+
+

वैद्य माओवादीको घोषणापत्रः कांग्रेस, एमाले र माओवादी एउटै सिक्काको दुई पाटा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २२ गते ९:४३

२२ कात्तिक, काठमाडौं । वैद्य माओवादीले देशमा नयाँ राजनीतिक शक्ति आवश्यक भएको र त्यसको नेतृत्व आफूले गर्ने नीतिसहितको चुनावी घोषणापत्र तयार पारेको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाको नामबाट प्रदेश र प्रतिनिधि सभा चुनाव लड्न लागेको वैद्य माओवादीको घोषणापत्रमा राजनीतिक क्रान्तिको नेतृत्व आफूले मात्र गर्नसक्ने उल्लेख छ ।

‘पहिलो आवश्यकता राजनीतिक क्रान्ति हो । त्यसपछि मात्र विकासको कुरा आउँछ,’ वैद्य माओवादीका कार्यालय सचिव हरिकृष्ण गजुरेलले भने, ‘नयाँ राजनीतिक क्रान्तिका लागि वैकल्पिक शक्ति आवश्यक छ र त्यसको नेतृत्व हामीले मात्र गर्नसक्छौं भन्ने नीति छ ।’

वैद्य माओवादीले १४ पृष्ठको घोषणापत्र तयार पारेको छ र त्यो बुधबार दरवारमार्गको एक होटलबाट सार्वजनिक गरिँदै छ । आफूहरुले घोषणापत्रमार्फत् अरु राजनीतिक पार्टीहरुले जस्तो विकासका आश्वासन नबाँडेको गजुरेलले बताए । ‘यहाँका स्रोत र साधन कौडीको भाउमा मिल्काउने, युवा जनशक्तिलाई विदेश पठाएर रेमिट्यान्स भित्राउँदै मख्ख परेर काम छैन,’ गजुरेलले भने, ‘नेपालमा भएका स्रोत र साधनको अधिकतम उपयोग गर्नुपर्छ र युवालाई स्वदेशमै रोजगार सिर्जना गर्नुपर्छ भन्ने जोड हाम्रो छ ।’

वैद्य माओवादीले चुनावमा ७५ प्रतिशत स्थानमा उम्मेदवारी दिएको जनाएको छ । उसले कुनै पार्टीसँग तालमेल पनि गरेको छैन । अहिलेको राजनीतिक अवस्थाको भण्डाफोर गर्दैै जनवादी क्रान्तिको आधार पार्ने उद्देश्यले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा ‘प्रतिक्रियावादी र अवसरवादी तत्वहरुको भण्डाफोर गरौं, देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारलाई विजयी गराऔं’ भन्ने मुख्य नारा उल्लेख छ ।

अहिलेका प्रमुख राजनीतिक शक्तिहरुलाई वैद्य माओवादीले प्रतिक्रियावादीको संज्ञा दिएको छ । कांग्रेस, एमाले, माओवादी र राप्रपा रुपमा भिन्न देखिए पनि सारमा भिन्न नभएको र उनीहरु एउटै सिक्काको दुई पाटो भएको वैद्य माओवादीको निष्कर्ष छ ।

संविधान कार्यान्वयनको खुड्किलोको रुपमा लिइएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको वैद्य माओवादीले अहिलेको संविधान खारेज गरेर जनताको नयाँ संविधान आवश्यक रहेकोमा जोड समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?