२८ भदौ, काठमाडौं । कोसी उच्चबाँध निर्माणका लागि भारतसँग सहमति भएको प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिप्रति सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन् ।
‘कोशी उच्च बाँध त्यसरी बनाएर हुँदैन,’ बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘यसको लागि विस्तृत अध्ययन जरुरी छ । बिना अध्ययन कोशी उच्चबाँध बनाउने कार्यलाई हामीले समर्थन गर्दैनौं ।’
मंगलबार राजविराजमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोशी उच्चबाँध निर्माण गरी बाढी समस्याको अन्त्य गर्ने सहमति भएको बताएका थिए ।
राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कोसी उच्च बाँध नेपालीको हितमा नभएको बताए ।
प्रचण्डले सप्तरी जिल्लाको विकासका लागि एउटा राम्रो प्याकेज बनाइरहेको बताए । राजविराजमा आफ्नो पार्टी जिते पुरै तागत लगाएर विकसित र राम्रो शहर बनाउने बताउँदै उनले भने, ‘प्लानिङ गरेर बनाइएको राजविराज शहर अहिले धेरै नै पछि परेको छ । यसलाई सुन्दर र नमूना बनाउन सकिन्छ ।’
बाढी आएपछि आफू नै पहिलो पटक सप्तरी आएको बताउँदै उनले राहत वितरण गरेर मात्र सरकारले आराम गर्न नपाउने बताए । ‘पुनःस्थापनाको प्याकेज जरुरी छ,’ उनले भने, ‘यसबारेमा प्रधानमन्त्रीसँग कुरा गरिसकेको छु । तयारी भइरहेको छ ।’
प्रतिक्रिया 4