+
+

लुटेराको गोलीले सर्लाहीमा सुन व्यापारीको ज्यान गयो

सप्तरीमा गोली चल्दा डिस्टिलरीका सुरक्षा गार्ड घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २५ गते ८:२१

२५ असोज, काठमाडाैं ।  सप्तरी र सर्लाहीमा मंगलबार बेलुका गोली चल्दा एकजनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।

सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक सुन व्यापारीको ज्यान गएको हाे ।

मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएकाे छ ।

मृतकका पिता नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कंदै गर्दा बाटो ढुकेर बसेका तीन/चार जनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजेका थिए ।

सर्लाही प्रहरीका अनुसार प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनि गोली हानी हत्या गरी मृतकका पिता नागेन्दर साहको झोलामा रहेको नगद तथा सुन, चाँदीसमेत लिएर फरार भएका छन् ।

गम्भीर घाइते साहलाई उपचारका लागि सर्लाही जिल्ला अस्पताल पुर्याइएलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।

जिल्ल प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले गोली हानी फरार समूहको खोजी भइरहेको जानकारी दिए ।

उता, सप्तरीको सुरुङ्गा नगरपालिकामा मंगलबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । सुरुङ्गा नगरपालिका–६ स्थित त्रियुगा डिस्टिलरी प्रालिका सुरक्षा गार्ड नवराज कोइरालाल अज्ञात समूहले चलाएकाे गाेली लागेर घाइते भएका हुन् ।

ड्युटीमा रहेका कोइरालामाथि मंगलबार राति ७ः३० बजेतिर गोली प्रहार गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

कोइरालाको कम्मरमा गोली लागेको छ । उनको अवस्था सामान्य रहेको र अस्पतालबाट समेत डिस्चार्ज भइसकेको जानकारी प्रहरीले दिएको छ ।

गोली प्रहार गर्ने समूह फरार छ । कोइरालामाथि किन गोली प्रहार गरियो भन्नेबारे हालसम्म केही पनि खुलेको छैन । एसपी सिंहले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?