ब्लग:
काम होला, नहोला, भोलि थाहा होला । तर, ओली सरकारका मन्त्रीहरु कुरा गर्नमा कोही पनि कम छैनन् । यसैमा थपिएका छन्, खेलकुदमन्त्री जगत विश्वकर्मा ।
मन्त्री विश्वकर्माले शुक्रबार आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गरेका छन् । मूलपानीमा रंगशाला निर्माण सुरु गर्नेदेखि स्पोट्र्स हस्पिटल, अन्तराष्ट्रिय स्तरको राष्ट्रिय रंगशालाका लागि जग्गा पहिचान, क्रिकेट संघको विवाद समाधानलगायतका ३७ काम जेठ १४ गतेभित्र गरिसक्ने उनले बताए ।
कार्ययोजना अनुसार काम भए/नभएको जानकारी दिन जेठ १७ गते ३ बजे पत्रकार सम्मेलन गर्ने भन्दै उनले अहिले नै निम्तो पनि दिए ।
यतिसम्म ठीकै थियो । तर, जब १३ औं सागको तयारीबारे प्रश्न उठ्यो, मन्त्री विश्वकर्माले आफ्नो ‘दुःख’ सुनाए । उनलाई त सागलाई लिएर निद्रा नै पर्न छाडेको रहेछ ।
भूकम्पले भौतिक पूर्वाधार ध्वस्त बनाएको र पुन निर्माणले गति लिन नसकेको भन्दै मन्त्रीले भने, ‘मैले नढाँटी भनौं, यो विषय मेरा लागि सबैभन्दा संवेदनशील छ र म राति राम्रोसँग सुत्न सकेको छैन । मलाई राम्रो निद परेको छैन ।’
सागको आयोजना नेपालीहरुको इज्जत प्रतिष्ठासँग जोडिएको उनले बताए । यसलाई त्यही डिग्रीमा महसुस गरेको भन्दै उनले पूर्वाधार निर्माणमा लाग्ने बताए ।
आठौं राष्ट्रिय खेलकुद समयमा गर्न सके यसले साग आयोजना गर्न सहज हुने मन्त्री विश्वकर्माले बताए ।
बाँकी भएको समयलाई अधिकतम सदपुयोग गर्ने र साग सम्पन्न गर्ने आफूहरुको साझा संकल्प भएको भन्दै उनले अघि भने, ‘यसबाट पछि हट्ने र टाउको लुकाउने ठाउँ हामीलाई भएन । टाउको लुकाउने ठाउँ भएको भए यति धेरै अप्ठ्यारोमा छौं भनेर टाउको लुकाउने कोसिस गर्ने थियौं ।’
प्रतिक्रिया 4