१ चैत, काठमाडौं । यदि ०७३ सालमा केपी ओलीको सरकार नढलेको भए डा.शिवमाया तुम्बाहम्फे अहिले इजरायलमा नेपाली राजदूतका रुपमा कुटनीतिक भूमिकामा भेटिने थिइन् ।
तत्कालीन सरकारले उनलाई इजरायलको लागि राजदूत सिफारिस गरेको थियो । तर, संसदीय सुनुवाई हुन नपाउँदै प्रचण्ड नेतृत्वमा कांग्रेस माओवादी सरकार बनेपछि उनीसहित सबैको नाम फिर्ता भयो ।
ओलीको सिफारिसमा राजदूत हुन नपाएकी तुम्बाहाम्फेले ओलीकै एकल निर्णयबाट प्रतिनिधिसभाको उपसभामुख बन्ने अवसर पाउँदैछिन् । उपसभामुखमा कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी पारेको छ । तर, वाम गठबन्धन र मधेसवादी दलको समेत समर्थन पाउने भएकाले शिवमायाको जित निश्चित छ ।
को हुन् शिवमाया ?
०३५/३६ को विद्यार्थी आन्दोलनदेखि तत्कालीन नेकपा मालेआवद्ध अनेरास्ववियुबाट राजनीति थालेकी शिवमाया त्यो बेलाकी चर्चित क्रान्तिकारी हुन् । उनी विभिन्न कमिटी हुँदै रामनाथ ढकाल अध्यक्ष भएको बेला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भइन् ।
योगेश भट्टराई अनेरास्ववियुको अध्यक्ष भएपछि विद्यार्थी राजनीतिबाट विदा लिएकी तुम्बाहम्फे त्यसपछि बिराटनगर फर्किएर गैरसरकारी संस्थामार्फत सामाजिक काममा लागिन् । उनको जन्मथलो तेह्रथुम र अध्ययन तथा राजनीति झापाबाट शुरु भए पनि कर्मथलो मोरङ बन्यो ।
मोरङमा उनले राजनीति र समाजसेवा सँगै अघि बढाउँदा उनका श्रीमान घनेन्द्र जिमी नेकपा एमालेबाट निर्वाचित उर्लाबारी गाविसका अध्यक्ष थिए । हाल जिमीको निधन भइसकेको छ । शिवमाया यसबीचमा अध्ययनमा लागेकाले पार्टीको कार्यकारी भूमिकामा थिइनन् ।
राष्ट्रपतिको साथ, पार्टीमा निरन्तर लगाव
नवौं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी तुम्बाहाम्फे अहिले मोरङ जिल्ला इञ्चार्ज छिन् । उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । पार्टीभित्र उनी केपी ओली समूहबाट कहिल्यै बाहिर रहिनन् । त्यो भित्र पनि उनी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रियपात्र मानिन्छिन् ।
एमालेले उपसभामुख पाउनेवित्तिकै धेेरैले शिवमाया नै उपसभामुख बन्ने लख काटिसकेका थिए । त्यसको पछाडि मुख्यतः तीन तर्क थिए । एक उनी आदिवासी जनजाति र पार्टीमा पुरानो नेता । दोस्रो कारण उनलाई पार्टीभित्र राष्ट्रपति र प्रधानमन्त्रीको साथ । तेस्रोचाहिँ सुवास नेम्वाङको पनि जोडबल ।
दाजु बिजय सुब्बा एमाले छाडेर संघीय समाजवादीमा जाँदा पनि शिवमायाले पार्टी छाडिनन् । सुब्बा एमाले फर्किएर पुनः केन्द्रीय सदस्य मनोनित भए । अहिले दुवैजना दाजु-बहिनी एमालेको केन्द्रीय सदस्य र समानुपातिकबाट सांसद छन् ।
दाजु-बाहिनीको पीएचडी किस्सा
बिजय सुब्बा र शिवमाया तुम्बाहम्फे दुवैले पीएचडी गरेका छन् । तर, निर्वाचन आयोगले प्रकाशित गरेको समानुपातिक सांसदको लिष्टमा उनीहरुको नामको अगाडि डा. लेखिएको छैन ।
विहीबार संयोग नै मान्नुपर्छ, संसद भवनमा शिवमायाले उपसभामुखमा उम्मेदवारी मनोनयन गरिरहेका बेला दाजु विजय भने निर्वाचन आयोग पुगेका थिए ।
उनले आफू र बहिनीको समेत पीएचडीको प्रमाणपत्र पेश गर्दै नामको अगाडि डा.थपेर सच्याउन आयोगमा निवेदन दिएर फर्किए । शिवमायाले नेपालको महिला आन्दोलनका विषयमा पीएचडी गरेकी हुन् भने बिजयले नेपालको आदिवासी जनजाति आन्दोलनमा पीएचडी गरेका छन् ।
बहिनीको पीएचडीको थेसिस बुझाउने क्रममा बिजय सुब्बा पटक-पटक उनका प्रोफेसरलाई भेट्न गएछन् । त्यही क्रममा प्रोफेसरले धेरै सोध्ने होइन, बरु तपाई नै पीएचडी गर्नुस् भनेपछि बिजयले पीएचडी गरेका रहेछन् ।
कडा कमरेडको भीम आचार्यलाई च्यालेन्ज
एमालेभित्र शिवमाया तुम्बाहाम्फेलाई उनीभन्दा जुनियर कमरेडहरुले आँटिली र कडा दिदी भन्छन् । सिनियर नेताहरु पनि उनीसँग कुरा गर्नुअघि सम्हालिन बाध्य हुन्छन् । हरेक विषयमा कडा कुरा गर्ने र हेप्न खोज्नेहरुप्रति जाइलाग्ने उनको स्वाभाव रहेको एमाले नेताहरु बताउँछन् ।
केही महिनाअघि एमालेको प्रदेश नम्बर १ को प्रदेश कमिटी बैठकमा पार्टी सचिव भीम आचार्यलाई शिवमायाले बोली बन्द गराइदिएको प्रसंगसमेत अहिले चर्चामा छ । प्रदेश कमिटी बैठकमा प्रदेश संयोजक आचार्यले पार्टीमा प्रशिक्षण आवश्यक भएको भन्दै केन्द्रबाट महिला प्रशिक्षक ल्याउने प्रस्ताव राखे ।
तपाईहरु राम्रो प्रशिक्षण दिन सक्नुहुन्न, काठमाडौंबाट महिला प्रशिक्षक ल्याउनुपर्यो भन्ने आचार्यको प्रस्ताव थियो । उनको प्रस्ताव भुइँमा खस्न नपाउँदै तुम्बाहाम्फे कड्किन थालिन् ।
‘तपाईले के सोच्नुभएको छ हामीलाई ? तपाई र म प्रशिक्षण दिन बसौं, निर्णायक राखेर प्रशिक्षण दिन तयार छु । तपाईभन्दा राम्रो प्रशिक्षण दिइनँ भने पार्टीबाटै राजीनामा दिन्छु, यो मेरो च्यालेन्ज भयो’ तुम्बाहाम्फेको भनाइ उधृत गर्दै एक प्रदेश कमिटी सदस्यले बताए ।
प्रतिक्रिया 4