+
+

पैसा बाँड्न नपाउँदा सांसदलाई अस्तित्व संकटमा पर्ने डर !

अमृत सुवेदी अमृत सुवेदी
२०७५ वैशाख १३ गते २०:०५

१३ वैशाख, पोखरा । संघीय सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकमबाट आफ्ना मतदानालाई खुसी पारे । आफ्नो निर्वाचन क्षेत्रका आयोजनालाई केन्द्रका सांसदले दामासाही रकम बाँडेका छन् ।

आमा समूह, युवा क्लबदेखि, बाटो, पुलपुलेसो र विभिन्न कार्यक्रमसम्म सांसदले रकम बाँडेर मतदातासम्म पुगे ।  त्यही कार्यक्रममार्फत बाँडेको रकमबाट विकास गरेको भन्दै निर्वाचनताका मतदातासँग भोट मागे ।

यस्तो कोषको रकम बाँडेर सांसदले जनतालाई ‘यो मैले गरेको हुँ’ भन्न पाउँथे ।  तर, अहिले प्रदेश सांसदलाई त्यस्तो व्यवस्था छैन । सांसदले यस्तो रकम दुरुपयोग गरेको गुनासो पनि आइरहेका छन् ।

अहिले त्यस्तै खर्च गर्ने रकम पाउनुपर्ने माग प्रदेशका सांसदले गरेका छन् । प्रदेश ४ का सांसदले व्यक्तिगत रुपमा त्यस्तै आयोजनामा खर्च गर्न पाउने गरी कुनै कोष वा रकमको व्यावस्था गर्न माग गरेका हुन् ।

बिहीबारको प्रदेश सभा बैठकमा केही सांसदले यस्तो आवाज उठाएका छन् भने तीदेखि बाहेक अन्य सांसदको यस्तै खर्च गर्न पाउने गरी कोष र रकमको चाहना राखेका छन् ।

माओवादी सांसद आशा कोइराला सांसदको अस्तित्वका लागि पनि त्यस्तो रकमको आवश्यकता रहेको बताउँछिन् । ‘सरकारको ध्यान सबै ठाउँमा पुगेको हुँदैन त्यस्तो ठाउँमा सांसदले खर्च पाउने गरी त्यो रकम चाहिन्छ,’ संसदमा बोल्दै तनहुँकी सांसद कोइरालाले भनिन्, ‘कोषमार्फत सांसदले जनताको समस्यामा खर्च गर्न पाउँदा हाम्रो पनि अस्तित्व देखिन्छ ।’

कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले सांसदले खर्च गर्न पाउने गरी सांसद विकास कोष वा त्यस्तै खाले अरु नै कुनै नाम दिएर भए पनि रकम व्यवस्था गर्न माग गरे । प्रदेश सभाको सांसद भएपछि जनताका धेरै अपेक्षाहरु सांसदप्रति भएकाले त्यसको सम्बोधन गर्न पनि यस्तो रकमको आवश्यकता पर्ने उनीहरुको भनाइ छ ।

सांसद दोबाटे विक पनि सांसदलाई जनताको घरदैलोसम्म पुग्न यस्तो खाले रकमको आवश्यकता पर्ने बताउँछन् । यस्तो रकम दुरुपयोग हुन नदिन विधि वा कुनै संयन्त्र बनाएर भए पनि रकमको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

सांसद मीना गुरुङ र ओमकला गौतमले नाम जे सुकै राख्न सकिने तर बजेटमै सांसदले पारदर्शीं ढंगबाट जनताको मागलाई सम्बोधन गर्ने गरी खर्च गर्न पाउने रकमको व्यवस्था गर्नुपर्ने बताए ।

संसदमा केही सांसदलेमात्र आवाव उठाए पनि अधिकांश सांसदले रकमको चाहाना राखेका छन् । कसरी पारदर्शी बनाउन सकिन्छ भन्ने कुरालाई जोड दिएर भए पनि रकमको व्यवस्था गर्नुपर्ने मुस्ताङका एमाले सांसद सांसद ईन्द्रधार बिष्ट बताउँछन् । ‘चुनावमा यो गर्छु, त्यो गर्छु भनिएको छ । अहिले नै पैसा माग्नेको निवेदनको चाङ लागिसकेको छ,’ बिष्टले भने, ‘यस्तो रकम पहिले धेरै दुरुपयोग भएको सुनिन्थ्यो । अब दुरुपयोग हुन नदिने गरी नाम जेसुकै राखेर भए पनि केही रकमको व्यवस्था हुनुपर्छ ।’

जनमोर्चाकी सांसद पियारी थापाले पारदर्शी ढंगले जनताको आवश्यकता र माग पूरा गर्ने गरी खर्च गर्न पाउने व्यवस्था हुनुपर्ने बताउँछिन् । ‘आवश्यकता र प्राथमिकता हेरेर दुरुपयोग नहुने गरी त्यस्तो एउटा कुनै कोष बनाएर खर्च गर्न पाउने व्यवस्था गर्ने हो भने सहज हुन्थ्यो,’ प्रदेश सभाकै कान्छी सांसद थापाले भनिन्, ‘नत्र सांसद भन्ने मख्ख पर्ने, बस्नेमात्रै हुन्छ ।’

विगतदेखि नै जनताले कुनै न कुनै विकास निर्माणको अपेक्षा गर्ने सांसहरु बताउँछन् । जनताको सामान्य अपेक्षा पनि पूरा गर्न सक्ने गरी कुनै कोष वा रकमको व्यवस्था नहुने हो भने सांसदको अस्तित्व नै संकटमा पर्ने उनीहरुको चिन्ता छ ।

‘जनताले स्वभाविक रुपमा सांसदसँग एक खालको अपेक्षा गरेको हुन्छ । जनताको त्यस्तो आवश्यकता र विकासका लागि सांसदको खोजी गर्छ त्यो अपेक्षा र आवश्यकता कसरी पूरा गर्ने ? नयाँ शक्तिका सांसद हरिशरण आचार्यले भने, ‘सत्ता पक्षका सांसदले पनि यो कुरा बुझ्नुपर्छ । कुनै यस्तो कोष भयो भने जनतासँग जोडिने र उनीहरुका दुख र आवश्यकता साथ दिने बाटो बन्छ ।’

त्यस्तो खालको कोष वा रकम नहुने हो भने सांसदप्रति जनताको अपेक्षा नै नरहने र सांसदको हैसियत पनि नरहने सांसदहरुको भनाइ छ । यस्तो कोष नहुने हो भने सरकार, संसद र सांसद कुनै बलियो नहुने उनीहरुको गुनासो छ । सांसदका लागि छुट्टै रकमको व्यवस्था नभए एक सांसदलाई एक आयोजना हुनुपर्ने मागसमेत केही सांसदको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?