+
+

फुच्चे निर्देशकले ‘कट्’ भन्दा ट्वाँ परे बले

'हैरानमा मलाई हेरेर दर्शक हैरान हुनेछन्'

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ९ गते १०:२९

 

सागर लम्साल (बले) लाई हैरान फिल्मको अफर आउँदा निर्देशकको नाम सुनेर उनले नाक खुम्च्याएका थिए । चलचित्रका दिर्नेशक थिए १० वषिर्य बालक सौगात विष्ट ।

सौगातले यसअघि फिल्म ‘लभ यू बाबा’ निर्देशन गरेर संसारकै सबैभन्दा कान्छो फिल्म निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाएका छन् । यो कुरा सागरलाई पनि थाहा थियो । तर, त्यतिबेला ८ वर्षको बालकले फिल्म निर्देशन गरेको कुरा उनले पत्याएका थिएनन् ।

‘उनको नाममा अरुले नै काम गर्‍यो होला भन्ने लागेको थियो,’ उनी भन्छन् ।

निर्देशक चित्त नबुझे पनि उनले हैरानको स्क्रिप्ट सुने ।

‘स्क्रिप्ट सुनेर म बेचैन भएँ,’ सागरले भने, ‘स्क्रिप्ट यस्तो माइन्ड ब्लोइङ थियो, तर बच्चालाई निर्देशक बनाएर किन खेलाँची गरेको होला भन्ने लाग्यो ।’ स्त्रिmप्ट पढेपछि दिमाग घुमेर दुई रातसम्म निदाउन नसकेको उनले बताए ।

भद्रगोलमा बलेको क्यारेक्टरमा लोकपि्रय भएका सागरले यसअघि दुई फिल्म खेलेका छन् । पहिलो लोफर र दोस्रो लज्जा । दुवै फिल्ममा उनी ‘बले’ सँग मिल्दोजुल्दो क्यारेक्टरमा छन् ।

तर, हैरानका लागि उनलाई आएको अफर विल्कुलै नौलो थियो । अर्कोतर्फ गम्भिर विष्टको बुलन्द कथा । त्यसैले निर्देशक चित्त नबुझ्दा नबुझ्दै पनि फिल्म खेल्न लोभिए ।

तर, पहिलो दिनको सुटिङअघि उनलाई निकै झ्याउ लागिरहेको थियो । बच्चाको डाइरेक्सनमा कसरी अभिनय गर्ने होला भन्ने नै दिमागमा खेलिरहेको थियो ।

पहिलो सटमा बाल निर्देशकले कट् भने । आफ्नो अभिनयमा सानो बच्चाले कट् भन्दा उनी ट्वाँ परे । तर, केही बोलेनन् । तीन टेकसम्म लगातार कट भन्दा उनलाई झोक पनि चल्यो । तैपनि सम्हालिए र भने बमोजिम गरे ।

दोस्रो दिनदेखि चाहिँ उनी सौगातको बारेमा गम्भीर बन्न थाले ।

‘निर्देशन गरिरहँदा उनी यति कन्फिडेन्समा हुन्थे कि बच्चा भन्ने फिलै आउन छोडयो,’ सागरले भने, ‘उनी शब्द शब्दमा एक्सप्रेसन निचोर्न खोज्थे । मैले यति ट्यालेन्टेड बच्चा अहिलेसम्म देखेको थिइनँ ।’

उनी दिनदिनै सौगातबाट प्रभावित हुँदै गए । उनको हाउभाउ नियाल्न थाले । पढाई लगायतका कुरा पनि खोतल्न थाले । सौगातले कसरी आफूलाई एउटा निर्देशकका निम्ति योग्य बनाएका रहेछन् भन्ने उनले बुझे । र उनलाई सौगात बच्चा जस्तो लाग्न छोड्यो ।

सौगातले एउटा हेर्नलायक फिल्म तयार पारेको सागर बताउँछन् ।

‘म चार वर्षपछि फिल्ममा फर्किँदैछु,’ उनी भन्छन्, ‘यति दमदार रुपमा फर्किँदैछु कि तपाईंहरुले फिल्म रिलिज भएपछि मात्रै थाहा पाउनुहुनेछ ।’

यो चार वर्षमा आफूले कम्तिमा पनि तीन दर्जन फिल्मको अफर रिजेक्ट गरेको उनले सुनाए । स्क्रिप्ट नै चित्त नबुझेर ती फिल्म छाडेको उनको भनाई छ ।

‘म फरक खालको क्यारेक्टर खोजिरहेको थिएँ, जुन हैरानमा पाएँ,’ सागरले भने ।

हैरानपछि सागर भद्रगोल टिमले निर्माण गर्न लागेको फिल्म ‘फनफनी’ मा व्यस्त हुनेछन् । केही समयअगाडि घोषणा भएको यो फिल्मको निर्माण चाँडै सुरु हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?