
८ चैत, काठमाडौं । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको अपहरणपछि हत्या भएको घटनामा प्रहरी प्रधान कार्यालयले प्रहरीमाथि नै अनुसन्धान थालेको छ ।
घटनाको विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै उजुरी परेपछि प्रहरी मुख्यायलले छुट्टै अनुसन्धान समिति बनाएर छानबिन सुरु गरेको हो ।
प्रहरीकै मिलेमतोमा सुन गायब भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको स्रोतको भनाइ छ ।
प्रहरी मुख्यालय स्रोतका अनुसार घटनाको अनुसन्धानका लागि डिआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा एसएसपी वसन्त लामा, डिएसपी सुदिप पाठक र प्रहरी निरीक्षक भीष्म हुमारार्इँ रहेको समिति गठन भएको छ ।
यद्यपि, प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपाने भने मुख्यालयले छानबिन गर्नु नियमित प्रक्रिया भएको बताउँछन् ।
‘गम्भीर प्रकृतिका घटनामा प्रहरी प्रधान कार्यालयले पनि अनुसन्धान गर्नु नियमित जस्तै हो’, उनले अनलाइनखबरसँग भने, ‘अनुसन्धान भइरहेको छ ।’
यसअघि गत १९ फागुनमा गाडीको ढिकीमा मोरङ, उर्लाबारी–७ का ३३ वर्षीय शाक्यको शव भेटिएको थियो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले घटनामा संलग्न भएको भन्दै तीन जनालाई पक्राउ गरेको थियो । तर, सुनका भरिया अझै फरार छन् ।
त्यसैको एक साता वित्न नपाउँदै झापाको बिर्तामोडका सुन व्यापारी साजन मुखियाको हत्या भएको थियो । प्रहरीले मुखिया र सनमको घटनालाई जोडेर अनुसन्धान गर्ने प्रयास गरेको दाबी गरे पनि कनेक्सन भेटिएको थिएन ।
मुखियाको उनकै प्रतिष्पर्धी स्थानीय रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देव लागयतले हत्या गरेको इलाका प्रहरी काार्यालय, बिर्तामोडले निष्कर्ष निकालेको थियो ।
यो पनि पढ्नुस्
गुडिरहेको गाडीको डिकीमा भेटियो सनमको शव
तस्करीको साढे ३३ किलो सुन हराएपछि ‘भरिया’ सनमको हत्या
सनम शाक्यको घटना सेलाउन नपाउँदै अर्का व्यवसायीको अपहरणपछि हत्या, दुर्इ जना समातिए
प्रतिक्रिया 4