+
+

मोदी सिंहदरबार नआउने, प्रधानमन्त्री ओली द्वारिकाज होटलमै जाने !

मन्त्री भन्छन्- बाटो खाल्डाखुल्डी छ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २५ गते २१:०५
फाइल फोटो

२५ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिंहदरबार प्रवेश नगर्ने भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच तारे होटलमा भेटवार्ता हुनेछ, जसलाई परराष्ट्र मामिलाका जानकारहरुले ‘लाजमर्दो’ भनेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट जनकपुर अवतरण गर्ने उनी दिउँसो काठमाडौं आउनेछन् ।

मोदी चुच्चेपाटीस्थित हायात होटलमा बस्नेछन् । राजनीतिक भेटवार्ताहरु भने द्वारिकाज होटलमा हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि भारतीय समकक्षीलाई भेट्न द्वारिकाज नै जानेछन् । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सोही होटलमा तय गरिएको छ ।

मोदीलाई सिंहदरबारको साटो होटलमा भेट्नुको कारण के हो ? यो प्रश्नमा सरकारी अधिकारीहरु सिंहदरबारमा ठाउँ अभाव हुने बताउँछन् । एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘भूकम्पले सिंहदरबारको मूल भवन क्षतिग्रस्त छ । मोदी पनि धेरै नै व्यस्त छन् । र, बाटोघाटो पनि खाल्डाखुल्डी छ ।’

काठमाडौंमा ज्ञवालीको स्वागत

भारतीय प्रधानमन्त्री मोदी २८ गते विहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । त्यहाँ उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् ।

मोदी र प्रधानमन्त्री ओलीले जानकी मन्दिरमा छ मिनेट पूजाआजा पूजा गर्नेछन् । लगतै जनकपुरलाई रामायण सर्किट अन्तगर्त जनकपुर अयोध्या बस सेवाको उद्घाटन गर्नेछन् ।

लगतै ओेली काठमाडौं आउनेछन् भने मोदीको झण्डै एक घन्टा नागरिक अभिनन्दन हुनेछ । बाह्रविघामा हुने नागरिक अभिनन्दन समारोहमा उनले सम्बोधन गर्नेछन् ।

भारतीय मोदी दिउँसो काठमाडौं आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्ने कार्यक्रम छ । लगतै सैनिक मञ्चमा गार्ड अफ अनर दिइनेछ ।

मोदीको पहिलो भेट उपराष्ट्रपतिसँग हुनेछ । लगतै राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । लगतै हायात होटल गएर खाना खानेछन् ।

खानापछि मोदी होटल द्वारिकाजमा जानेछन्, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको भेटवार्ता हुनेछ । साँझ मोदीको सम्मानमा प्रधानमन्त्री ओलीले रात्रीभोजको आयोजना गर्नेछन् ।

मोदी २९ गते विहानै मुत्तिनाथ मन्दिरतर्फ प्रस्थान गर्नेछन् । मुक्तिनाथबाट फर्किएपछि राजनीतिक दलका नेताहरुलाई भेट्नेछन् र अपराहृन ४ बजे भारत फर्कनेछन् ।

नारायणकाजीको प्रश्नः बिराटनगरको फिल्ड अफिस हटाउनुपर्दैन ?

प्रधानमन्त्री ओलीले मोदीको भ्रमणबारे सोमबार नै परराष्ट्र मामिलाका जानकारहरुसँग परामर्श गरेका थिए । यो छलफलमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल पनि थिए ।

बैठकमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले बिराटनगरको फिल्ड अफिस हटाउन लगाउन माग गरेका छन् । श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा यो कार्यालय हटाउन पत्र लेखेका थिए । तर, भारतले अहिलेसम्म अटेर गर्दै आएको छ ।

उनले भारतले सीमा क्षेत्रमा सडकका नाममा बाँध बनाएको भन्दै मोदीसँगको भेटमा यो मुद्दा उठाउन पनि आग्रह गरे । उनले सीमा समस्या, नेपालसँग भएको (पावर ट्रेड एग्रि मेन्ट) पीटीए विरित जारी निर्देशिका संशोधनका विषयमा आफ्ना कुरा प्रष्टसँग राख्न आग्रह गरेको एक सहभागीले बताए ।

साना परियोजनामा सोझै लगानी गर्न दिन्नँ

श्रेष्ठका साथै पूर्वमन्त्री भीम रावलले पनि भारतीय दूताबासले साना परियोजनामा सोझै लगानी दिने सम्झौता नवीकरण नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

एक सहभागीका अनुसार प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा मोदीसँग भएको वान टु वान वार्तामा बिराटनगर फिल्ड अफिसको मुद्दा उठाएको बताएका छन् । उनले साना परियोजनामा सोझै लगानी गर्ने सम्झौता कुनै हालतमा नवीकरण नगर्ने प्रष्ट परेका छन् ।

के छ नेपालको एजेण्डा ?

मोदीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच महत्वपूर्ण कुनै सम्झौता नहुने देखिएको छ । स्रोतका अनुसार कृषि अनुसन्धानसम्वन्धी साझेदारी हुनेछ भने अरुण तेस्रो काठमाडौंबाटै स्वीच थिचेर शिलान्यास गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?