+
+

यस वर्ष चितवनमा धानको उत्पादन घट्ने

सुवास पण्डित सुवास पण्डित
२०७४ कात्तिक १९ गते १८:५७

१९ कात्तिक, चितवन । राजनीतिक दल र उम्मेदवारलाई चुनावी चटारो लागिरहेका बेला, चितवनमा भने किसानहरुलाई धान काट्ने हतारो छ ।

कपितय स्थानमा धान काटिसकिएको छ भने अधिकांश ठाँउमा काट्ने क्रम शुरु भएको छ । जिल्लाको धानवालीमा यसपटक देखिएको रोग र किराका कारण धान उत्पादनमा भारी गिरावट आउने जिल्ला कृषि विकास कार्यालयले प्रक्षेपण गरेको छ ।

समग्रमा देशको धान उत्पादन वृद्धि हुने प्रक्षेपण गरिए पनि जिल्लामा भने धानको उत्पादन घट्ने देेखिएको हो ।

पोके, सेतो पुलती, धान डढ्ने, वढ्न नसक्ने, पछौटे रोपाइ विभिन्न कारणले गर्दा यस वर्ष धानको उत्पादनमा गिरावट आउने देखिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । जिल्लाको पूर्वी क्षेत्रमा धान भित्राउने अन्तिम अवस्थामा भएपनि जिल्लाको पश्चिम क्षेत्रमा पाक्न लागेकाले के कती मात्रामा गिरावट आउने यकिन गर्न नसकिएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।

जिल्लामा २९ हजार २ सय हेक्टरमा धान लगाइएको छ । यस वर्षको धानवालीमा १८ प्रतिशत धान रोगले असर पारेको छ । क्षेत्रफलका हिसावले ७ हजार हेक्टर भन्दा धेरै स्थानमा लगाइएको धानवालीमा पोके, डढुवा लगायत विभिन्न रोगले उत्पादानमा ह्रास आउने अवस्था रहेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिए ।

‘अघिल्ला अघिल्ला वर्षहरुमा भन्दा यसपटक धानवालीमा रोगले धेरै सताएको छ ।’ उनले भने ‘समग्रमा जिल्लामा रोगले धानको उत्पादन घट्ने देखियो ।’

धानको बाला लागेपछि पोके रोग लाग्छ । यस्तो अवस्थामा विषादी छरेर पनि काम लाग्दैन । ‘पोके रोगले धानको उत्पादनमा सवैभन्दा धेरै असर गर्दछ ।’ उनले भने ‘उत्पादन लिने समयमा धानमा रोग लाग्यो ।’

रोग लाग्नुको मुख्य कारण अत्याधिक विषादीको प्रयोग, रासायनिक मलको वढ्दो प्रयोगका कारण माटोमा धानले आवश्यक खाद्य तत्व लिन नसक्नु लगायत रहेको विज्ञहरुको निश्कर्ष छ ।

यस वर्ष रोपाईं भएको क्षेत्रफलमा रोग नलागेको अवस्थामा एक लाख २५ हजार मेटि्रकटन धान उत्पादन हुने लक्ष्य कृषि विकास कार्यालयले लिएको थियो । गएको वर्ष २९ हजार ३ सय ७५ हेक्टर क्षेत्रफलमा एक लाख ३ हजार मेटि्रक्टन धान उत्पादन भएको थियो । तर, यस वर्ष रोपाइ हुने एक सय हेक्टर भन्दा धेरै क्षेत्रफल घटेको छ । त्यस माथि पनि रोगले गर्दा धानले उत्पादन दिन सकेको छैन । जग्गा प्लटिङ, घर निर्माण, खाली जमिन छाड्नेको संख्यामा वृद्धि, सडक निर्माण लगायतको कारणले गर्दा धान हुने जग्गा मासिएको छ ।

कृषि विकास कार्यालयका अनुसार धानमा रोग लाग्न नदिनको लागि विऊ छनोटदेखि नै सावधानी अपनाउनु पर्ने छ । राम्रो विउ छनौट गर्ने, मिसावट विउबाट बच्नु पर्ने, विउ राख्नु पूर्व वेविष्टीन पाउडर हाल्नु पर्ने, विउको व्याड राख्ने स्थानमा रोग किराबाट मुक्त वनाउनु पर्ने, समयमा नै धान रोप्नु पर्ने र रोपिसकेपछि समस्या आउने वित्तिकै समाधानको उपाय अपनाउन सकेमा डढुवा, पोके रोग, झ्याउरो भएर नवढ्ने जस्ता रोगबाट वच्न सकिने प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?