म नवविवाहित महिला हुँ । मेरो समस्या अनौठो छ । साथीहरुको विवाह भएको एक वर्षसम्म श्रीमान्ले सारै दुःख दिन्छन्, यौनमा धेरै आतुरता देखाउँछन् भन्थे । मेरो हकमा यो नियम लागू भएको छैन । उहाँ सकेसम्म यौनमा निस्क्रिय रहन चाहनुहुन्छ । मैले चाहेको अवस्थामा मात्रै त्यो पनि फकाएर उहाँलाई यो क्रियामा सामेल गर्नुपर्छ । मलाई खासै रुचि नै हुँदैन के गर्ने होला भनेर चिन्ता गर्नुहुन्छ । किन यस्तो भएको होला ? आर..
यौनेच्छाको पाटो
यौन क्रियाकलापमा इन्डोक्राइन सिस्टम अन्तरगत रागरसले यौनेच्छा सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अर्थात यो सबैभन्दा पहिला मस्तिष्कसँग सम्बन्धित हुन्छ । यौनेच्छा जाग्ने वा त्यसको व्यग्रता महसुस गर्ने कुरा हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ ।
यौन क्रियाकलापमा टेस्टेस्टेरोन ग्रन्थीले बढि काम गर्छ । यसमा इन्द्रीयहरु सक्रिय हुन्छन् । यस अर्थमा बुझ्नु पर्ने महत्वपूर्ण कुरा, यौन क्रियामा शारीरिक अंग सक्रिय भए पनि मानसिक अवस्थाले यो क्रियालाई प्रभावित बनाउने गर्छ ।
यौन क्रियाकलापमा राम्रोसँग र निरन्तर सक्रिय रहन एकातिर यौनेच्छा हुनुपर्छ भने अर्कोतिर मानसिक एवं शारीरिक दुबै रुपमा यौनसम्पर्कका लागि तयार हुनुपर्छ । यदि कुनै जोडीबीच महिनामा एकपल्ट मात्र शारीरिक क्रिया हुन्छ भने त्यसलाई सामान्य मान्नु पर्छ । तर नवविवाहित जोडीका हकमा भने साताको दुई पटकसम्म यौनसम्पर्क हुने गरेको अध्ययनहरुले देखाएका छन् ।
सुरुमा सातामा दुईपटक र समयक्रममा महिनाको एकपटक हुने शारीरिक क्रियालाई सामान्य यौन अवस्था मान्न सकिन्छ । तर सुरुदेखि नै अरुचि हुनु अनौठो कुरा हो । तपाईंले आफ्नो प्रश्नमा समय तोक्नु भएको छैन । यसकारण ठ्याक्कै तपाईं समस्याको समाधान गर्ने सुत्र पत्ता लगाउन गाह्रो छ । तपाईंको प्रश्नबाट केही समस्या छ भन्ने मज्जाले नै बुझियो । यसमा केही काम गर्नुपर्ने देखिन्छ ।
व्यक्तिअनुसार यौन चाहना फरक भए जस्तै उनीहरुको यौन क्रियाकलापमा संलग्नता पनि फरक-फरक हुन्छ । यो स्वभाविक कुरा हो । यौनसम्पर्कका सन्दर्भमा पनि कसैले धेरै पटक सम्बन्ध राख्छन् भने कसैको यो केही कम हुन्छ ।
प्रत्येक जोडीले आफ्नो पार्टनरसँग भएको क्षमतालाई स्वीकार गर्नुपर्छ । जीवन सधैं आफूले चाहे जस्तो हुँदैन, केही कुरामा सम्झौता गर्नैपर्ने हुन्छ । तर यो सम्झौताले आफ्नो जीवन बिग्रनु हुँदैन र खुसीहरु विथोलिनु हुँदैन ।
तपाईंको जीवनसाथी भएका नाताले उहाँको अवस्थालाई तपाईंले राम्रोसँग बुझ्नु भएको छ । उहाँमा शारीरिक कमजोरीले यो समस्या आएको हो कि मानसिक कमजोरीले आएको हो, त्यो राम्रोसँग पहिल्याउनु पर्छ । शारीरिक कमजोरीले आएको हो भने पौस्टिकयुक्त खाना खाने, व्यवायम गर्ने, अल्कोहल बन्द गर्ने र आफूलाई तन्दुरुन्त बनाउन ध्यान दिने कुरामा बढि ध्यान दिनुपर्छ । यति गर्दा शारीरिक समस्या कम हुँदै जान्छन् ।
मानसिक समस्या हो भने मनोविज्ञसँग सम्पर्क राख्नुपर्छ । तपाईंहरुले एकपटक छाला तथा यौन रोग विशेषज्ञलाई भेटेर आफ्ना समस्या राख्नु होला ।
तपार्इं नै समस्यालाई नजिकबाट हेर्न सक्ने स्थितिमा हुनुभएकाले माथि उल्लेख गरिएका कारणहरूमध्ये यौनेच्छामा नै कमी भएको हो वा त्यसका शारीरिक वा मानसिक कारण छन् तपाईंले नै पहिल्याउनुपर्छ । कुनै पनि समस्या समाधानका लागि त्यसको कारण पत्ता लाग्नु जरुरी छ । यसमा चिकित्सक वा मनोरोग विशेषज्ञले पनि सहयोग गर्न सक्नुहुन्छ ।
सम्बन्धमा तिक्तता आएको भए त्यसलाई समाधान गर्ने प्रयास गर्नुपर्छ । तपाईंहरूबीचको सम्बन्धको न्यानोपन सुखमय यौन जीवनका लागि अपरिहार्य छ ।
एकनासेपनका कारणले यौनसम्बन्धमा रुचि नभएजस्तो लाग्छ भने नयाँ-नयाँ किसिमका यौन आसन वा यौन क्रियाकपापमा संलग्न भै प्रयोग गर्न सक्नुहुन्छ । दुई व्यक्ति अर्थात् श्रीमान्-श्रीमती दुवै संलग्न हुनुपर्ने भएकाले यसमा दुवैको सहमति एवं समझदारी पनि त्यत्तिकै आवश्यक छ ।
करुणा जी नमस्कार !
म कलेज पढ्ने युवक हुँ । सानै उमेरदेखि बहिनी नाता पर्ने युवतीसँग मेरो प्रेम हुन पुग्यो । यो कुरा थाहा पाएपछि दुबै घरपरिवारले हामीलाई नराम्ररी गाली गरे । त्यसपछि हामी छुट्टिन बाध्य भयौं ।
अहिले म काठमाडौंमा छु । उनको याद आइरहन्छ । हाम्रो शारीरिक सम्बन्ध पनि कायम भैसकेकाले विवाह नै गर्न चाहन्छौ । परिवारका सदस्यहरु भने नाताभित्र विवाह गरे त्यसको सामाजिक मात्रै होइन, जन्मने परिवारमा पनि असर पर्छ भनेर हामीलाई त्रास देखाइरहेका छन् । के स्वास्थ्य विज्ञान र आनुबंशिकी विज्ञानले नाताभित्र विवाह गर्न बन्देज लगाएको छ ? यदि हामीले विवाह गर्यौं भने के के असर पर्ला ? बताइदिनु भए आभारी हुनेथियौं । – विके
विकेजी, तपाईं पढेलेखेको युवक हुनुहुन्छ । कुन कुरा राम्रो कुन नराम्रो भन्ने छुट्याउन सक्नुहुन्छ । त्यसबाहेक तपाईंलाई पक्कै पनि थाहा छ, आमा-बुवाले कहिल्यै पनि आफ्नो छोराछोरीको भविष्य अन्धकार होस् भन्ने चाहदैनन् । समाज विज्ञानको यही चासोलाई ध्यानमा राख्दै स्वास्थ्य विज्ञान र अनुवांसिक विज्ञानले यसबारेमा केही खोज नगरेका होइनन् । त्यससम्बन्धी चर्चा गर्ने प्रयास गर्नेछु । यद्यपि त्यो भन्दा अघि केही कुरा भन्नै पर्ने हुन्छ ।
आजभोलि प्रेम सम्बन्ध सिधै यौनसँग सम्बन्धित छ । तपाईंको प्रश्नबाट पनि यो प्रेम यौनसम्बन्ध सम्म पुगेको मात्रै होइन, विवाह गर्न समेत तयार भैसकेको बताउनु भएको छ । कुनै पनि कुरा बितिसकेपछि त्यसको पछ्ुतोमा समय गुमाउनु हुँदैन तर त्यसका परिणामबारे विचार गरेर अगाडिको जीवन सहज बनाउने प्रयास गर्नुपर्छ । विज्ञानले के कुरा प्रमाणित गरेको छ र भविष्य कस्तो हुन्छ भन्ने प्रश्न पछिको भयो । अहिले तपाईंहरु जुन समस्यामा हुनुहुन्छ, त्यसलाई ढिलो नगरी समस्या समाधान गर्नुपर्छ ।
हाडा-नाता वा नजिकका नातेदारसँग हुने यौन क्रियाकलाप र त्यसले गर्ने असरबारे सबैभन्दा धेरै अध्ययन अमेरिकामा भएको देखिन्छ । ती मध्ये पनि मानवशास्त्री ज्याकलिन क्रो र मार्टिन ओपेन हेमाले विभिन्न समयमा यससम्बन्धी अध्ययन गरेको पाइन्छ ।
उनीहरुको अध्ययनले यस्तो सम्बन्धले आनुवांशिक प्रभाव कम परेको देखाएको छ । उनीहरुका अनुसार यस्ता सम्बन्धबाट जन्मेका ५० प्रतिशत सन्तानमा कुनै पनि नराम्रो असर देखिएन भने ५० प्रतिशत सन्तानमा कुनै न कुनै समस्या भएको पाइयो । उनीहरुको अध्ययनअघि यस्ता सम्बन्धबाट जन्मेका सन्तानमा धेरैवटा शारीरिक एवं मानसिक समस्या देखिने अनुमान गरिएको थियो ।
ती खोजकर्ताहरुले संसारभरी नजिकका नातामा विवाह हुने जात-जातिहरुबाट नमूना परीक्षण गरेका थिए । धेरैजसो आदिवासी, जनजाति एवं मुस्लिम धर्मालम्बीहरुमा हुने नजिकका नातेदारबीच विवाह र ती दम्पतिबाट जन्मिएका सन्तानका शारीरिक र मानसिक अवस्थाको अध्ययन गरेका थिए ।
फरक फरक समयमा गरिएका ती अध्ययनहरुले ५० प्रतिशत सन्तानमा कुनै न कुनै समस्या भएको देखाएको थियो । यद्यपि संसारमा फरक जात र धर्मबीच रहेका सम्बन्ध र त्यसबाट जन्मिएका सन्तानमा पनि थोरै धेरै समस्या देखिने भएकाले नाताभित्र सम्बन्ध राख्दा त्यसको परिणाम खराब नै आउँछ भन्ने ठोकुवा गर्न नसकिने विश्लेषण पनि आएको छ ।
मनोविज्ञहरुले पनि यस्तै रिपोर्टका आधारमा यस्ता समस्याबाट बच्न सुझाव दिन्थे । अहिले क्रो र हेमाका अध्ययनलाई आधार मानेर परिस्थिति अनुसार निर्णय लिन मनोविज्ञहरु सुझाव दिन्छन् ।
नेपाल अहिले युरोप अमेरिका जस्तो विकसित भैसकेको छैन । शिक्षित समुदायमा पनि व्यक्तिको भन्दा समाजिक नियमलाई बढि महत्व दिइन्छ । माथिको अध्ययन अत्यन्तै विकसित समाजबाट आएको कारण नेपालमा त्यसलाई आधार बनाउन सकिदैन । त्यसैले नेपालमा अझै पनि को व्यक्तिले कस्तो व्यवहार गर्दैछ, त्यसलाई समाज मनोविज्ञानका आधारमा विश्लेषण गरिन्छ ।
कतिपय खोजकर्ताहरुले भारतीय उपमहाद्विपमा हाडानाताभित्र हुने सम्बन्धमा खोज गरेका छन् । हिन्दु प्रभावी क्षेत्रहरुमा हाडा नातालाई घोर पापका रुपमा ब्याख्या गर्दै एउटै परिवारमा मात्र होइन, एउटै गोत्रमा समेत विवाह गर्न नहुने सामाजिक एवं आध्यात्मिक नियम बनाइएको छ । अहिले देखिएको अध्ययन जस्तै त्यो बेला नाताभित्र सम्बन्ध हुँदा कुनै न कुनै समस्या आउने ठानी त्यो बेलाका ऋषीहरुले स्वस्थ्य समाजको निर्माणका लागि यस्तो नियम बनाएका थिए भन्ने कुरा प्रस्टै बुझ्न सकिन्छ ।
नेपालका धेरै जनजातिबीच मामा चेला-फुपुचेलीबीच विवाह गर्ने चलन छ । यस्तो चलनमा कुनै हानीकारक रोग लागेको वा कुनै समस्या आएको छ कि छैन भनेर अध्ययन भएको छैन ।
प्रत्यक्ष देखिनेगरी कुनै नकारात्मक प्रभाव परेको देखिदैन । यति हुँदाहुँदै पनि आजभोली जनजातिहरु यस्तो सम्बन्ध गलत भएको ठहर गर्दै त्यसलाई कम गर्दै लगेका छन् । हिन्दु बाहुल्य समाजका कारण पनि यस्तो भएको मान्न सकिन्छ ।
जे भए पनि शिक्षित अभिभावकहरुले आफ्ना सन्तानलाई नजिककका नातेदारबीच विवाह सम्बन्ध कायम गर्नु नपरे हुन्थ्यो भन्ने सोच देखिएको छ । विश्वभरी मुस्लिम धर्मालम्बीहरुबीच पनि यस्तो सम्बन्ध कायम हुने गरेको देखिएको छ । त्यसको प्रभाव नेपाली मुस्लिमहरुमा पनि देखिन्छ । तै पनि केही वर्ष यता नेपाली मुस्लिमहरुले नाताभित्र विवाह गर्ने प्रथालाई कम गर्दै लगेका छन् ।
यि सबै कारणबाट तपाईंहरुको सम्बन्धमा जोखिम देखिन्छ । अभिभावकले त आफ्ना सन्तानलाई माया गर्छन् र यस्ता सम्बन्धका कारण तपाईंहरुलाई माया मारिहाल्न सक्तैनन् । समाजले भने तपाईंहरुको समस्या बुझ्दैन । यहि समाजमा बस्नु पर्ने भएका कारण तपाईंहरुले पछि पछुताउनु पर्ने अवस्था आउन सक्छ ।
मेरो सुझाव मान्नुहुन्छ भने यो सम्बन्धलाई अघि नबढाउनु नै राम्रो हुन्छ । जीवनमा प्रेम धेरै जनासँग हुन्छ, तर विवाह हुँदैन । यौन सम्बन्ध अरुसँग पनि हुन सक्छ, तर सम्बन्ध हुने वित्तिकै सबैसँग विवाह हुँदैन । यसअघि जे भयो-भयो । अब यसलाई रोक्नु नै सबैका लागि हितकर देखिन्छ ।
(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई sanibar@onlinekhabar.com मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)
प्रतिक्रिया 4