+
+

चितवनको मतगणना चितवन माविमा, तारजाली नलगाइने

तारजाली लगाएर जिल्लाको वदनाम गदैनौंः मुख्य निर्वाचन अधिकृत शर्मा

सुवास पण्डित सुवास पण्डित
२०७४ मंसिर २० गते १४:२७

२० मंसिर, चितवन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवनको मतगणना भरतपुरको चितवन माविमा गर्ने तयारी थालेको छ ।

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जिल्लाका सबै क्षेत्रका मत पेटिकाहरु चितवन माविमा ल्याउने र त्यही गणना गर्ने तयारी सुरू गरिएको जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको मतगणना सम्वन्धित स्थानीय तहको कार्यालयमा र भरतपुर महानगरपालिकाको मतगणना भरतपुरस्थित कर्भड हलमा गरिएको थियो ।

चितवन माविको मुल भवनमा क्षेत्र नः २ र ३ को र अर्को भवनमा क्षेत्र नः १ को मतगणना गरिने शर्माले जानकारी दिए । चितवनमा प्रतिनिधिसभा सदस्यका ३, प्रदेशसभाका ६ क्षेत्र छन् ।

सबै मतदान केन्द्रका मतपेटिकाहरु चितवन माविमा संकलन भएपछि दलहरुसँग बैठक गरेर मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृत शर्माले बताए । जिल्लाभर १६१ स्थानमा ४०८ वटा मतदान केन्द्र छन् । मतदानको भोलिपल्ट साँझदेखि गणना सुरू हुने सम्भावना छ ।

‘पहिला सवै मतपेटिकाहरु संकलन गर्छौं । टाढाटाढा पनि मतदान केन्द्रहरु छन् । सबै मतपेटिकाहरु मतदान केन्द्रबाट चाँडोभन्दा चाँडो मतगणना स्थलमा जम्मा गर्ने तयारी छ’ शर्माले भने ।

मतगणना चितवन माविमा भइरहँदा क्षणक्षणमा प्राप्त मतसंख्या सर्वसाधरण सामू पुर्‍याउने व्यवस्था पनि मिलाउने शर्माले बताए ।

मतगणना स्थलमा गणकहरुमा महिलालाई प्राथमिकता दिन मुख्य निर्वाचन अधिकृत शर्माले दलहरुसँग आग्रह गरेका छन् । दलहरुले महिला प्रतिनिधि मात्रै राखे त्यो बेला आफूहरुले महिला कर्मचारीहरु राख्ने र सुरक्षाका लागि पनि महिला प्रहरीहरु नै राख्ने शर्माले बताए ।

तारजाली लगाउँदैनौं

चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले यसपटकको मतगणनामा तारजाली नलगाउने बताएका छन् । कतिपय जिल्लामा मतगणनाको तयारीमा तारजाली लगाउने क्रम शुरु भएका बेला चितवनमा भने तारजाली नराखी गणना गरिने शर्माले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि दोस्रो र तेस्रो चरणको स्थानीय तहको मतगणनामा अधिकांशमा तार जाली लगाइएको थियो । यो पटक पनि धेरै ठाउँमा तारजाली लगाएर मतगणना स्थल बनाइको छ ।

मुख्य निर्वाचन अधिकृत शर्माले चितवन जिल्लाकै वदनाम हुने तार जाली नलगाउने बताए । उनले चितवनको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै बिग्रिएको छवि र साखलाई थप नगिराउने बताए । ‘हामीले त मध्य २१ औं शताब्दीका सचेत नागरिक हौं नि !, अनि तारजाली भित्र बस्नुपर्ने यो भन्दा विडम्वना अरु के हुनसक्छ’ शर्माले अगाडि भने ।

अघिल्लोपटक मतपत्र च्यात्नेहरुलाई दलहरुले गणनामा पठाए आफूहरुलाई अस्वीकार्य हुने शर्माको भनाइ छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?