+
+

‘मेलम्ची हाम्री दुलही हुन्, छोरीलाई जस्तै माया गर्नुहोला’

दिनेश थापा दिनेश थापा
२०७४ चैत २९ गते १५:१३

२९ चैत, सिन्धुपाल्चोक । साढे २७ किलोमिटर लामो सुरुङमा ‘ब्रेक थ्रू’ भएपछि सिन्धुपाल्चोकबासीले मेलम्चीलाई ‘दुलही’ का रुपमा अन्माएर काठमाडौं पठाएको बताएका छन् ।

अन्तिम खण्ड सिन्धु-ग्यालथुङ खण्डको मंगलबार नै सुरुङ खनिसकिएको थियो । बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा यसलाई औपचारिकता दिइएको छ । उपराष्ट्रपति पुन र खानेपानीमन्त्री बिना मगर लगायतको टोलीले सिन्धुदेखि ग्याल्थुमसम्म साढे सात किलोमिटर सुरुङ यात्रा पनि गरे ।

स्थानीय सरोकार समितिका पदाधिकारीले भने सुरुङमार्गमा प्रवेश नदिएको भन्दै विरोध गरे ।

कार्यक्रममा सिन्धुपाल्चोकका सांसदसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले मेलम्चीलाई ‘दुलही’का रुपमा अन्माएर पठाएको बताए । उनले भने ‘मेलम्ची हाम्री दुलही हुन्, आज तपाईँहरु दुलही लिन आउन भएको छ, हामी खुसी पनि छौं ।’

वहुमूल्य प्राकृतिक सम्पत्ति राजधानीलाई उपहार दिएको भन्दै उनले भने ‘मेलम्ची हाम्रो दुलही हो, तपाईहरुले आफ्नो छोरीलाई जस्तै गरी माया गर्नुहोला ।’

मन्त्री तामाङले मेलम्चीलाई दुलहीको संज्ञा दिएपछि खानेपानी मन्त्री विना मगरले सिन्धुको चेलीलाई माया गर्ने बताइन् । ‘हामी तपाईंहरुको दुलही लिन आएका छौं’ उनले भनिन्, ‘हामी धेरै खुसी छौं तपाईंहरु पनि दुःखी हुनु पर्दैन ।’

मन्त्री मगरले यस क्षेत्रको विकासका लागि मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताइन् । उनले भनिन्, ‘सिन्धुपाल्चोकबासीलाई सम्झनालायक उपहार दिन्छौं ।’


उपत्यकाबासीको चाहाना पूरा : उपराष्ट्रपति

उपराष्ट्रपति पुनले हिमालबाट आएको स्वच्छ पानी पिउन पाउनु राजधानीबासीको लागि भाग्य भएको बताए । संक्षिप्त प्रतिक्रिया दिँदै पुनले मेलम्ची एउटा मोडल भएको बताए । यस्ता आयोजनाहरु धेरै निर्माण हुनु पर्ने पुनले बताए ।

मेलम्ची २ का लागि एडीबी सकारात्मक

एसियाली विकास बैंकले मेलम्ची २ को लागि पनि लगानी गर्न सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।

एडीबीका निर्देशक हुम किनले मेलम्ची पहिलोले मात्रै राजधानीबासीलाई खानेपानीको माग धान्न नसक्ने भन्दै दोस्रो आयोजना छिटै सुरु गर्नुपर्ने बताए । ‘दोस्रो आयोजनालाई पनि निरन्तरता दिन हामी सकारात्मक छौं’ किनले भने ।

मेलम्ची आयोजना इन्जिनियरिङको हिसाबले निकै जटिल भए पनि सबैको साथले पूरा हुन लागेको उनले बताए ।

मेलम्चीको पानी काठमाडौं पुगेपछि याङ्ग्री र लार्के मुहानबाट पानी ल्याएर अम्बाथानमा मिसाउने आयोजनाको तयारी छ । यसका लागि साढे सात किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ । आयोजनाको डीपीआर बनाउन सुरु भइसकेको छ ।

दशैंमा राजधानीबासीले पानी पाउँछन्

आयोजनाले तीव्र गतिमा काम गरेर दशैंमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउने दाबी गरेको छ ।

‘साउनसम्म जसरी पनि सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानी झार्छौं’ मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘लगत्तै सबैको धारा धारामा पानी आउँछ ।’

उनकाअनुसार साढे २७ किलोमिटर सुरुङ मध्ये ३ किलोमिटरको फिनिसिङ भइसकेको छ । मुहानमा वैकल्पिक पाइप लाइनको व्यवस्था गरिसकेको र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको पनि काम अन्तिम चरणमा पुगेको देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?