+
+

यी हुन् वाम गठबन्धनका शिकार एमाले नेता

राजनीति जोगाउन कोही प्रदेशतिर झरे

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २० गते ११:०२

२० कात्तिक, काठमाडौं । एमाले पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडा यसपटक उदयपुर क्षेत्र नम्बर २ मा चुनाव जित्ने योजनामा थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका ८ मध्ये ६ तह जिताएका खतिवडाले पार्टीबाट टिकट पाउने निश्चित थियो । र, पाए पनि ।

वामपन्थी गठबन्धनपछि पनि उनको क्षेत्र माओवादीको दाबीमा परेको थिएन । माओवादीले क्षेत्र नम्बर १ मागे पनि अन्तिममा एमालेले दुबै क्षेत्र लिने भन्दै अध्यक्ष केपी शर्मा ओलीले खतिवडालाई टिकट दिएर पठाए । तर, आइतबार खतिवडाले पार्टीको निर्देशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिएर माओवादीका सुरेशकुमार राईलाई समर्थन जनाउनुपर्‍यो ।

यो भन्दा ठूलो चोट सहनुपर्‍यो एमालेकै युवा नेता निरज आचार्यले । जाजरकोटको ‘क’ मा प्रदेशसभा सदस्यको मनोयन गरेर चुनाव प्रचार थालिसकेका आचार्यलाई पार्टीले उम्मेदवारी फिर्ता लिएर माओवादीलाई छाड्न निर्देशन दियो । पार्टी निर्णयको अघि केही नलागेपछि उनले ‘ओली टिकट ओलीलाई नै फिर्ता’ भन्दै उम्मेदवारी त्यागेर काठमाडौं फर्किए ।

यी दुई पात्र एमालेभित्र वामपन्थी गठबन्धनको शिकार बनेका प्रतिनिधि युवा हुन् । पार्टीभित्र राम्रो सम्भावना भएका केही युवा नेताहरु वामपन्थी गठबन्धनका कारण यसपटक उम्मेदवार बन्न पाएनन् । जित्ने मत हुँदा हुँदै पनि वाम गठबन्धनका नाममा उनीहरुलाई ‘शहीद’ बनाइएको चर्चा एमाले पंक्तिमा चलेको छ ।

जगन्नाथ र निरजले उम्मेदवारी फिर्ता लिएका कारण उनीहरु चर्चामा रहे । तर उम्मेदवारी नै दिन नपाई गठबन्धनको शिकार हुने एमालेका प्रभावशाली युवा नेताहरु अरु पनि छन्, जो यसपटक उम्मेदवार बन्ने निश्चित थियो र जित्न सक्ने उम्मेदवार मानिन्थे ।

अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराई विद्यार्थी राजनीति सकिएपछि निरन्तर रुपन्देहीमा जनस्तरको राजनीतिमा खटिएका थिए । उनी नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि कपिलबस्तु जिल्ला इन्चार्ज भए पनि रुपन्देहीमै बढी खटिए ।

माओवादी र कांग्रेस तालमेल गर्दा पनि उनलेसैनामैना नगरपालिकामा एमालेलाई जिताएर संसदीय चुनावमा आफ्नो जितको आधार तयार पारे । रुपन्देही ५ बाट उनको नाम एकल रुपमा सिफारिस भयो । तर पार्टीले वामपन्थी गठबन्धन गर्दा सो क्षेत्र माओवादीका पर्यटक नेता डिलाराम आचार्यलाई छाडेपछि उनी उम्मेदवारीबाट बन्चित भए ।

मतको हिसाबले चौथो स्थानमा रहेको माओवादीलाई पहिलो स्थानको एमालेले छाडेपछि खिमलालको सांसद बन्ने सपनामात्र रोकिएको छैन,सो क्षेत्रनै बामपन्थी गठबन्धनको हातबाट उम्किने चिन्ता पनि उनले व्यक्त गपरेका छन् । ‘तालमेलले हामी जस्तालाई त शहीद बनायो नै, ३ हजार मत भएको उम्मेदवारलाई १५ हजार मत खन्याएर जिताउन गाह्रो हुने अवस्था धेर्रैतिर छ’ ।

गठबन्धनका कारण चुनाव लड्ने र जित्ने तयारीमा रहेका एमालेका अन्य केही नेताहरु पनि ५ वर्ष पछि परेका छन् । युवा नेता तथा सोलुखुम्बु जिल्ला अध्यक्ष मानवीर राई, सर्लाही जिल्ला अध्यक्ष तथा प्रभावशाली युवा नेता रेवती पन्त पनि गठबन्धनकै कारण उम्मेदवारीबाट बन्चित भए ।

एमालेका काठमाडौं जिल्ला इन्चार्ज साबित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर पनि गठबन्धनको शिकार बने । रामेछापमा तेस्रो रहेको एमालेलाई स्थानीय तह चुनावमा पहिलो बनाएर संसदीय चुनावको तयारीमा रहेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवशंकर पौडेल पनि गठबन्धनको शिकार भए ।

गठबन्धनकै कारण प्रतिनिधिसभाको उम्मेदवार बन्नबाट बञ्चित भएका प्रभावशाली युवा नेताहरु अरुण नेपाल, शेरधन राई र राजेन्द्रकुमार राईहरु भने प्रदेशसभाको उम्मेदवार बन्न पुगेका छन् । तालमेलकै कारण केन्द्रीय सदस्य माधव अर्याल रसुवाबाट प्रदेशसभा उम्मेदवार बन्न पाएनन् ।

प्रदेशको उम्मेदवार पनि नबन्दा राजनीतिक भविष्यनै समाप्त हुनेभएपछि उनीहरु प्रदेशतिर लागेका हुन् । त्यसो त वाम गठबन्धनकै कारण दाङ २ लाई आफ्नो सुरक्षित क्षेत्र बनाएर बसेका स्थायी कमिटी सदस्य शंकर पोखरेलनै प्रदेशसभाको उम्मेदवार बन्नुपर्‍यो ।

जितेका सांसद उम्मेदवारीबाटै बञ्चित

वामपन्थी गठबन्धनकै कारण ०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेर जितेका केही लोकपि्रय सांसदहरु पनि यसपटक उम्मेदवार बन्नबाट बन्चित भए । तालमेलमा उनीहरुको क्षेत्र माओवादीलाई परेपछि चुनाव जितेकाहरुनै उम्मेवार हुन नपाएका हुन् ।

सुनसरी २ बाट फराकिलो मतान्तरले जितेका रेवती भण्डारीले संसदमा सशक्त भूमिका निर्वाह गरेका थिए । यसपटक पनि उनी त्यहाँ चुनाव जित्ने गरि खटिएका थिए । तर, तालमेलका क्रममा जनमतका हिसाबले निकै कमजोर रहेको माओवादीलाई सो क्षेत्र पारिएपछि भण्डारी उम्मेदवारीबाट बन्चित भए ।

आफ्नो राजीतिक भविश्य सिध्याउन पार्टी सचिव तथा प्रदेश संयोजक भीम आचार्यले कांग्रेससँगको मिलेमतोमा सो क्षेत्र माओवादीलाई जिम्मा लगाएको आरोप भण्डारीको छ । ‘भीम आचार्यले कांग्रेस जिताउन मेरो क्षेत्र माओवादीलाई जिम्मा लगाए’ उनले भने ।

ताप्लेजुङ २ बाट दुई पटक चुनाव जितेका डम्बर तुम्बाहम्फेले पनि माओवादीका टंक आङबोहाङका लागि सो क्षेत्र छाड्नुपरेको छ । ताप्लेजुङ २ मा ०४८ देखियताका सबै चुनाव एमालेले जित्दै आएको थियो ।

त्यस्तै एमालेका प्रभावशाली युवा नेता रविन कोइरालाको झापा १ माओवादीको भागमा परेपछि उनी उम्मेदवार बन्न पाएनन् । यसअघि कोइरालाले जितेको क्षेत्रबाट माओवादीका राम कार्की उम्मेदवार बनेका छन् ।

कपिलबस्तु १ बाट २०७० मा कांग्रेस नेता दिपकुमार उपाध्यायलाई पराजित गरेका एमाले नेता बलराम अधिकारी पनि यसपटक टिकटबाट बन्चित भए । उनको क्षेत्र माओवादीका चन्द्र खनाललाई छाडिएपछि उनी उम्मेदवार बन्न पाएनन् ।

गठबन्धनका कारण उम्मेदवार बन्न नपाउने नितर्वमान सांसदमा सर्लाही ३ का बलराम उप्रेती,काभ्रे २ का रामहरी सुवेदी, बाँके १ का देवराज भार अर्घाखाँचीका डा.दुमन थापा लगायतछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?