+
+

धादिङमा कांग्रेस र माओवादीवीच मोर्चाबन्दी, एमाले एक्लै भिड्न तयार

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ७ गते १७:५५

७ बैशाख, धादिङ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लामा कांग्रेस र माओवादीले चुनावी तालमेलको गृहकार्य थालेका छन् ।

विभिन्न चरणको छलफलपछि दुवै पार्टी चुनावी तालमेल गर्ने निधोमा पुगिएको कांग्रेसका जिल्ला नेता रामनाथ अधिकारीले जानकारी दिए । उनले भने- अझै छलफलमा छौँ निर्णय भइसकेको छैन ।

यस्तै एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँशक्ति पार्टीसँग तालमेलको गृहकार्य थालेको छ । यससँगै धादिङको स्थानीय तहको निर्वाचनमा कांग्रेस-माओवादी एकातिर र एमाले-राप्रपा-नयाँ शक्ति अर्कोतिर उभिने संकेत देखिएको छ । तर अहिलेसम्म औपचारिक रुपमा दुवै पक्षले आफ्नो चुनावी रणनीति सार्वजनिक गरेका छैनन् ।

कांग्रेस नेता अधिकारीले भने, ‘एमालेले पनि रणनीति सार्वजनिक गरिसकेको छैन, हामी पनि छलफलमै छौं ।’

गत हप्ता नेपाली कांग्रेस र माओवादी केन्द्रले सबै स्थानीय तहका आ-आफ्नो प्रतिनिधिको संयुक्त भेला बोलाएको थियो । उसले चुनावी तालमेलका बारे कार्यकर्ताको राय मागिएको थियो ।

छलफलमा सहभागी माओवादी केन्द्रका एक प्रतिनिधिले अनलाइनखबरसँग भने ‘हामीले पनि अहिलेको स्थितिमा कांग्रेससँग चुनावी तालमेलमा सहमति दिएका छौँ, कांग्रेसका साथीहरु पनि उत्साहित देखिनु भएको थियो ।’

दुई पार्टीले तालमेलको घोषणा पूर्ण कार्यकर्तालाई एकै ठाउँमा भेला गरी प्रशिक्षणसमेत दिएका थिए ।

माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारीले पनि तालमेलको छलफल चलेको स्वीकारे । उनले भने- तालमेल गरेर जाऔँ भनेर कुराकानी भएको छ, केही कुरामा सहमति आवश्यक हुन्छ ।

एमालेको छुट्टै मोर्चा

नेकपा एमालेले पनि कांग्रेस र माओवादीको चुनावी मोर्चाविरुद्ध अर्को मोर्चा खडा गर्ने गृहकार्य थालेको छ । एमालेले राप्रपा र नयाँ शक्ति पार्टीलाई साथमा लिएर चुनावी मोर्चा बनाउँदै छ । यसबारे एमालेले दुई पार्टीवीच चरणबद्ध छलफललाई तिव्र पारेको छ ।

स्रोतका अनुसार एक नम्बर निर्वाचन क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका राप्रपालाई दिएर एमालेले अन्य गाउँपालिकामा राप्रपाको समर्थन खोजेको छ । रुबी भ्याली गाउँपालिका राप्रपा नेता बुद्धिमान तामाङको जन्मथलो हो ।

यस्तै एमालेले दुई नम्बर निर्वाचन क्षेत्रअन्तर्गतको एक गाउँपालिकामा केही पद नयाँ शक्तिलाई दिने र अन्य ठाउँमा नयाँ शक्तिले सघाउनुपर्ने सर्त राखेको छ ।

राजेन्द्र पाण्डे भन्छन्- एक्लै लड्छौँ

धादिङ्ग क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र पाण्डेले भने राप्रपा र नयाँशक्तिसँग मोर्चा कस्नेबारे औपचारिक छलफल भइनसकेको बताए । उनले भने, ‘तल निर्वाचनमा भाग लिने साथीहरुले छलफल चलाउनु भएको होला, तर पार्टीले कुरा गरिसकेको छैन ।’

पाण्डले अनलाइनखबरसँग भने- ‘पर्‍यो भने एक्लै चुनाव लड्छौँ । कांग्रेस र माओवादी मिलेर आए पनि हामी चुनाव जित्छौँ ।’

पाण्डेले चुनावको सम्भावित नतिजाको ब्याख्या गर्दै भने, ‘केही गाउँपालिका कांग्रेस, माओवादी र राप्रपा सबै मिलेर आए पनि एमालेेलाई हराउन सक्दैनन् । केहीमा माओवादी केन्द्र, एमाले सबै मिल्दा पनि कांग्रेसलाई हराउन गाह्रो छ । जिल्लाको माथिल्लो भूभागमा सबै मिलेर पनि माओवादीलाई हराउन सकिँदैन । त्यसैले धादिङ्गमा चुनावी तालमेलले खासै असर पर्दैन ।

धादिङमा को कति बलियो ?

धादिङमा नयाँ संरचना अनुसार दुई नगरपालिका र ११ गाउँपालिका छन् । त्यसमध्ये दक्षिण भूभागको राजमार्ग क्षेत्रमा एमालेको राम्रो प्रभाव छ । शहरी क्षेत्र कांग्रेसको पकडमा छ । यस्तै उत्तरी हिमाली क्षेत्रको गाउँपालिकामा राप्रपाको पकडमा छ भने केहीमा माओवादीको पकड छ ।

धादिङ्गको हिमाली क्षेत्रलाई जनयुद्धकालमा माओवादीले आधार इलाका बनाएको थियो । हिमाली क्षेत्रका अधिकाशं गाउँ, पश्चिम क्षेत्र र दक्षिण क्षेत्रको पहाडी गाउँमा माओवादीको राम्रै जनमत रहेको नेताहरुको दाबी छ । धार्के, नौविसे, छत्रेदेउराली लगायतका क्षेत्रमा पनि माओवादीको उपस्थिति राम्रै रहेको दाबी सो पार्टीका नेताहरुको छ ।

०६४ सालको निर्वाचनमा धादिङमा माओवादी केन्द्र पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा थियो । तर, ०७० को निर्वाचनमा ठ्याक्कै उल्टो भयो । कांग्रेस पहिलेकै स्थितिमा दोस्रो भयो भने एमाले पहिलो भयो । माओवादी पहिलो शक्तिबाट तेस्रो शक्तिमा खुम्चियो ।

धादिङका मतदाता निकै अस्थिर देखिने गरेका छन् । अहिलेसम्म धादिङमा फुटेको माओवादी एकतावद्ध भएको छ । एमालेले पनि आफ्नो संगठन थप सुदृढ बनाएको छ । कांग्रेस भने स्थिर देखिन्छछ । यसकारण आगामी निर्वाचनमा त्रिपक्षवीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ ।

कुन पार्टीबाट को दावेदार ?

स्थानीय निर्वाचनलाई लिएर प्रमुख तीनवटै पार्टीले सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकाको नेतृत्वलाई प्रमुख मुद्दा बनाएका छन् । साविकको नगरपालिकामा थप ५ गाविस समेटिएकाले एक्लाएक्लै प्रतिस्पर्धामा कसले नेतृत्व हात पार्छ भन्नेमा सबै दल अन्योलमै छन् । तर, सबैको दाबी आफूले जित्ने भन्ने छ ।

नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको प्रभाव बलियो छ । ५ वटा गाविस थपिएपछि एमाले केही कमजोर स्थितिमा पुगेको बताइन्छ । तर, कांग्रेस र माओवादी केन्द्रवीच छुट्टै प्रतिस्पर्धा भएमा एमालेले राप्रपाको साथ लिएर जित्न सक्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

कांग्रेस नेता रामनाथ अधिकारीले अनलाइनखबरसँग भने- ‘नीलकण्ठमा उपमेयर लिएर माओवादीले मेयरमा हामीलाई सघाओस् भन्ने हाम्रो माग हो । यसो भएमा माओवादीलाई धुनीवेसी नगरपालिकाको मेयर दिन तयार छौँ ।’

नीलकण्ठ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट भीम ढुंगाना, नारायणकुमार श्रेष्ठ, झम्कनारायण श्रेष्ठ र सम्भु सिंह ठकूरीले दावी गरेका छन् । त्यसमध्ये भीम ढुंगानाको सम्भावना बढी छ ।

माओवादी केन्द्रबाट मनराज भण्डारी मुख्य दाबेदार छन् । उनी वाइसीएलका पूर्व जिल्ला अध्यक्ष हुन् । यस्तै दीपक विश्वकर्मा र धु्रब थापाले पनि मेयरको दाबी गरेका छन् ।

एमालेका तर्फबाट रामकुमार अधिकारी मुख्य दाबेदार छन् । उनी मनमोहन अस्पतालका चिकित्सक हुन् । यस्तै युथफोर्स धादिङका अर्जुनकुमार श्रेष्ठ पनि मेयरका दाबेदार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?