+
+

निर्वाचन आयोगले नेतालाई संविधान पढाउन खोजेको वामपन्थी युवा विद्यार्थीको आरोप

प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक नगरे सडक आन्दोलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १७ गते १४:३२

१७ पुस, काठमाडौं । वामपन्थी गठबन्धनका युवा र विद्यार्थी संगठनले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर राजनीतिक दलका नेतालाई संविधान पढाउने प्रयास नगर्न चेतावनी दिएका छन् । उनीहरुले तत्काल समानुपातिकको नतिजा सार्वजनिक नगरे सडक आन्दोलनमा जाने बताएका छन् ।

एमालेसम्बद्ध युवा संघ नेपाल, अनेरास्ववियु र माओवादीसम्बद्ध वाईसीएल नेपाल र अखिल क्रान्तिकारीको तर्फबाट ज्ञापनपत्र बुझाउँदै आयोगले प्रतिनिधिसभालाई पूर्णता दिन नचाहेको भन्दै असन्तुष्टि जनाएका हुन् । देशलाई अन्यौलबाट मुक्त गरी स्थिर सरकार गठनको बाटो सहज बनाउन उनीहरुले आयोगलाई आग्रह गरेको बताएका छन् ।

भेटपछि युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने, ‘निर्वाचन आयोगले आफ्नो दायित्व निर्वाह गर्नुको साटो संविधान बनाउने नेताहरुलाई संविधान पढाउन खोज्दैछ । हामीले संविधान बनाउने नेतालाई संविधान पढाउनुको साटो आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरेका हौं ।’

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाको पूर्णता हुन संवैधानिक र कानुनी जटिलता रहेको बताए । उनले संघीय संसदमा प्रत्येक दलको ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने र त्यसका लागि राष्ट्रियसभा चुनाव हुनुपर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त यादवलाई बुझाइएको ज्ञापनपत्रमा युवा संघ अध्यक्ष राजिव पहारी,अखिल अध्यक्ष नविना लामा,वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ-आयोगको ढिलासुस्ती र सरकारको आयु लम्ब्याउदै मुलुकलाई अस्थिरता र गतिहीनतातर्फ लैजाने प्रपञ्च हामीलाई मान्य हुने छैन र यस्तै गरे कडा आन्दोलनमा जान बाध्य हुनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?