+
+

गजब निबन्ध: निबन्धमा निर्बन्ध विचरण

रोशन शेरचन रोशन शेरचन
२०७४ असार ३ गते ९:४०

एक जुगमा एक दिन एकचोटि नै आउने रहेछ । मेरो जीवनमा २०४२-४४ तिर त्यो दिन आयो । साहित्यिक मित्र ओम घिमिरेबाट शङ्कर लामिछानेको कथासङ्ग्रह गौंथलीको गुँड  हात पर्‍यो । काव्यात्मक र प्रशस्त दार्शनिकता अनुभूत हुने सङ्ग्रहभित्रको कथा अर्धमुदित नयन र डुब्न लागेको घाम उत्कृष्ट लाग्यो ।

त्यस सँगालोले मलाई वशमा पारिहाल्यो । महिना दिनअघि पढेको आख्यान झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्सको शक्तिशाली प्रभावमा अर्धमुदितको थप प्रभावले म नराम्ररी हल्लिएँ । फरक सन्दर्भमै भए पनि शङ्कर लामिछाने र रोबर्ट एम पिरगिसका किताबमा झेन र बौद्ध सम्यक् दृष्टिको अनुपम मिलन भएको थियो ।

नेपाली वाङ्‌मयमा निबन्ध विधाको गोरेटो समृद्ध छ । गोरेटो राजमार्ग भइसकेको छ, छैन भन्ने प्रश्न चाहिँ बहसयोग्य छ । साहित्ययात्राको आरम्भमा प्राय:ले कविता लेख्ने भएकाले कविताको सङ्ख्यात्मक थुप्रोमा निबन्ध छोपिएको छ । पछिल्लो समय गजलको उर्लँदो सुनामीमा कविता स्वयम् लरखराएको प्रतीत हुन्छ भने निबन्धको के कुरा ? आख्यानको फराकिलो क्यानभासले स्वाभाविक रुपमा सर्जकहरुलाई आकर्षणमा बाँध्ने हुनाले निबन्धमा ध्यान विरलै जान्छ ।

लक्ष्मीप्रसाद देवकोटा, सूर्यविक्रम ज्ञवाली, रुपनारायण सिंह, पारसमणि प्रधान, रामकृष्ण शर्मा र शङ्कर लामिछानेले समृद्ध बनाएको गोरेटोमा केही अन्य नाम पनि उल्लेखनीय छन् । भैरव अर्याल, कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा, रामकुमार पाँडे, धच गोतामे, ईश्वरवल्लभ, बालकृष्ण पोखरेल, पारिजात, रमेश विकल, मनुजबाबु मिश्र, अभि सुवेदी, डीपी भण्डारी, खगेन्द्र सङ्ग्रौला, नारायण ढकाल, मञ्जुल, गोविन्द वर्तमान, शारदा शर्मा, कृष्ण धरावासी, प्रकाश सायमी, युवराज नयाँघरे, भीष्म उप्रेती, रोशन शेरचन, मोमिला, ज्ञानेन्द्र विवश, श्रीओम श्रेष्ठ रोदन आदि निबन्धकारहरुले निबन्ध विधालाई थप सबल बनाउँदै लगेका छन् ।

धेरै निबन्धकारका नाम यहाँ छुटेका हुन सक्छन् । निबन्धको ऐतिहासिक विवेचना यो लेखको अभिप्राय होइन पनि । तर, निबन्ध आफ्नै गोरेटोमा कहिले वेगमा त कहिले सुस्त हिँडेको सत्य हो ।

म त्यसताका भैरहवावासी थिएँ । पिपरहवाको आँपको बगैंचाको पश्चिम दिशामा अस्ताउँदो घाम हेरेर म मुग्ध हुन्थेँ । त्यो दृश्यमा केही महत्वपूर्ण कुरा हातबाट छुट्दै गएको अनुभूत हुन्थ्यो । सायद घाम डुबेर उज्यालो छुट्दै गएको प्रतीकात्मक सम्प्रेषण थियो । अग्रभागमा डुब्दो घामसँगै अँध्यारिँदै गएको कालो मुस्लो फ्याँकिरहेको विशाल महेन्द्र सुगर मिल देखिन्थ्यो । घाम क्षितिजमा खस्नासाथ मिल अँध्यारोमा कतै विलुप्त हुन्थ्यो । मध्यरातमा बज्ने साइरनका कारण मात्र सुगर मिल उपस्थित छ भन्ने भान हुन्थ्यो । निबन्ध जस्तो कथा पढेपछि भने हिजोसम्मको परिचित घाम विरानो लाग्न थाल्यो । मानौं शङ्कर लामिछानेले डुब्न लागेको घामलाई पिपरहवाको आँपको बगैंचाभन्दा कोशौं पर लगेर राखिदिए ।

डुब्दो घामको दृश्यले ल्याउने सार्वभौम उदासीपन म अझै सम्झन्छु । किशोरवयको रुमानी भावले पनि अतिरिक्त संवेदनशील बनाएको हुँदो हो । विसं २०६०-६१ तिर भावक अभियानबाट किनेर उनका अन्य निबन्ध पढेँ । शङ्कर लामिछाने अनुभववादी लेखक लाग्यो । कल्पनाशीलताको सहारा पनि अनुभव र अनुभूतिलाई नै सघन बनाउन लेखिए झैं लाग्यो । यदि धृष्टता हुँदैन भने व्यक्तिगत संवेदनालाई त्यति धेरै निचोरेर इमान्दारीपूर्वक लेख्ने स्रष्टा सायद कमै होलान् । त्यसैले त हामी निबन्धकार लामिछानेलाई महान् भन्छौं ।

शङ्कर लामिछानेका निबन्धको नशाले म ईश्वरवल्लभतिर धकेलिएँ । धकेलिनुमा मेरो आफ्नो भित्री चाहना पनि थियो, लामिछानेको निबन्धको जादुई शक्ति पनि । ईश्वरवल्लभको भावनात्मक बौद्धिकता र मौलिक प्रतीत हुने निबन्धको ऐकान्तिकतामा म केही वर्ष बसेँ । कविमनीषीको सान्निध्यमा बसे जस्तो । कवि खुमनारायण पौडेलबाट वल्लभको निबन्धसङ्ग्रह केही भूमिकाहरु प्राप्त गरेँ । अलि पछि वल्लभ दाइबाटै प्राप्त सोचको मायामठ पढेर तृप्त बनेँ । अन्यत्र मैले त्यति धेरै पाठङ्कीय तृप्ति पाएको छैन । सङ्ग्रह धेरै दुरुह छ । धेरै पटक पढेँ र प्रत्येक पटक अलि बढी बुझ्दै गएँ । सबै पुस्तक एकपटक पढिने हुँदैनन् । केही पुस्तकले एकभन्दा बढी पठनको माग गर्छन् । पुस्तकले कराएर भन्दैन, साउती मार्छ । यो कुरा पाठकले आफैं बुझ्नुपर्छ ।

कविले गद्य लेख्नुपर्छ भन्ने ईश्वरवल्लभको अभिव्यक्तिले मलाई निबन्ध लेख्न प्रेरित गर्‍यो । त्यसो त निबन्ध मेरा निम्ति साहित्यिक क्षतिपूर्तिको विधा पनि बन्यो । म आफ्नो तीव्र अस्तित्वबोधलाई सम्बोधन गर्ने सामर्थ्य कवितामा मात्र देख्थेँ । दुर्भाग्य के भने, मेरा कविताले पाठकसँग संवाद थाल्न सकेनन् । त्यो अत्यासबाट गद्यबाट सकेजति पूर्ति गर्न चाहन्थेँ । यसका निम्ति निबन्ध जस्तो संरचनात्मक हिसाबले खुकुलो विधा सुहाउँदो थियो । केही समयलाई कविताको सघन र जटिल संरचनाबाट फुत्कन चाहेँ । तर, निबन्धमार्फत पाठकलाई फुत्कन नदिने यत्त थियो मेरो । पहिलो निबन्धसङ्ग्रह मस्तिष्कहरुको मृत्यु मा लेखेँ:

 म घामका कविता लेख्न चाहन्छु उज्यालो । म महाडको कविता लेख्न चाहन्छु अटल म हिमालका कविता लेख्न चाहन्छु श्वेत, शुभ्र र स्निग्ध । म चराका कविता लेख्न चाहन्छु निर्बन्ध । म ताराका कविता लेख्न चाहन्छु चम्किलो । म समुद्रका कविता लेख्न चाहन्छु विराट । र, म आकाशका कविता लेख्न चाहन्छु अनन्त ।

 यसरी निबन्धमा पनि कविताकै बारेमा लेखेँ । कविताबाट टाढा हुनै सकिनँ । पाठकसँग संवाद हुनुपर्छ भन्ने आग्रहको पछिल्तिरको कदम थियो मेरो निबन्ध लेखन । खण्डित बन्दै गएको जीवन र धेरै अलमलहरुबीच जेब्राक्रसनेर उभिएको झैं लाग्ने आजका मान्छेका मनोजगत्‌लाई निबन्धले जति कुन विधाले प्रतिनिधित्व गर्न सक्छ ? निबन्धमा धेरै सीमाहरु भत्किन्छन् । भत्किँदै गएका जीवनका सीमाहरुकै कारण जीवन निबन्धको सबभन्दा नजिक छ । निबन्ध निकै लचिलो विधा पनि हो । यसलाई निख्खर वस्तुपरक बनाउन पनि सकिन्छ । कथात्मक पनि बनाउन सकिन्छ, कवितात्मक पनि । अनेक विधाहरुलाई आफूमा समाहित गरेर पनि निबन्ध आफ्नो मौलिक परिचयसहित उभिने सामर्थ्य राख्छ ।

निबन्धको सामर्थ्य अनुभव गर्न केही नाम उदाहरणस्वरुप अगाडि सार्न सकिन्छ । जस्तै: धच गोतामे, डीपी भण्डारी, खगेन्द्र सङ्ग्रौला, अभि सुवेदी, नारायण ढकाल र गोविन्द वर्तमान । साथै उनीहरुका निबन्धका विशेषता र प्रवृत्तिबारे सङ्क्षिप्त चर्चा गर्न सकिन्छ । नारायण ढकालको शोकमग्न यात्रीहरु विशेष उल्लेखनीय छ । उक्त सङ्ग्रहको गिन्सबर्ग, बुटपालिस र खापीभित्रको नगरा पढ्दा विचित्र भाव र नाङ्गो यथार्थको दोहोरो मारमा म अवाक् भएँ । अवाक् हुनु जबर्जस्त विस्मयको मनोदशा हो । शोकग्रस्त पो हुन्छ, शोकमग्न कसरी हुन्छ भन्ने प्रश्न चाहिँ अनुत्तरित नै छ । निबन्धकार कस्तरी हङ्ग्री जेनेरेसनले पछ्याउने नाङ्गो यथार्थवादको त्यो गोरेटोलाई बिस्तारै त्याग्दै दायित्वबोधपूर्ण साहित्यको अर्को गोरेटोतर्फ उन्मुख भए ? त्यसको प्रभावशाली प्रस्तुति सङ्ग्रहमा पढ्न सकिन्छ । निबन्धकार ढकालका शब्दमा:

 लगभग पाँच वर्षजति म हङ्ग्री जेनेरेसनको समर्पित कार्यकर्ता बनेँ । १९७५ पछि म बिस्तारै सन्तोषसित अलग्गिन थालेँ । त्यसपछि  म शहरको डेरा छाडेर गाउँमा बस्न थालेँ । मेरो समाज, देश, आन्दोलन र दायित्वले मलाई त्यो पन्थबाट बिस्तारै अर्को राजमार्गतिर धकेल्यो । तैपनि मलाई सन्तोष, गिन्सबर्ग र खापीभित्रको नगराले बारम्बार ताजा बनाइरहन्छन् । इतिहासको त्यो क्रूर कालखण्ड पनि मेरो रचनात्मक सङ्घर्षको एक महत्वपूर्ण समय थियो ।

उक्त सङ्ग्रहका बारेमा मेरा केही साहित्यिक मित्रहरुसँग कुराकानी भयो । कथाकारद्वय अभय श्रेष्ठ, कुमार नगरकोटी र स्तम्भकार राजकुमार बानियाँ उक्त सङ्ग्रहका फ्यान हुन् । अरुको नाम सम्झिन सकिनँ अहिले । त्यस्तै, जोमसोम यात्राका कोलाजहरु निबन्ध पढेर तीनछक खाएँ । आफ्नै जिल्लाको त्यो बाटो धेरै पटक हिँडे पनि त्यति चित्ताकर्षक रहेछ भन्ने लेख पढेपछि मात्र थाहा पाएँ ।

शैली अलि परम्परागत लागे पनि धच गोतामे निबन्धका पाठकले पढ्नैपर्ने नाउँ हो । उनका निबन्धहरुमा तत्कालीन राजनीतिक व्यवस्था र कर्मचारीतन्त्रका अन्तरङ्ग वर्णन हुन्छ हास्य रसको पुटसहित । खानपिनका सन्दर्भहरु पनि रोचक र घोचक दुवै छन् । गोतामेका विचार र अनुभूतिहरु जोडिएर आउने सन्दर्भले उनी बाँचेको कालखण्ड चिन्न मद्दत गर्छ । सामाजिक इतिहास भन्न सकिन्छ उनका निबन्धलाई । अर्किडका महेश्वर आचार्यमार्फत मैले गोतामेका कालान्तर, संज्ञा सर्वनाम, सम्झनाका गल्छेडाहरुमा, तीन वास उत्तरोत्तर पढेँ । सबै निबन्धसङ्ग्रह छोटो समयमै बुत्याएपछि गोतामे मेरा प्रिय निबन्धकार बन्न पुगे ।

निबन्धकार खगेन्द्र सङ्ग्रौला स्पष्ट र निर्भीक विचार, छरितो भाषा-शैली र आफ्नो धरातलको स्पर्शले मेरा रोजाइमा पर्दछन् । भाषिक हिसाबले नबुझिने समस्या सङ्ग्रौलाका निबन्धमा छँदै छैन । बरु प्रष्ट भएकै कारण कसैले असाध्य माया गर्ने र कसैले मन नपराउने भएको होला । छापाका लेखहरुबाट आकर्षित भएर उनका निबन्धसङ्ग्रह सम्झनाका कुइनेटाआफ्नै आँखाको लयमा पढेँ र मनग्य मन पराएँ । म उनको राजनीतिक लेखको फ्यान होइन । बरु उनका संस्मरणात्मक निबन्धहरुमा भेटिने अन्तदृष्टिहरुले धेरै तृप्ति दिन्छ । एकसे एक अजीवोगरिब पात्रहरुले सँगै हँसाउँछन्, सँगै द्रवित पनि गराउँछन् । उनी हाम्रो समयका धेरै शक्तिशाली लेखक हुन् । उनलाई पढ्दा आफू उभिएको समाज बुझ्न मद्दत गर्छ ।

शङ्कर लामिछाने र सङ्ग्रौलामा केही आधारभूत भिन्नताहरु स्पष्ट दृष्टिगोचर हुन्छन् । शङ्कर लामिछानेका मनोविज्ञानको केन्द्र बलियो छ, सङ्ग्रौलामा सामाजिक केन्द्र । शङ्कर लामिछाने जीवनमा समाहित हुने स्रष्टा, सङ्ग्रौला जीवनलाई दूरीमा राखेर हेर्ने स्रष्टा । शङ्कर राजनीतिसँग सरोकार नराख्ने निबन्धकार । सङ्ग्रौला राजनीतिमा धेरै संलग्न स्रष्टा । सङ्ग्रौला जीवनको उदात्त आदर्शलाई सर्वोपरि राख्न प्रयत्नशील निबन्धकार ।

निबन्धकार अभि सुवेदीका विषयमा भने मसँग भन्ने कुरा धेरै छैन । उनका निबन्धको सिङ्गो पुस्तक पढ्न नसक्नु मेरो थकथकी बनेको छ । त्यही कारण पनि मैले स्पष्ट धारणा बनाउन सकेको छैन । तैपनि कान्तिपुर र अन्य साहित्यिक प्रकाशनमा पढेका छिटपुट रचनाका आधारमा तीन शब्दको जोडले बन्ने निबन्धका शीर्षक नै उनको सिग्नेचर बनेको छ । उनका निबन्धको आशय के हो ? अर्थ सङ्केत कतापट्टि हो ? आँखा चिम्लेर पत्ता लगाउन जोड गर्छु । तर, पटक्कै पक्डन सक्दिनँ । सजिलै बुझिने लेखक उनी होइनन् ।

सुवेदीका निबन्ध बौद्धिक र प्रतीकात्मक हुन्छन् । सोझै अर्थ दिनेभन्दा पनि सङ्केतले कतै इङ्गित गर्नुमा उनको जोड छ । अर्धमूर्त जस्ता लाग्ने तर सम्प्रेषणको हिसाबले ईश्वरवल्लभभन्दा बढी बोधगम्य । चेतनप्रवाह शैलीमा आफैं समाहित भएर लेख्ने र दूरक्षितिजबाट आएका जस्तो लाग्ने उनका निबन्धमा सायद आजका समयका स्वरहरु छन् ।

निबन्ध लेखनका अनेक चुनौतीहरु छन् । अध्ययनको फराकिलो दायरामा विश्वास नगर्नेले निबन्धमा विषयगत विविधता दिन सक्दैन । आत्मपरक निबन्ध र नियात्रा लेख्दा विषयहरु पुनरावृत्ति हुने खतरा सदैव रहन्छ । कारण हाम्रो अनुभवको सीमा छ । छोटो समयमा हामीले धेरैथरी अनुभव गर्न सकेका हुन्नौं । अनुभव गरिएजति सबै लेख्न लायक पनि हुन्न । फेरि हाम्रो अनुभव विशाल समुद्रबाट एक गाग्री पानी लिएसरि नै हो । त्यो गाग्रीको पानीले समुद्रको समग्र पानीलाई कति प्रतिनिधित्व गर्छ, भन्न सकिँदैन । त्यसैले महान् लेखकहरुले पठन र अध्ययनलाई धेरै जोड दिएका छन् ताकि अरुको अनुभव र अनुभूतिहरुसँग साक्षात्कार गर्न सकियोस् ।

निबन्ध विधाभित्रका संस्मरणात्मक निबन्ध पछिल्लो समयमा सर्वाधिक लोकप्रिय भएका छन् । जगदीश घिमिरेको अन्तर्मनको यात्रा, झमक घिमिरेको जीवन काँडा कि फूल र आनी छोइङको फूलको आँखामा आदि यसका साक्षी हुन् । निबन्धमा आउने निजात्मक अनुभूतिहरुले पाठकहरुलाई गहिरो गरी छोएका छन् । नियात्रामा भने स्थान, पात्र र घटनाको सर्सर्ती विवरण मात्र दिने प्रवृत्ति पनि देखिएको छ । नियात्रा लेख्नकै लागि यात्रामै निस्कने यान्त्रिक प्रवृत्ति पनि छ । त्यस्ता सपाट विवरण नियात्राका समग्री हुन सक्छन् तर आफैं निबन्ध हुन सक्दैनन् । विवरणले मात्र कलात्मक मूल्य स्थापित हुँदैन । लेखकले विवरणमा अनुभूति र विचार गालेर उचित सन्तुलनमा मिसाउन सक्यो भने शब्दले अर्थभन्दा पर गएर स्पर्श गर्छ र पाठकको मन झङ्कृत गरेरै छाड्छ । यात्राका दौरानमा प्राप्त हुने विविध अनुभव र अनुभूतिले नियात्राकार आफैंलाई स्पर्श नगरुन्जेल नियात्राले पाठकलाई कदाचित् छुन सक्दैन ।

हाम्रा पूर्ववर्ती निबन्धकारहरुले निर्माण गरेका निबन्धको गोरेटोलाई अझ फराकिलो बनाउन अहिलेको पुस्ता गम्भीर छ । बेजोडसँग प्रस्टै देखिने शङ्कर लामिछाने, धच गोतामे, कृष्णचन्द्रसिंह प्रधान अहिले नहोलान्, तर अबको समयमा जस्तोसुकै प्रतिभालाई पनि त्यस्तो शिखर सायद सम्भव छैन । आदिकवि भानुभक्त अहिले जन्मेका भए तुना भएको भोटो र बिर्खे टोपी लगाउँदैनथे भन्ने कुरा सत्य भए झैं अबको समयमा एक्लो नक्षत्र हुन असम्भव छ ।

स्विकार्नुपर्छ, कमजोर नहुँदानहुँदै पनि निबन्ध विधामा पछिल्लो समय धेरै समर्थ छैन । छिटपुट रुपमा पत्रपत्रिकामा प्रकाशित भइरहने निबन्धकारहरुका लेखाजोखा त यहाँ गरेकै छैन । निबन्धको ऐतिहासिक नालीबेली केलाउने यो लेखको उद्देश्य पनि होइन । निबन्ध लेख्ने हैसियतमा र पाठकीय दृष्टिले निबन्धका विषयमा निर्बन्ध विचरण मात्र गरेको हुँ । यो लेख व्यवस्थित अध्ययनको उपज नभएकाले निबन्ध जस्तै कहीँ फुकेको होला, कहीँ खुम्चिएको होला । कहीँ वाचाल भएर कुदेको होला, कहीँ मौन भएर हिँडेको होला । निबन्धको गोरेटोमा अनवरत हिँडिराख्यो भने गन्तव्यमा पुगिन्छ भन्नेमा मेरो पुस्तालाई शङ्का छैन ।

धोबीघाट एक्सप्रेस (०७०) बाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?