१० जेठ, काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन् ।
निर्वाचन परिणाम मध्यरातमा घोषणा गरियो । जितको खुसियालीमा कांग्रेस नेता कार्यकर्ताहरु मध्यरातमा पनि मतगणना स्थलमा उल्लेख्य संख्यामा भेला भएका छन् । उनीहरुले आपसमा बधाई साटासाट गर्दै विजय उत्सव मनाए ।
मेयरमा निर्वाचित चिरिबाबु महर्जन र उपमेयरमा निर्वाचित गीता सत्याल रातो अबिरले रंगीएका छन् । उनीहरुलाई बधाई दिँदै रातो टीका र खादा लगाइदिनेहरुको घुइँचो लागेको छ ।
(यो पनि पढ्नुहोस्- चिरीबाबु महर्जनः ज्यामीदेखि ललितपुरको मेयरसम्म)
कतिपयले चिरिबाबुलाई जुरुक्कै उठाएर काँधमा बोके । हातमा पार्टीको चारतारे झण्डा बोकेका कार्यकर्ताहरुले ‘नेपाली कांग्रेस जिन्दावाद’को नारा घन्काएका छन् ।
ललितपुर महानगरपालिका जितेसँगै कांग्रेस विजयी भएका स्थानीय तहको संख्या १०४ पुगेको छ । नेकपा एमाले भने ११९ स्थान जित्दै पहिलो पार्टी बनेको छ । तेस्रो स्थानको माओवादी केन्द्रले ४६ स्थान जितेको छ ।
प्रतिक्रिया 4