+
+

महाकाली अस्पतालका चिकित्सक कुटिए, आकस्मिकबाहेकका सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २३ गते ८:१९

२३ असोज, कञ्चनपुर । ड्युटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ ।

शनिबार राति अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको बच्चा मृत जन्मिएको विषयमा लिएर उनकाआफन्तले अस्पतालका चिकित्सक, नर्स र अस्पतालको सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेका थिए ।

आफन्तले अस्पतालका डा सत्यप्रकाश कोइरालामाथि हातपात गरेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए । चिकित्सक र स्वास्थ्यकर्मीले घटनाको विरोधमा आइतबार बिहानदेखि आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् ।

उक्त क्रममा अस्पतालमा खटिएका एक प्रहरी जवानको टाउकामा गम्भीर चोट लागेको छ ।

अस्पतालका चिकित्सक महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामै जन्मिएको दाबी गर्छन् । तर महिलाका आफन्तले भने सुत्केरीको वार्डमा रहेको नर्सको लापर्बाहीले बच्चाको मृत्यु भएको आरोप लगाएका छन् । ‘जन्मिँदै बच्चाको मृत्यु भइसकेको थियो’, चिकित्सक कोइरालाले भने, ‘तर महिलाका आफन्त आक्रोशमा आएर हातपातमै उत्रिए ।’

बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गर्ने कामले असुरक्षित भएको भन्दै आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चिकित्सकमाथि आक्रमणमा संलग्न भएकाले बिरामीका पाँच जना आफन्तलाई नियन्त्रणमा लिएको बताए । उनले घटनामा संलग्नमाथि आवश्यक कानूनी कारबाही हुने बताए । चिकित्सकको आन्दोलनपछि अस्पतालको सेवा प्रभावित बनेको छ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?