+
+

सिटामोल उत्पादन पुनः थाल्दै औषधि लिमिटेड

केही महिनापछि अन्य औषधि पनि उत्पादन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ११ गते १५:४३
फाइल तस्वीर

१० पुस, काठमाडौं । नेपाल औषधिले लिमिटेडले सिटामोल उत्पादन पुनः थाल्दैछ । बन्द भएको सात वर्षपछि माघ दोस्रो सातादेखि उत्पादन शुरु गर्न लागेको हो ।

औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीका अनुसार सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सकिएको छ । कच्चा पदार्थ आयात, प्याकेजिङ र वितरणका लागि कम्पनी छनोट गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ ।

यसअघि गत असोजदेखि नै उत्पादन थाल्ने लक्ष्य थियो । तर, आवश्यक बजेट सममयै निकासा नभएका कारण ढिलाइ भएको सुवेदीले जानकारी दिए ।

२४ वैशाखदेखि कम्पनीले जीवनजल उत्पादन थालेको थियो ।

पूर्ण सरकारी स्वामित्वको उक्त कम्पनीले ०६७ सालदेखि औषधि उत्पादन बन्द गरेको थियो । सुन्तलाको स्वादमा जीवनजल उत्पादन गरिरहेको छ, अहिले । यस्तै, कुनै स्वाद नराखी जीवनजल उत्पादन पनि गर्न लागेको छ ।

साथै, गुणस्तर नियन्त्रण र माइक्रोबायोलोजी शाखालाई जीएलपी मापदण्डअनुसार स्तरोन्नती गरिएको र २८ किसिमका अत्याधुनिक मेसिनहरु जडान गरिएको सुवेदीले जानकारी दिए ।

उद्योग पुनः सञ्चालन गर्न यसअघि नै अर्थ मन्त्रालयले ६ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराएको थियो । १२ करोड रुपैयाँ दिने भनिए पनि सरकारले निकासा गरेको छैन ।

सोही कारण औषधि उत्पादन द्रुत गतिमा अगाडि बढाउन अप्ठ्यारो भएको सुवेदीले बताए ।

सिटामोल उत्पादनका लागि आवश्यक ‘कम्प्रेसर मेसिन’ आइसकेको छैन । भारतबाट ल्याउन लागेको मेसिन छिट्टै आइपुग्ने सुवेदीले बताए ।

केही महिनापछि अन्य औषधिसमेत उत्पादन गर्ने कम्पनीको योजना छ । सरकारले निःशुल्क उपलब्ध गराउने आठ प्रकारका औषधि उत्पादनलाई कम्पनीले मुख्य प्राथमिकता दिएको छ ।

यो उद्योग ०२९ सालमा स्थापना भएको थियो, ०६७ देखि पूर्ण रुपमा बन्द थियो । निजी कम्पनीसँग प्रतिस्पर्धामा जान नसकेर ०५८ सालदेखि घाटामा जान थालेको थियो । बन्द हुनु अघिसम्म उद्योगले डेढ सय प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?