पनि हालतमा सार्न नमिल्ने बताउँदै आगामी वैशाख ३१ गते नै चुनाव हुनुपर्ने तर चुनावमा मधेसी मोर्चालाई सहभागी गराउन सरकारले हर सम्भव प्रयास गर्नुपर्ने बताए । मधेसी मोर्चालाई चुनाबमा ल्याउन सीमाङन बाहेका सबै मागलाई सम्वोधन गर्न सकिने कोइरालाले बताए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?