+
+

उज्जनको शालिक तोडफोड गर्नेलाई कारबाही गर्न सावित्री श्रेष्ठको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २९ गते १८:४७

२८ चैत, रामेछाप । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नाममा शहीद गणेशकुमार श्रेष्ठ र उज्जन श्रेष्ठको शालिक तोडफोड गरिएको भन्दै दोषीमाथि कारवाही गर्न गणेश उज्जन स्मृति प्रतिष्ठानले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिष्ठानकी अध्यक्ष साबित्री श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी घटनाको छानबिन र दोषीमाथि कारवाहीको माग गरेकी हुन् ।

गत साता रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपु फेदीमा अवस्थित अरुणोदय उच्च मावि परिसरमा उद्घाटन गरिएको शालिक बुधवार राति तोडफोड गरिएको थियो ।

गणेश उज्जन स्मृति प्रतिष्ठानले अरुणोदय माविको भवन निर्माण गरेको थियो । सोही भवन छेउमा गणेश र उज्जनको शालिक निर्माण गरिएको छ । युद्धकालमा माओवादीबाट मारिएका दाजुभाइ गणेश र उज्जनको शालिक त्यहाँ राख्न नपाउने भन्दै माओवादीले यसअघि विरोध गरेको थियो ।

माओवादीले कार्यक्रममा अवरोध गर्ने भनेपछि उद्घाटन गर्न जान लागेका रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलले अन्तिम घडीमा कार्यक्रम रद्द गरेका थिए । पोखरेल नगएपछि साबित्री श्रेष्ठबाटै शालिक अनावरण गरिएको थियो ।

उज्जन हत्या अभियोगमा माओवादी नेता बालकृष्ण ढुंगेल जेलमा छन् । विप्लवको नाममा सत्तारुढ माओवादीका केही कार्यकर्ताले मध्यरातमा शालिक तोडफोड गरेको आरोप स्थानीयले लगाएका छन् ।

प्रतिष्ठानकी अध्यक्ष श्रेष्ठले निजी लगानी र निजी जग्गामा सरकारी निकाय, माओवादी लगायत स्थानीय राजनीतिक दल र विद्यालय व्यवस्थापन समितिको अनुमतिमा शालिक निर्माण गरी अनावरण भएको बताएकी छन् ।

विज्ञप्तिमा भनिएको छ ‘राज्यबाट घोषित शहीदहरुको स्मारकको संरक्षण गर्नुपर्ने दायित्व राज्यको भएकाले तोडफोडमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्न तथा कारवाही गरी आगामी दिनमा यस्ता घटना हुन नदिने व्यवस्था मिलाउन सबैमा आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?