+
+

केपी ओली रक्षात्मक, मोदी आक्रामक !

मोदीलाई सुरक्षा दिन नेपालले सक्दैन ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २७ गते १०:४९
फाइल फोटो

२७ वैशाख, काठमाडौं । केही साताअघि बालुवाटारमा वाम नेताहरुको बैठक बसिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको मोबाइलमा घण्टी बज्यो । फोन गरेका थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । फोन रिसिभ गर्दै ओली बैठकस्थलबाट एकान्ततिर गए ।

मोदीलाई नेपालमा मे २५ तारेखमा निम्त्याउने सरकारले गृहकार्य गरिरहेको थियो । तर, मोदीले आफू मे ११ मै नेपाल आउने ओलीलाई बताए । कर्णाटकको चुनाव प्रचार सकेर सीधै पटना आउँछु, अनि त्यहाँबाट जनकपुर हुँदै काठमाडौं आउँछु भन्ने प्रस्ताव मोदीले ओलीसमक्ष राखे । प्रस्ताव भन्दा पनि यो बोधार्थ जस्तो थियो ।

वाम एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीले गरेको ब्रिफिङ अनुसार जनकपुर हुँदै नेपाल भ्रमणमा आउँदा नेपालको सुरक्षा संवेदनशीलतामा अप्ठ्यारो पो पर्छ कि भनेर उनले प्रतिक्रिया दिएका थिए ।

तर मोदीले केही पनि हुँदैन, मैले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई दिल्लीमा नभई गुजरातमा स्वागत गरेकै हुँ भन्ने जवाफ दिएर फोनबाटै कन्भिन्स गरे ।

सहभागी एक नेताका अनुसार, वाम बैठकमा ओलीले भनेका थिए, ‘मोदीले त्यसो भनेपछि मैले पनि ठीकै छ नि भनिदिएँ, उनी जनकपुर हुँदै आउने भए ।’

ओली प्रतिरक्षात्मक

मोदीको नेपाल भ्रमणबारे प्रधानमन्त्री ओली दुईवटा प्रेसरमा परेका छन्ः एउटा त नेपालले तय गरेको मितिभन्दा अघि नै मोदी आफैंले तोकेको मितिमा भ्रमण तय गरियो, यसले गर्दा तयारीको काम हुन सकेन । रातारात बाटो पिच गर्नुपर्‍याे भने भ्रमणका एजेण्डाहरु पनि केही तयार भएनन्, अरुण तेस्रो र कृषि अनुसन्धान साझेदारी बाहेक ।

केपी ओलीमाथि परेको अर्को दबाव हो–सीधै जनकपुर आगमन र नागरिक अभिनन्दन । मोदी भ्रमणको यो कार्यतालिका स्वयं प्रधानमन्त्री ओलीलाई पनि त्यति रुचिकर लागेको थिएन तर उनले बाध्य भएर ‘हुन्छ’ भनिदिए ।

केपी ओली भारत भ्रमणमा जाँदा पनि नेपाल सरकारले कुनै तयारी गरेको थिएन । मोदीले छिटो आउनुपर्‍याे भनेर फोन गरेको गर्‍यै गरेपछि ओली दिल्ली हानिएका थिए । परिघटनाहरुलाई हेर्दाखेरि मोदीको भ्रमणमा केपी ओली रक्षात्मक र मोदी आक्रामक देखिएका छन् 

मोदीले चिनियाँ राष्ट्रपतिलाई गुजरातमा स्वागत गर्नु र मोदीले जनपुरमा नागरिक अभिनन्दन ग्रहण गर्नु एउटै प्रकृतिका विषय होइनन् । मधेसमा नेपालको सुरक्षा सम्वेदनशीलता र भारतीय हस्तक्षेपको विगत सौहाद्रपूर्ण छैन । र, यसमा मोदीले नेपालको संवेदनशीलतालाई गम्भीर रुपमा लिएको भन्दा पनि खेल्न खोजेको प्रष्टै देखिन्छ ।

तर प्रधानमन्त्री केपी ओली र उनको सरकार यस विषयमा चुक्यो ।

के नेपालले सुरक्षा दिन सक्दैन ?

मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा जसरी भारतीय सुरक्षा कमाण्डोहरु काठमाडौं र मधेसमा प्रवेश गरेका छन् । यसले नेपालको सुरक्षा व्यवस्था निरीह र कमजोर छ भन्ने सन्देश गएको छ ।

एउटा विदेशी पाहुनालाई सुरक्षा दिनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी आफैं सक्षम हुँदाहुँदै पनि भारतबाट सुरक्षा टोलीहरु तडक–भडकपूर्ण ढंगले काठमाडौं र मधेसमा उत्रिनु सार्वभौम देशका लागि गौरवको विषय होइन । जबकि नेपालका प्रधानमन्त्री दिल्ली जाँदा सरक्षा गार्डबाहेक कोही लगिएको हुँदैन ।

कुनै विदेशी पाहुना नेपाल आउँदा उनको सुरक्षा गर्नु हाम्रो देशको दायित्व हो । नेपालका सुरक्षाकर्मीहरु विश्वको शान्ति सेनामा खटिएका छन् । स्वयं भारतमा गोर्खा सैनिकले सुरक्षा दिएका छन् । यो अवस्थामा ओली सरकारले नेपालका सुरक्षा अंगको मोराल बढाउने काम गर्न सकेन, यो अर्को रक्षात्मक स्थिति हो ।

परिघटनाहरुलाई हेर्दाखेरि मोदीको भ्रमणमा केपी ओली रक्षात्मक र मोदी आक्रामक देखिएका छन् ।

विनातयारीका भ्रमणहरु

केपी ओली भारत भ्रमणमा जाँदा पनि नेपाल सरकारले कुनै तयारी गरेको थिएन । मोदीले छिटो आउनुपर्‍याे भनेर फोन गरेको गर्‍यै गरेपछि ओली दिल्ली हानिएका थिए ।

दिल्ली जानुपूर्व के–के सहमति गर्ने भन्ने कुनै तयारी थिएन, उहीँ गएपछि पानीजहाज र रेलसम्बन्धी सम्झौता गर्ने निधो भएको थियो ।

राष्ट्रवादी अडानका साथ सरकारमा पुगेका ओली पहिले चीन भ्रमणमा जाने धेरैको अनुमान थियो, तर उनी पुरानै परम्परालाई निरन्तरता दिँदै दिल्ली गएका थिए ।

अहिले भारतीय प्रधानमन्त्री नेपाल आउँदा पनि कुनै गृहकार्य भएको छैन । मोदीले तीर्थाटन गर्नेछन् र अरुण तेस्रोको शिलान्यास गर्नेछन्, बस् यतिमात्रै कार्यक्रम तय गरिएको छ ।

तर भ्रमणका बेला मोदीले कुनै ठूलो आर्थिक सहायता घोषणा गरिदिए हुन्थ्यो भन्ने ओली सरकारको चाहना रहेको सूत्रहरु बताउँछन् ।

मोदी यस्तो हतारोमा आउँदैछन् कि नेपाल सरकारले जनकपुर र काठमाडौंमा रातारात सडक मर्मत गर्नुपर्ने अवस्था बनेको छ । बाटो खाल्डाखुल्डी भएको र सिंहदरबारमा ठाउँ नभएको भन्दै प्रधानमन्त्री ओली र मोदीको भेट पशुपति छेउछाउको तारे होटलमा मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?