+
+

पहिलोपटक चुनाव लडेजस्तो लाग्योः प्रचण्ड

‘संविधानअनुसार अघि बढ्छौं, अधिनायकवाद आउने कुरा गलत’

सुवास पण्डित सुवास पण्डित
२०७४ मंसिर २८ गते ११:५०


२८ मंसिर, चितवन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक निर्वाचन लडेजस्तो अनुभूति भएको बताएका छन् । उनले नयाँ सरकार संविधानको भावना अनुरुप अघि बढ्नेसमेत प्रष्ट पारे ।

कांग्रेससहित केही शक्तिले वामपन्थीले जिते मुलुकमा अधिनायकवाद ल्याउने र निरंकुशता जन्मने बताइरहेका बेला प्रचण्डले सबै मिलेर जारी भएको लोकतान्त्रिक संविधान अनुसार नै नयाँ सरकार अघि बढ्ने बताए ।

पत्रकार महासंघ चितवनले जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजना गरेको शुभकामना कार्यक्रममा प्रचण्डले वामपन्थीहरु नै बढी लोकतान्त्रिक भएको पुष्ट्याइ विगतका घटनाक्रमले गरेको प्रष्ट पारे ।

राजनीतिक स्थायित्व र देश विकासका लागि वामपन्थी शक्तिहरुले ल्याएको एजेण्डालाई नेपाली जनताले अनुमोदन गरेको उनको दावी छ । ‘जनताले स्थिरता, सुशासन र भष्टाचारमुक्त शासन व्यवस्थाको अपेक्षा गरेको छन्’ प्रचण्डले भने, ‘हाम्रा यिनै एजेण्डालाई जनताले उत्साहजनक ढंगले रेस्पोन्स गर्नुभएको छ । जनअपेक्षा अनुसार आफूलाई खरो उतार्ने छौं ।’

वाम गठवन्धनको उत्साहजनक जीतलाई विश्व समुदायले ध्यानपूर्वक हेरेको भन्दै अध्यक्ष प्रचण्डले वामपन्थीले जित्दा अधिनायकवाद आउँछ भनेर गरिएको प्रचारलाई अन्र्तराष्ट्रिय समुदायले पनि नपत्याउने बताए ।

माओवादी अध्यक्ष प्रचण्डले जीवनमा पहिलोपटक निर्वाचन लडेजस्तो अनुभूति भएकोसमेत बताए ।

‘पहिलोपटक रोल्पामा चुनाव लड्दा एकपटक मात्रै गएँ, काठमाडौंमा पनि खासै चुनावमा हिँडिनँ । सिरहाको चुनाव प्रचारप्रसारमा पनि खासै जुटिनँ । तर, यसपटक भने चुनावमा हुने सबैखाले तीतामिठा अनुभव गर्न पाएँ, जनतासँग नजिकबाट जनभावना बुझेजस्तो भयो ।’

एमाले स्थायी कमिटी सदस्य एवं चितवन– १ का नवनिर्वाचित सांसद् सुरेन्द्र पाण्डेले देशका विकासका लागि संकल्पसहितको सरकार र परिश्रमी जनता भए एक दशकमा देश बदलिने बताए ।

‘जनताको भावना र इच्छा अनुसार काम गर्न सक्ने डेडिकेडेट सरकार र परिश्रमी जनता भए देशले काँचुली फेर्न बेर लाग्दैन’ नेता पाण्डेले भने, ‘सरकारका लागि सरकार होइन । स्थायित्व र संकल्पसहितको सरकार चाहिन्छ । चुनाव त धेरैले धेरैपटक जितेका छन् तर विकास गर्न भिजन दृष्टिकोण चाहिन्छ ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?