+
+

प्रधानमन्त्रीलाई भुटानी शरणार्थीको ज्ञापनपत्र

शरणार्थी मुद्दा अन्तर्राष्ट्रियकरण गरिदिन आग्रह

रासस रासस
२०७४ भदौ ३१ गते ८:४४

३१ भदौ, दमक। भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार ज्ञापनपत्र पठाएका छन् ।

अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री देउवालाई भुटानीको संस्थाले अपिल पठाउँदै त्यस्तो माग दोहोर्याएका हुन् । भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता सन्तवीर घलेले अमेरिकाको राजधानी न्युयोर्कमा हुन लागेको ७२औँ महासभा बैठकमा नेपालमा शरणागत जीवन बिताइरहेका भुटानीको समस्यालाई गम्भीर ढंगले उठाइदिन आग्रह गरिएको बताए ।

विज्ञप्तिमा भनिएको छ – झापा र मोरङका दुई वटा शिविरमा आश्रित भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको मुद्दा सशक्त बनाउन पनि अब यो मुद्दालाई राष्ट्र संघमा उठाइदिन जरुरी छ ।’

लामो समयदेखि भुटानी शरणार्थीको स्वदेश फिर्तीको कुरा ओझेलमा परेको स्मरण गराउँदै संस्थाले महासभाको बैठकले सो मागलाई मुख्य कार्यसूचीका रुपमा उठाइदिन प्रधानमन्त्री देउवासँग माग गरेको प्रवक्ता घलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । उनले भने, ‘भुटान सरकारलाई दबाब दिनका लागि महासभाको बैठक अत्यन्त अनुकूल छ, यसबाट शरणार्थी आशावादी रहेका छन् । हामीले वर्षौंदेखि स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै आएका छौँ, हाम्रो समस्या महासभामा उठाइए अन्तर्राष्ट्रिय मुद्दा बन्ने छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?