+
+

कोहलपुरमा ५० करोड लगानीमा खुल्यो होटल ‘सेन्ट्रल प्लाजा’

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ४ गते १५:५७


४ मंसिर, काठमाडौं । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको कोहलपुरमा चारतारे होटल सञ्चालनमा आएको छ । कोहलपुरको महेन्द्रनगररोडमा ५० करोड लगानीमा अत्याधुनिक होटल सेन्ट्रल प्लाजा सञ्चालन आएको हो ।

पश्चिम नेपालको प्रवेशद्वार बाँके जिल्लाको कोहलपुरमा आज सोमबारदेखि सुविधा सम्पन्न चार तारे होटल सञ्चालनमा आएको हो ।

१६ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ७७ रुम क्षमता छ । स्थल तथा हवाई मार्ग हुँदै मध्य तथा सुदूरपश्चिममा जाने आन्तरिक तथा बाहृय पर्यटकलाई यसले सुविधा पुग्ने सञ्चालक देवानन्द अर्यालले बताए ।

होटलमा ३२ स्क्वयार फिटको स्विमिङ पुल, दुईवटा बार, तीन वटा सेमिनार हल छ । ३०, सय र एक हजार जनाको क्षमता रहेको तीन वटा सेमिनार हल पनि होटलमा छ ।

होटलमा स्पा, जिम, सपीङ कम्पलेक्स, बेकरी लगायतको सुविधा छ । सेन्टर प्लाजा होटलमा ५ वटा प्रेसिडेन्सियल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम छन् । ३२ सय स्क्वायर फिटको स्विमिङ पुलमा आउटलेटसहितको बार रहेको सञ्चालक अर्यालले बताए ।


हाल कोहलपुरमै सेन्टर प्लाजा होटल पनि सञ्चालनमा छ । जसमा २३ वटा रुमहरु छन् । पाँच तले विल्डिङमा रहेको उक्त होटल पनि कोहलपुरको स्तरीय होटलमा पर्छ ।

रोजगारीका लागि दक्षिण कोरिया पुगेका अर्याल सन् २००८ मा कोहलपुर फर्किएर होटल व्यवसाय सुरु गरेका हुन् । कोहलपुरमा आउने सबै खालका पाहुनाहरुलाई उपयूक्त हुने खालका रुमहरु तयार गरिएको सञ्चालक अर्यालले बताए ।

वर्षमा ९ महिना गर्मी हुने कोहलपुरमा ३० प्रतिशत ग्राहक स्वीमिङ पुलको माध्यमबाट तान्ने लक्ष्य रहेको अर्यालको भनाइ छ ।
कोहलपुर मध्य तथा सुदुरपश्चिम क्षेत्रको ट्रान्जिट प्वाइन्ट हो । काठमाडौंबाट पश्चिम जिल्लामा जानेहरु एकदिन कोहलपुरमा बस्नैपर्ने बाध्यता हुन्छ ।

भारतको राजधानी दिल्लीबाट सडकको बाटो हुँदै काठमाडौं आउने पर्यटकहरु पनि कोहलपुरमा बास बस्न आउँछन् । दिल्लीबाट एक दिनको बाटो हिँडेर कोहलपुर आइन्छ, यहाँ एक रात बसेर अर्को दिन काठमाडौं आउन सकिन्छ ।


त्यसमाथि बाँके जिल्लामा पछिल्लो समय व्यवसायीक क्रियाकलाप पनि बढ्दै गइरहेका छन् । नजिकै रहेको मेडिकल कलेजका कारण पनि यहाँ मानिसको भिड लाग्ने गरेको बताउँछन अर्याल ।

कोहलपुरबाट नेपालगञ्जसम्मको स्तरीय सडक बनाइसकिएको छ । मध्य तथा सुदूरपश्चिममा बाक्लिँदै गइरहेका एनजिओ आइएनजीओ र विकासे आयोजनाका कारण पनि यस क्षेत्रमा खर्चालु ग्राहकहरु आउने गर्छन् । जसले गर्दा होटलका लगानीकर्ताको ध्यान बाँकेमा तानिएको देखिन्छ ।

‘कोहलपुरमा आउने सबै खालका पाहुनाहरुलाई उपयूक्त हुने खालका रुमहरु हामीले राखेका छौं । रुममा लिएका ग्राहकले ब्रेकफास्टसहित होटलभित्र उपलब्ध अन्य सुविधाहरु प्राप्त गर्न छुट्टै खर्च गर्नुपर्दैन’, प्रबन्ध निर्देशक अर्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?