+
+

माइक्रोबस रुट खारेजी प्रकरणः गल्ती गर्ने व्यवसायी, दुःख पाउने यात्रु !

रासस रासस
२०७५ वैशाख २९ गते ११:१४
प्रतीकात्मक तस्वीर

२९ वैशाख, काठमाडौं । गोंगबु–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यही वैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गोंगबु भएर रत्नपार्क चल्ने माइक्रोबसको रुट खारेज गरिदिएको थियो ।

बानियाँटारबाट सामाखुशी जान लागेकी सत्यकला दवाडी सवारी नपाउँदा हिँडेर यात्रा गर्नुपरेको बताउँछिन् ।

सामाखुशीबाट रत्नपार्क जान लागेका रोहित ढकालको पीडा पनि उस्तै छ । उनले रूट खारेजीले धान काट्ने मुसा, चोट पाउने भ्यागुतो भनेजस्ताे भएकाे गुनासाे गरे।

यी केवल प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता हजारौँ नागरिक बस नपाएर बिचल्लीमा पर्ने गरेका छन् । गोंगबु, गल्कोपाखा, लैनचौर भएर रत्नपार्क चल्ने १०५ बसमध्ये दुई दर्जनभन्दा बढी बस निलम्बनमा परेका हुन् ।

सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागार्इँ २६ बस निलम्बन गरिएपछि यात्रुलाई समस्या परेको बताउँछन् । ‘नेपालभरीका सवारी नचलेको अवस्थामा सामाखुशीका २६ बसलाई मात्र किन निलम्बन गरियो ?’, उनले प्रश्न गरे ।

निलम्बन गरिएको आधिकारिक पत्र आफूलाई प्राप्त नभएको बताउँदै उनले ती सवारी सञ्चालन गर्दा केही सवारीलाई ट्राफिक प्रहरीले समाएको र केही सवारी आफ्नो ग्यारेजमा थन्काउन परेको गुनासो गरे ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीराम अर्यालले निलम्बन फुकुवाका लागि सामाखुशी यातायातले विभागमा निवेदन दिएको बताउँदै उक्त कारवाहीबारे कुनै निर्णय नभएको जानकारी दिए ।

सामाखुशी यातायातले यात्रुको चाहना र आवश्यकतालाई हेरेर दिगो सार्वजनिक यातायात प्रालिमार्फत जेठ महिनाभित्र थप १७ ठूला बससमेत सञ्चालन गर्न लागेको छ । प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोंगबुँ, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म १७ नयाँ बस सञ्चालन गर्न लागेको छ ।

सामाखुशी यातायात व्यवसायी संघका अध्यक्ष सानुकाजी प्रजापतिले रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागिएको जानकारी दिए ।

‘सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौँ’, उनले भने ।

सोही मार्गमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले रु एक करोड ९० लाख अनुदान दिएको छ । बस जेठभित्र नेपाल आउने र सञ्चालन भइसक्ने उनको भनाइ थियो ।

सोही मार्गमा ठूला बस सञ्चालन भएसँगै गोंगबुँबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय काठमाडौँ उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी मार्ग निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी मार्गमा ठूला तथा टर्सरी मार्गमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?