१३ भदौ, बाह्रबीसे । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार सुनसान भएको साढे दुई वर्ष भयो । सीमानामा स्थानीयको आवत-जावत छैन । भूकम्पले जीर्ण बनेको तातोपानी भन्सारको भवनमा दुईजना सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेका छन् ।
दैनिक हजारौंको आवत-जावत हुने यो क्षेत्रमा अहिले मानवका नाममा दुईजना सशस्त्र प्रहरीमात्रै छन् । निरन्तर सुसाइरहने भोटेकोशी, भन्सार माथिबाट निरन्तर झरिरहने पहिरो अनि बेलाबेलामा गइरहने पराकम्पनबीच दुईजना सशस्त्र प्रहरीले गरिरहेका छन् हाम्रो सीमानाको सुरक्षा ।
अत्याशलाग्दो पहिरो, माथिबाट खसेको ठूला-ठूला चट्टान अनि उर्लँदो भोटेकोशीको छेउमै सशस्त्र प्रहरी छन् । उर्लँदो भोटेकोशी र जतिबेला पनि झरिरहने पहिरोको त्रासले गर्दा हुन सक्छ, चिनियाँ सुरक्षाकर्मीहरुले सीमाको ढोका बन्द गराएका छन् । र, उनीहरु मितेरी पुलभन्दा ९ किलोमिटर माथि गएर बसेका छन् । यसअघि उनीहरु मितेरी पुलको चिनियाँ साइडमा तैनाथ थिए ।
सीमाक्षेत्रमा मानव आवाज नसुनिएको र नदेखिएको लामो समय भइसकेको छ । त्यहाँ केही थान बाँदरभन्दा सीमा क्षेत्रमा अरु कोही छैनन् । खण्डहर बनेका छन् आलिसान घरहरु । कुनै घरभित्र ठूला-ठूला ढुङ्गा पुरेर भ्वाङ मात्रै छन् भने बाँकी रहेका अरु केही घरलाई पनि क्रमशः पहिरो र भोटेकोशीले कटान गर्दै लगेको छ ।
विगतमा चहल-पहल भइरहने सीमाक्षेत्रको लिपिङ बजारमा अब जीर्ण केही थान घरहरु बाहेक अरु सबै पहिरो र ठूला ढुंगा मात्रै देखिन्छन् ।
लिपिङ बजार नजिकै रहेको बसपार्क छेउका केही घरमा केही स्थानीय बसिरहेका भेटिए । भोटेकोशी नदीले क्रमशः घर छेउ कटान गर्दै लगेको छ । सँगै रहेको घट्टेखोलाको पनि उत्तिकै डर छ यहाँ बस्नेहरुलाई ।
राजधानी लगायत अन्यत्र घर हुनेहरु भूकम्पलगत्तै सीमा छाडेर हिँडेका छन् । तर, कतै पनि बसोबास नभएकाहरु पनि त्रासैत्रासमा यहीँ बसिरहेका छन् । ‘अन्त जाउँ ठाउँ छैन, मरे पनि यहीँ मर्ने, अन्त कहाँ जानु, हामी त यहीँ बसिरहेका छौं’ एक स्थानीयले भने ।
‘सरकार नदेखेको २ वर्ष भयो’
लिपिङ बजार नपुग्दै सडक छेउको जीर्णघरमा भाँडा माझिरहेका अवस्थामा भीमबहादुर श्रेष्ठ । उनले सरकार नदेखेको दुई वर्षभन्दा बढी भएको गुनासो पोखे ।
सीमामा त्रास र आंशकाका वीच बसेका भीमबहादुर भन्छन्, ‘हाम्रा लागि सरकार छ कि छैन थाहा छैन, सरकार भए त हामीलाई हेर्थ्यो होला नि ।’
तातोपानी नाका चालु हुँदा सामान्य व्यापार गरेर जिविका चलाउँदै आएका श्रेष्ठ यो नाका बन्द भएपछि दैनिकी चलाउनै समस्या भएको गुनासो गर्छन् । सरकारसँग श्रेष्ठको केही गुनासो छैन, मात्रै आशा र आग्रह यति छ, कि नाका खोल्नु पर्यो, कि वैकल्पिक पेशाको व्यवस्था गरिदिनु पर्यो ।
अर्को बज्रपात
नाका खुल्ने आशैआशमा बसेका सीमाबासीलाई अहिले फेरि अर्काे बज्रपात आइलागेको छ । जसोतसो जीवन बिताइरहेका नाकाबासीको अहिले सडक सम्बन्ध टुटेको छ । लार्चाको पुल पहिरोले भत्किपछि साविकको तातोपानी गाविसका सयौं स्थानीयको दैनिकी यतिबेला झन् कष्टकर बनेको छ ।
पहिरोसँगै आएको ढुंगाले लार्चामा रहेको पक्की पुल भत्काएपछि अहिले नेपाल-चीन सीमा तातोपानीसँगको सडक सम्बन्ध टुटेको झण्डै एक महिना बितिसकेको छ । अस्थायीरुपमा बेलीब्रिज जडान गर्नका लागि पुलको सामाग्री त ल्याइयो, तर त्यो जडान हुन सकेको छैन ।
राजनीतिक दलहरुका नेताहरुले बेलीब्रिज आफूले ल्याएको स्याल हुइँया मच्चाए पनि अहिले बेलीबिज्रका सामाग्री लार्चामा अलपत्र छन् । र, भोटेकोशीमाथि राखिएको एउटा अस्थायी साँघुबाट तातोपानीका स्थानीय जोखिमपूर्ण तरिकाले ओहोर-दोहोर गर्न बाध्य छन् यहाँका बासिन्दा ।
पानी ठूलो पर्दा अस्थायी साँघु तर्न निकै जोखिम छ, नदी सतहको केही माथि नै अस्थायी साँघु राखिएकाले बहाव बढ्नासाथ त्यो साँघु पनि कतिबेला बगाएर लैजाने भन्ने त्रासमा छन् स्थानीय ।
कोदारी माविकी शिक्षिका प्रविता राउत छोरालाई बोकेर अस्थायी साँघु तरिरहेकी थिइन् । ‘नदीको पानी नै छोला जसरी राखिएको साँघु तर्न एकदम डर लाग्छ,’ उनले भनिन्, ‘साथी भएन भने त आवत-जावत गर्न नै सकिँदैन ।’
बाह्रबीसेदेखि सीमासम्म पुग्ने ३० किलोमिटर सडक यतिबेला कतै सग्लो छैन । जताततै पहिरो र भोटेकोशी नदी कटानले गर्दा पैदल हिँड्नकै लागि पनि स्थानीयलाई समस्या छ ।
बाह्रबीसेमाथि अहिले सवारी साधन सञ्चालन हुनै छाडेको छ । सीमा क्षेत्रका स्थानीयको दैनिकी यति कहालिलाग्दो देखिएको छ कि कल्पना समेत गर्न सकिँदैन ।
‘पुल बगाएपछि त निष्पट्ट अन्धकार जस्तै भयो,’ कोदारीका स्थानीय रामकृष्ण बिकले भने, ‘अलि अलि पैसा भए पनि किनेर खाने ठाउँ छैन । न विरामी हुँदा उपचार गर्न नै सकिएको छ ।’
उपचार अभावमा एकजना सुत्केरीले अकालमा नै ज्यान गुमाउनु परेको बिकले सुनाए । ‘खै हाम्रा लागि त हेरिदिने कोही भएन, विपत्ती पनि हाम्लाई मात्रै आउँदोरहेछ कि क्या हो,’ पीडा मिश्रति स्वरमा बिकले भने, ‘हामी त धेरै समस्यामा परेका छौं,’ भूकम्पले घर भत्कायो, बाँकी जमिन पनि सबै पहिरोले लग्यो, बस्ने ठाउँ नै छैन ।’
भिरालो बस्ती, भूकम्पले चिरा परेको जमीनमा निरन्तर वर्षाका कारण पहिरोले गर्दा यहाँका धेरै मानिसहरु विस्थापित भएका छन् । चौतर्फी घेराबन्दीमा तातोपानीका स्थानीय छन् । तर, पनि आश मारेका छैनन् उनीहरुले । उनीहरु भन्छन्- सरकारले हाम्रा लागि केही न केही त पक्कै गर्नेछ ।
‘डोजर माग्दा इञ्जिनियरको फोन अफ’
जुरे पहिरोस्थलदेखि नयाँ पुलसम्म बाह्रबीसे नगरपालिकाको क्षेत्र हो । जुरे, महभिर, खाग्दल, सखुवा लगायतका दर्जन बढी स्थानमा गएको पहिरोले दैनिकजसो यातयातका साधन अवरुद्ध हुने गरेको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबीसेदेखि माथिको सडकमा यातायात सञ्चालन हुन सकेको छैन । भोटेकोशी नदीको कटान र पहिरोले गर्दा सडक बिग्रेको छ । तर, बिग्रेको सडक मर्मत गरी यातायात सञ्चालन गर्न सडक विभागलाई भन्दा त्यसका प्रमुख फोन अफ गरेर सम्पर्कमा नै आउन नचाहेको बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए ।
‘सडक बिग्रन्छ, डोजर पठाउनु पर्यो भनेर सम्पर्क गर्छु, फोन नै अफ गरेर हाकिम बस्छन्,’ शेर्पाले भने, ‘हामीसँग साधन स्रोत छैन, सडक विभागलाई भन्यो, वास्ता गर्दैन, समस्या भयो ।’
सडक विभागले वास्ता नगरेपछि निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना र त्यसको चिनियाँ ठेकेदारसँग आग्रह गरेर अवरुद्ध सडक मर्मत गर्ने गरेको शेर्पाले सुनाए ।
‘नगरपालिकाको समन्वयमा भोटेकोशीले सहयोग गरिरहेको छ, हामी नगरपालिका क्षेत्रभित्रका सबै सडकहरु सफा गरेर दशैंमा सवारी साधन सञ्चालन हुने व्यवस्था गर्छौं,’ शेर्पाले भने ।
प्रतिक्रिया 4